बजेट रोकिएको छैन– मन्त्री कार्की

इनेप्लिज २०७८ असोज १ गते २१:३६ मा प्रकाशित


विराटनगर,१ असोज।कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेट रोकिएको छैन बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले संसदमा देखिएको गतिरोध राजनीतिक सहमतीको आधारमा समाधान भै बजेट कार्यान्वयन हुने विश्वास व्यक्त्त गर्नु भयो।

उहाँले यही असोज ४ गते बस्ने संसदलाई सुचारु गर्न प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग विहीबार छलफल गरेको र अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न आग्रह गरेको जानकारी दिनु भयो ।

मन्त्री कार्कीले मुलुकलाई दिगो शान्ति र समृद्धिका निम्ति सहमती र सहकार्य आवश्यक भन्नु भयो।

एक प्रश्नको जवाफमा मन्त्री कार्कीले एमसिसि विकास परियोजना हो,यसमा राजनीतिकरण गर्नुहुदैन भन्नु हुदै नेपालको इतिहासमा आएको ठूलो अनुदान फर्केर जानसक्ने भएकोले त्यसको गम्भिरतालाई वुझ्नु पर्ने बताउनु भयो।

उहाँले सभामुखले १४ जना सांसदका सम्वन्धमा नेपालको संविधान र संसद नियमावलीले जे अधिकार दिएको त्यो प्रयोग गर्नु भएको हो प्रष्ट पार्नु हुदै सभामुखप्रति लगाइएको आरोप निराधार हो भन्नु भयो।

मन्त्री कार्की सुनसरी जिल्लामा हुने कार्यकममा सहभागी हुन आउनु भएको हो।

प्रतिक्रिया