कोभिड विरुद्ध खोपको न्यायोचित वितरण हुनुपर्छ: महासचिव चापागाईं

इनेप्लिज २०७८ असार २२ गते ०:५१ मा प्रकाशित

लन्डन (जीएनएन) — रेडक्रस तथा रेडक्रिसेन्ट संगठनहरुको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) का महासचिव, जगन चापागाईं, ले कोभिड विरुद्ध खोपको न्यायोचित वितरण हुनुपर्ने जनाएका छन् ।

सन् २०२२ सम्म जी सेभेन मुलुकहरूले कोभिड विरुद्धको लगभग एक अरब डोज खोप प्रदान गर्ने प्रतिबद्धता जनाएको बारे टिप्पणी गर्दै उनले त्यस्तो जनाएका हुन्।

जीएनएनसंगको एक विशेष कुराकानीमा महासचिव चापागाईंले भने, “विश्वका सबैभन्दा गरीब ५० देशले दुई प्रतिशत मात्र खोप पाएका छन्। यी देशमा विश्वका १७ प्रतिशत जनसङ्ख्या बसोबास गर्दछन्। रोग प्रतिरोधात्मक क्षमताका लागि देशभित्र र अन्तर्राष्ट्रियस्तरमा ६० देखि ७० प्रतिशत मानिसलाई खोप लगाइनुपर्छ। ‘कोरोना विरुद्धको खोप समाजका सबै वर्ग र क्षेत्रमा पुग्नुपर्दछ। सुबिधा सम्पन्न वर्ग र क्षेत्रमा मात्र सीमित हुनुहुन्न। सबै जनताले खोप पाएनन् भने महामारी निरन्तर जारी रहन्छ। खोप समानताका साथै यसलाई व्यवस्थित गर्न आवश्यक छ। हामी राष्ट्रहरुका बीचमा र राष्ट्रहरु भित्रै कोभिड–१९ खोपको उत्पादन, वितरण र समतामूलक पहुँच वृद्धि गर्नका लागि सबै सम्भावित उपाय मनन गर्न राष्ट्रहरुलाई प्रेरित गर्दछौँ।’

उनले सबै वर्ग, क्षेत्र र समुदायका मानिसको पाखुरासम्म खोप पुर्‍याउने अभियानमा स्वयंसेवी रेडक्रस तथा रेडक्रिसन्टकर्मी समुदायतहमा अहोरात्र खटिरहेका जानकारी दिए।

विश्वका १९२ देश सदस्य रहेको आइएफआरसीका महासचिव चापागाईं विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील छन्। ५२ वर्षीय तत्कालीन उपमहासचिव चापागाईंले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका हुन्।

आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई महामारीका बीचमा पनि सहयोग निरन्तर जारी राखेको छ।

नेपाल, भारत लगायतका मुलुकहरुलाई सहयोगकोभिडसँग जुधिरहेका नेपाल लगायत अन्य देशमा जीवन बचाउन र जोखिममा रहेकालाई पर्याप्त स्वास्थ्य सेवा र खोपको पहुँच पुर्‍याउन सहयोग जारी रहेको महासचिव चापागाईंले जानकारी दिए । उनले भने, ‘सङ्क्रमणको दर केही क्षेत्रमा स्थिर वा कम हुन सक्छ। यद्यपि अस्पतालमा अझै बिरामी धेरै छन्। यसैले आइएफआरसीले नेपाल र भारतसहित सङ्क्रमण दर उच्च रहेका देशमा रेडक्रस र स्वास्थ्यकर्मीसँग सहकार्य गर्दै जीवन बचाउने अक्सिजन उपकरण र अन्य स्वास्थ्य सामग्री आपूर्ति गर्दै आएको छ।’

महामारी सकिन समय लाग्ने जनाउँदै उनले खोपसहित अन्य स्वास्थ्य सामग्री तथा प्रविधिहरु बाँड्न तथा खोपको समतामूलक पहुँचका लागि विश्वमा सामूहिक प्रयासको आवश्यकता औंल्याए।

