गाउँमा जब कोदो काटेर सकिन्थ्यो बारीहरु खाली हुन्थे।गाईवस्तु चराउन सबैका बारीहरु खुल्ला हुने।गाईवस्तु खुला छाडेर गोठालाहरु मग्न रमाउन पाउँथे।गाउँको बिचैमा पर्थ्यो लामीछाने काकाको सम्म परेको बारी।त्यही बारीको ठूलो पाटोको छेउँमा हाँगाहरु पर पर फैलिएको विशाल खन्यूको रुख थियो।खाली बारीमा गाईवस्तुले कसैको खेतीबाली खाने डर हुँदैनथ्यो।फुर्सदिला गोठालाहरु त्यही खन्यूको विभिन्न हाँगामा मच्ची मच्ची ‘लपकीडाली’ खेल्थे।
हरेक साल जस्तै यस पटक पनि गोठालाहरु त्यही रुखमा लपकीडाली खेल्दै थिए।सहरबाट बाइकमा आएका ठिटाहरुले त्यो देखेछन्।ती ठिटाहरुले पनि त्यो रुखमा लपकीडाली खेल्दै सेल्फि खिचे,टिकटक बनाए।
टिकटक बनाएर जब अपलोड गरे टिकटक भाइरल भै हाल्यो।अनि त हुलका हुल मान्छे काकाको बारी भरि।कोही टिकटक बनाउने, कोही सेल्फि खिच्ने।लामिछाने काका बारीमा खेती लगाउन नपाएर हैरान।खेती लगायो कि टिकटके टोलिले मिचेर थिलो थिलो।अहिले त सामाजिक सञ्जाल भरि यही रुखको चर्चा छ ।
हुँदा हुँदा खन्यूको रुखको नामै फेरीएर ‘भाइरल ट्रि’ रे !
-मित्र उराठी गौतम
अमरपुर -गुल्मी, हालः बुटवल
प्रतिक्रिया