जनता समाजवादी आगामी एक हप्ताभित्र सरकारमा जाने–अध्यक्ष यादव

इनेप्लिज २०७८ भदौ १० गते २२:०७ मा प्रकाशित

विराटनगर,१० भदौ।जनता समाजवादी पार्टी,नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्र सरकारका सहभागी हुने बताउनु भएको छ।

अध्यक्ष यादव विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयको आज उद्घाटन पश्चात पत्रकार सम्मेलनमा गठवन्धन दलहरुवीच आपसी सहमतीका आधारमा मन्त्रालयहरु वाँडफाँड गरिने जानकारी दिनु भयो।

उहाँले सार्वभौम संसद अन्त्य गरी अध्यादेश ल्याउने कार्य गलत एवं घातक भएको चर्चा यसबाट मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने उल्लेख गर्नु भयो ।

उहाँले वर्तमान संविधानमा रहेका त्रुटिहरुलाई सच्याउन जनमत तयार रहेको बताउँदै राजनीतिक दलहरुवीच आपसी सहमतीमा संविधान संशोधन गरिने धारणा राख्नु भयो।

एक प्रश्नको जवाफमा अध्यक्ष यादवले महन्थ ठाकुर वर्तमान गठबन्धनमा नरहेकाले सरकारमा सहभागी हुन नसक्ने दावी गर्नु भयो।

उहाँले प्रतिगमनको खतरा रहुन्जेलसम्म वर्तमान लोकतान्त्रिक गठवन्धन रहने छ भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत एवं बलियो बनाउने कार्यमा दल सक्रिय रुपमा कार्य गर्ने विचार व्यक्त्त गर्नु भयो।

अध्यक्ष यादवले संसद जोगाउन पार्टी गठवन्धनमा सहभागी भएको स्पष्ट पार्दै यही गठवन्धनले आगामी निर्वाचन गराउने बताउनु भयो।

उहाँले बहुदलीय व्यवस्थामा दलहरु फुटने र जुटेन कार्य भइरहने चर्चा गर्दै सम्पूर्ण समाजवादीहरुको केन्द्रको रुपमा जनता समाजवादी पार्टी रहेको विचार व्यक्त्त गर्नु भयो।

प्रतिक्रिया