रासस प्रदेश प्रमुख सदरुलाई पत्रकारिता पुरस्कार

इनेप्लिज २०७८ असार २२ गते २२:०४ मा प्रकाशित

विराटनगर,२२ असार (रासस):सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले राष्ट्रिय समाचार समिति प्रदेश नं १ प्रम्ख मोहम्मद सदरुल सहित छ जना पत्रकारलाई पुरस्कृत एवं सम्मान गर्ने निर्णय आज गरेको छ।

सहकारी संस्थाले राससका प्रदेश प्रमुख सदरुल,अनन्तराज न्यौपाने,मीनकुमार श्रेष्ठ,तारा आचार्य,राजकुमारी तामाङ र एलिना दियालीलाई सहकारी संस्थाको दशौं स्थापना दिवस पारेर सम्मान गर्न लागेको हो।

मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी –२०७७ पुरस्कारबाट प्रम्ख सदरुललाई र २०७८ सालको आचार्यलाई प्रदान गर्ने भएको छ।

नेपाल पत्रकार महासंघ मोरङका पूर्व सभापति दीपक दाहाल सहित दाहाल परिवारद्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मोरङ जिल्लामा कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने एक जनालाई प्रत्येक वर्ष नगदसहित सम्मान गरिने र यस पुरस्कारको राशि रु २१ हजार रहेको छ।

यस्तै ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार न्यौपाने र श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ।समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा रु ५० हजारको पुरस्कार स्थापना गर्नु भएको हो।

यस्तै मीना देवी श्रेष्ठ महिला पत्रकर प्रोत्साहन पुरस्कारबाट २०७७ सालका लागि तामाङ र २०७८ सालका लागि दियालीलाई प्रदान गर्ने निर्णय भएको छ।उक्त पुरस्कारको राशि नगद रु १० हजार रहेको छ।श्रेष्ठले महिला पत्रकारिता पुरस्कार पूर्वाञ्चलमा बसी कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिन्छ ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कारको घोषणा गरेको हो।

उक्त पुरस्कार संस्थाको दशौं स्थापना दिवसको अवसरमा यही असार २७ गते प्रदान गरिने संस्थाका सचिव महाप्रसाद खतिवडाले जानकारी दिनु भयो।

 

प्रतिक्रिया