कुरो वुझ्यो कुलेलेः लघुकथा

मित्र उराठी गौतम, अमरपुर गुल्मी हालः बुटवल २०७८ असोज १२ गते १०:२७ मा प्रकाशित

सानैमा मातृ वियोग सहनु पर्यो कुलानन्दले।बावुले अर्कि आमा ल्याए पछि सौते आमाको टोकसो सँगै हुर्कियो।
ऊ बल्ल सात वर्षको पुग्यो भने अर्कि आमाको छोरो डेढ वर्षको।
विद्यालय बन्द हुनाले भाइ हेर्ने जिम्मेवारी पनि थपिएको थियो कुलानन्दलाई।
राम्ररी भाइ हेर्न नसकेको भन्दै आमाको गालि खानु नियमित भएको थियो।कहिले त लछार पछार पनि।
भाइलाई चम्चाले दुध खुवाउँथिन् आमाले ।दुध खुवाउँदा कचौरामा बचेको दुध आमाले पिउँथिन्। भाइलाई दुध खुवाउँदा उसले घुटुक्क थुक निल्थ्यो।
आज पनि आमाले भाइलाई दुध खुवाउँदै थिइन्।चम्चाले खुवाउँदा भाइको मुखबाट बाहिर बग्ने दुध चम्चाले कोर्दै पुनः कचौरामा राख्थिन्।
यही क्रम चल्दै थियो।छिमेकी मङ्गले काका पनि टुप्लुक्क आइपुगे।कुलानन्द आँगनमा आफ्नै तालमा खेल्न मस्त थियो।काका सँग गफ गर्दागर्दै कचौरामा ध्यान पुगेन।भुनभुनाइरहेको माखो झ्याप्प दुधमा पर्यो।उनले दुधबाट ट्याप्प टिपेर माखो बाहिर फ्याँकिन् र छोरालाई दुध खुवाउन छोडिन् ।
“ए ! कुले यता आ त ।तँलाई पनि त दुध खान मन लाग्दो हो, यो बचेको दुध आज तैंले खा।” -चेपारो घस्दै आमाले भनिन्।
कुलानन्दले कचौराको दुध हेर्यो ।र्याल मिसिएको थोरै दुध देख्दा उसलाई दिगमिग लाग्यो।
“अरु दिन त आफै पिउँथिन् आज किन मलाई खा भन्छिन् ? पक्कै केहि गडबड छ।” – कुलानन्दले मनमनै विचार गर्यो ।
“खा न खा के ट्वाल्ल परेको ?” – आमाले आदेश गरिन् ।
“मैले दुध खान्न ” – कुलानन्दको जवाफ
यो सबै गतिविधि नियालिरहेका मङ्गले काकाले प्वाक्क बोले –
“कुरो वुझ्यो कुलेले दुध खाएन।”

-मित्र उराठी गौतम, अमरपुर गुल्मी हालः बुटवल

प्रतिक्रिया