‘महामारीको अन्त्य हुनु भनेको केवल द्रुततर ढंगले धेरै खोप प्राप्त हुनु मात्र होइन। खोप प्राप्त गरेदेखि मानिसको पूर्ण स्वीकृतिका साथ उनीहरुको पाखुरासम्म नपुगुञ्जेल आवश्यक पूर्वाधार र मानवीय स्रोतका लागि राष्ट्रहरु ले सुनिश्चित गर्नु पनि हो। हामीले पहिलै धेरै उदाहरण देखेका छौँ। खोप प्राप्तकर्ता देशका तयारीमा लगानीको कमीका कारण र खोपका मात्रामा ढिलाइको प्रावधानका कारणले खोप सङ्कटासन्न समूहमा पुग्नुपूर्व नै म्याद सकिसकेको हुन्छ। समुदाय परिचालनमा धेरै काम गर्नुपर्दछ,’ महासचिव चापागाईंले भने ।

‘कोभिड–१९ को महामारीको शुरुआती चरण अर्थात् १ फेव्रुअरी २०२० मा मैले आइएफआरसीको महासचिवको कार्यभार लिएँ। विगत १८ महिनालाई फर्केर हेर्दा अहोरात्र कोभिडबाट संकटापन्न समुदायलाई कसरी बचाउने भन्नेमा मैले समय लगाए। अहिले पनि यो कार्य जारी छ। मानवीय सेवामा तल्लीन हुन पाउँदा गौरव बोध भएको छ। चुनौतीका पहाडसँग अहोरात्र जुध्न प्रयासरत छु। महामारीमा विदेशी सहयोग विना स्थानीय प्रतिकार्य समूहले कसरी काम गर्न सक्दछन् भन्ने कुरा वास्तवमा नै विश्वव्यापी परीक्षण भएको छ।‘

‘महामारी नियन्त्रण कानून आवश्यक’

आइएफआरसीले महामारी नियन्त्रण कानून बनाउन विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो सभामा पैरवीसमेत गरेको थियो।

महासचिव चापागाईंले भने, ‘महामारीलाई नियन्त्रण गर्न र सामूहिकरुपमा जुध्न महामारी कानूनले सहयोग गर्छ। एउटा सफल सन्धिले विशेष गरी स्वास्थ्य स्वयंसेवक र अन्यलाई महामारी रोकथाम र पूर्वतयारीमा थप सहयोग गर्छ। साथै घरेलु र अन्तरराष्ट्रिय लगानीमा प्रोत्साहन र विश्वव्यापी समानतालाई प्रवर्द्धन समेत गर्छ। परीक्षण, खोप र उपचारको पहुँचसहित महामारीबाट सुरक्षित हुन आप्रवासी र शरणार्थीसहित सबैको अधिकारलाई जोड दिन्छ। ‘

‘स्वास्थ्य सङ्कटकालमा स्वास्थ्य योजनाको तयार गर्ने, जानकारी लिने र प्रतिकार्य गर्ने सबै योजना तर्जुमा र कार्यान्वयन प्रयासमा समुदाय केन्द्रमा हुनुपर्दछ। समुदायले नै अन्ततः रोगको विस्तारलाई अन्त्य गर्नेछन्।

यसको लागि रोगको महामारीले नराम्रोसँग प्रभाव पार्ने स्थानका सहज पहुँच नभएका जनसङ्ख्याको लागि पहुँच पुर्‍याउन तिनीहरूमा अझ बढी लगानी, प्रशिक्षण, सुरक्षा र सहयोग आवश्यकता छ। यो विशेष गरी कमजोर स्वास्थ्य प्रणाली र अपर्याप्त पूर्वाधार भएका देशहरूमा महत्वपूर्ण छ। पूर्वतयारी र रोकथाममा सामान्य लगानीले ठूलो प्रतिफल दिन्छ,’ उनले भने।

प्रतिक्रिया