विराटनगर,९ असोज ।सामुदायिक विद्यालयबाट एसइइ उत्तीर्ण जेहन्दार एवं विपन्न एघार जना छात्रछात्रालाई आज यहाँ छात्रवृत्ति सहित सम्मान गरिएको छ।
स्टार बहुउद्देश्य सहकारी संस्थाले २४ औं बार्षिकोत्सव एवं साधारण सभाको अवसरमा सदस्य सहित बाहिरका छात्रछात्रालाई उच्च शिक्षा अध्ययनका लागि स्व.ओमप्रकाश गोयल छात्रवृत्ति मार्फत प्रत्येकलाई नगद रु सात हजार सम्मान गरेको छ।
विराटनगर निवासी स्व गोयलको नाममा उहाँका दाजु दिनवन्धु गोयलले गरीव छात्रछात्राहरुलाई अध्ययनका लागि रु पाँच लाख अक्षय कोष स्थापना गर्नु भएको छ भने आगामी रकम थप गरिने भएको छ।
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले विद्यार्थीहरुलाई नगद प्रदान गर्दै शिक्षाबाट बन्चित नागरिकको छोराछारोलाई खोजीखोजीे अध्ययनको व्यवस्था गर्न सकेमा नै मुलुकले आर्थिक समृद्धि कायम गर्न सहज हुने बताउनु भयो।
उहाँले हाम्रा छोरी वुहारी प्रत्येक क्षेत्रमा अगाडि वढ्न सक्नुको मुख्य कारण शिक्षा नै भएको चर्चा गर्दै महिलाले गरेका प्रत्येक विकास निर्माण कार्य अत्यन्त प्रभावकारी रहेको धारणा व्यक्त गर्नु भयो।
प्रमुख अधिकारीले सहकारीले गरीव नागरिकवाट सानो रकम संकलन गरी उनीहरुलाई स्वरोजगार बनाउनमा सफलका भएकोमा खुशी व्यक्त्त गर्दै कृषिलाई व्यवसायिकरणमा सहकारीले ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनु भयो।
प्रदेश सदस्य बसन्दीदेवी यादव,प्रदेश सहकारी सङ्घका अध्यक्ष डिल्ली पोखरेल, विराटनगर –११ का वडा अध्यक्ष हिरालाल कामत, सहकारी संघका मोरङ सचिव वीरेन्द्र यादव र सूर्यनारायण यादवले रोजगारी सिर्जनामा सहकारीको भूमिका सरहानीय रहेको धारणा राख्नु भयो।
संस्थाका अध्यक्ष रमेशप्रसाद पोखरेलले आर्थिक वर्ष २०७७ः७८ मा कूल निक्षेप संकलन ३४ करोड ८१ लाख ५६ हजार ३०३ भएको थियो भने कूल कर्जा लगानी १५ करोड ६१ लाख ३१ हजार ६९० गरेको आयव्यय प्रस्तुत गर्नु भयो।
सो अवसरमा सहकारीमा नियमित बचतकर्ता,उत्कृष्ट कर्जा भक्तान गर्ने र संस्थापक सदस्यहरु हेमचन्द्र वस्ती, पर्शुराम प्रसाईलाई सम्मान गरिएको थियो।
सहकारीले कोरोना महामारीको समय जिल्लामा स्वास्थ्य शिविर,विभिन्न स्थानमा हातधुने व्यवस्था, स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै स्वआर्जनका लागि आफ्ना सदस्यहरुलाई शीप मुलक तालीमको आयोजना गरेको छ।
प्रतिक्रिया