भित्रिएन मेरो दशैँ

महेश्वर पन्त पर्वत,नेपाल हाल – बस्टन,अमेरिका २०७८ कार्तिक १ गते २२:०८ मा प्रकाशित

देश छाड्नु मात्र हैनरहेछ परदेसिनु भनेको।हवाइजहाज चढेर देशको सिमाना नाघ्नु मात्र पनि हैनरहेछ परदेसिनु भनेको।परदेसिनु भनेको त गाउँ,टोल छरछिमेक र सिङ्गो देश बोकेर जानुरहेछ।आफ्नो कला,संस्कृति,चाडबाडहरू पनि बोकेर जानुरहेछ।आफूसँगै आफ्नो भाषा पनि सँगै जाँदोरहेछ भाइबैनी, नातेदारहरूको माया,अझ आमाबाको माया,यी सबै सँगै जाँदारहेछन्।जिन्दगीभर यिनै यादहरूको जुलुसले लखेट्दो रहेछ मान्छेलाई।मुटुमा देशको माटो बोकेर बाँच्दोरहेछ मान्छे।

आमाको याद मात्र हुँदोरहेछ।आमाको काख जीवनभरि छुट्दोरहेछ।बाले डोर्याउने बाको त्यो हात नहुँदो रहेछ।जन्मभूमिबाट छुट्टिँदा जीवन अपूर्ण हुँदोरहेछ। फेर्ने सासमा देश फेरिँदो रहेछ।रगतमा देश बग्दोरहे ।गीतमा देश गजलमा देश र कविताहरुमा देश बोल्दोरहेछ।

आज पनि म त्यही झ्यालमा छु।जहाँ मैले र मेरो फुर्सदले बिताउँछौँ।हरेक पल फुर्सदको क्षणमा मैले बिताउने त्यो झ्याल।हो,म त्यहीँ बसेर यस्तै कुराहरूले मुटु बिझाइरहेछु।कल्पना गरिरहेछु ‘कति अभागी रहेछु म !’ प्रायः चाडबाडको बेलामा त झन् घोच्ने गर्दोरहेछ देशले,आमाको मायाले,बाको आडले भाइबैनीको भरोसाले।भनिन्छ नि !, ‘छुटेका चिजहरूको माया बढी हुन्छ।’ हो, त्यस्तै हुँदोरहेछ।

यसपालि त परदेशमा देशको धेरै याद आयो
हिउँचुलीको चिसो हावा तराईले स्वाद ल्यायो
चाड–पर्व देश जाने वाचाको त्यो म्याद आयो
यसपालि त परदेशमा देशको धेरै याद आयो ।
मेरा यिनै गीतका हरफहरू जस्तै !

प्रायः सधैँ सम्झने गर्छु म- मेरो दशैँ,मेरो छिमेक,मेरी आमा, मेरा बा।धेरै मिस गर्छु।फेरि पुरानो यादतर्फ तान्छ मलाई मेरो मनले र त्यतै धेरैबेर खेलाउँछ मलाई“हेर केटाकेटी हो,अब दशैँ आयो।राम्रा नयाँ कपडा ल्याइदिम्ला।मीठो खाने कुरा खाने हो” बाले छाती उच्च पारेर गर्वका साथ भन्थे।हामी आँगनमा दशैँको गीत गाएर उफ्रिन्थेम्।बाको वरिपरि झुम्मिन्थेम्।बाको मुखमा गज्जबको कान्ति छाएको हुन्थ्यो।आमाको मुस्कान बेग्लै मजाको हुन्थ्यो।

जमरा राख्ने दिन बाले बिहानै मलिलो माटो ल्याउँथे।पूजाचौकामा फिँजाएर भिजाएका बीउ–बिजन छर्थे । शङ्खध्वनिका साथ बाले कति धेरै मन्त्र उच्चारण गर्थे।बाको शङ्खको आवाजमा हामी नाच्थेम्।दिनभर त्यही शङ्खध्वनि गुन्जिरहन्थ्यो हाम्रा कानमा।रातो माटो,कमेरे माटो बोक्नेहरुले ओराली–उकाली भरेका हुन्थे। हाम्री आमा पनि त्यही लस्करमा हुन्थिन्।घर पोतिन्थ्यो,सबैका घर दुलहीजस्तै सजिन्थे,सेतो र रातो घुम्टोमा सजिएका दुलहीहरुजस्तै।गाउँभरि रमाइलोले दौडादौड गरिरहेको हुन्थ्यो हामीसँगै।दशैँले गाउँबस्तीलाई छपक्क छोपेको हुन्थ्यो।डाँडा–पाखा वन–जङ्गलका हरियालीले पोतिएका हुन्थे।फूलहरू कोपिला हुँदै वयस्कमा पुगेर मगमगाइरहेका हुन्थे।लहरे पिङ र चर्खे पिङको चचहुई….ले लाग्थ्यो— पुरै गाउँ रमझममा लडीबुडी खेल्दैछ।

