लघुकथा नयाँ ग्राहक

अरुणबहादुर नदी खत्री २०७८ असोज २० गते ११:३१ मा प्रकाशित

सधैँ आफूले खाद्यान्न सामाग्री किनिरहने पसलमा मैदाको पिठो र चिनी किन्न पुग्दा त्यो पसलमा ग्राहकहरुको भिड देखेर अर्को पसलमा पुगेर मैदाको पिठो प्रति के.जी. पचास रुपैँयामा र चिनी प्रति के.जी. पचहत्तर रुपैँयामा किन्न पाएँ ।

आफूले पहिलादेखि किनिरहने पसलमा भन्दा मैदाको पिठो र चिनी दुबै दश रुपैँया र पाँच रुपैँया कम मूल्य तिरेर किन्न पाउदा पहिला सामान किनिरहने पसलमा भन्दा सस्तोमा किन्न पाउने भएकोले अर्को पटकदेखि जुनसुकै सामान किन्नु पर्दा पनि नयाँ पसलमा किन्न जान थाले । पहिला किन्न जाने पसलमा सामान महंगो भएकोेले किन्न जान छाडे । एकदिन आफूले पहिला सामान किन्न जाने पसलको साहुनीले मलाई देखेर ‘दाजु हिजोआज हामीकहाँ किन्न आउन किन छाड्नु भयो नि’ भनिन्।

साहुनीलाई ‘तपाईकहाँभन्दा अर्को पसलमा मैले सामानहरु सस्तोमा पाएकोले तपाईकहाँ किन्न आउनै मन लागेन’ भने । ‘दाजुलाई सुरुमा किन्न जाँदा अर्को पसलको साहुले त्यो पसलमा सधैँ सामान किन्न आउनु हुन्छ भनेर पल्काएको हुन सक्छ नि’ साहुनीले भनिन् । हामी पनि नयाँ ग्राहकहरुले कुनै सामान हाम्रो पसलमा किन्न आए भने सुरुमा जुन सामान किने पनि मूूल्य घटाएर सस्तोमा बेच्छौ नि’ साहुनीले भनिन् ।

इमेलः  [email protected]
मोबाइलः ९८४१७९७६६४

प्रतिक्रिया