हजार प्रश्नहरू थिए हाम्रा बालाई सोध्ने।बाले हरेक प्रश्नको उत्तर गर्वका साथ दिनुहुन्थ्यो,विनाहिचकिचाहट।हरेक बिहान दुर्गादेवीहरूको आराधना गर्नुहुन्थ्यो। “नवदुर्गाहरू प्रसन्न भए बुद्धि,धन, शान्ति,समृद्धि मिल्छ,घरमा कुनै प्रकारको सङ्कट आउँदैन वर्षदिनभरि।” बाका कुरा हामी बुझेझैँ गरेर सुनिरहन्थेम् । कति बुझ्थेम्, कति त्यसै ‘हजुर’ भन्थेम् । तर जति सुने पनि बाका कुरा सुनिरहुँजस्ता लाग्थे।

टीकाको दिन त कुरै नगरम् ! कति धेरै घर घुमेर टीका थाप्नुपर्ने ! वाऽ ! कति धेरै मीठा खाने कुरा ! पेट अघाउने तर मन नअघाउने । फेरि मामाघरमा पुगेपछि मामा–माइजूको माया ! आहा ! मैले पनि कति धेरै पैसा जम्मा गर्थेँ, मामा-माइजूले दिएको । त्यो जुनेली रात, त्यो साथीहरूको साथ, लाठे पिङ, अनि त्यो माटोसँग लटपटिएको सुगन्धित हावा ! परदेशमा कहाँ पाइन्छ र !

मेरो छोरीको आवाजले म झस्केँ । “बाबा ! हजुरको देशमा दशैँ छरे नि ! दशैँ कस्तो हुन्छ ? हामीले यहाँ किन नमान्ने ? नेपालमा अरू केके फेस्टिबल हुन्छ बाबा ? हाम्रो कृस्मस पनि हुन्छ ? हलोईन थ्याङ्क्स गिभिङ् हुँदैन ?”

मैले मेरा बालेझैँ जवाफ दिन सक्दिनँ । म लाचार छु । फगत् एउटा लाचार परदेशी ! छोरीलाई हेरिरहन्छु । ऊ केहीबेर उत्तरको प्रतीक्षामा मलाई हेरिरहन्छे । म केवल मुसुक्क मुस्काएर उसलाई टारिदिन्छु । ऊ आफ्नो होमवर्क टेबलमाथि फिँजारेर बस्छे । उसको बाहिर जाने ठाउँ छैन । खेत, फाँट, गाउँ, छरछिमेक केही छैनन् । मेरो बाल्यकालजस्तो छैन उसको बाल्यकाल । दशैँ छैन, पिङ छैन, मामाघर छैन ।

म छोरीलाई केहीबेर नियालेर हेर्छु र बाहिर हेर्छु । दशैँको मौसम आएको छ । मलाई मेरो दशैँले बाहिरबाट नियालिरहेको छ । भित्र ल्याउन मैले सकेको छैन मेरो दशैँ । बालेजस्तो मैले जमरा भित्र्याउन सकेको छैन । त्यो पवित्र मन्त्रोच्चारण छैन मेरो घरमा । आमाको छनकफनक छैन । मेरो पूजाको चौका छैन, जमरा छैनन् । बालेझैँ नौ दिनसम्म नवदुर्गाहरुको पूजा गर्ने मलाई फुर्सद छैन । मेरो कामले मलाई अनुमति दिँदैन । समाज छैन, मेरा भाइबैनी छैनन्, मेरा बाआमा छैनन् ।

मेरो दशैँ हरेक वर्षझैँ मलाई बाहिर कुरिरहेको छ । पर क्षितिजबाट हेरिरहेको छ । मेरो ढोकाबाट चिहाइरहेको छ । अफसोच ! यस वर्ष पनि मैले मेरो दशैँ भित्र्याउन सकिनँ ।

महेश्वर पन्त पर्वत,नेपाल हाल – बस्टन,अमेरिका

।। समाप्त ।।

 

प्रतिक्रिया