रौतहट,
प्रदेशसभा सदस्य बाबुलाल साह कानुले रौतहटको शिवनगरस्थित गणिनाथ–गोविन्द मन्दिर परिसरभित्र धर्मशालाको शिलान्यास गरेका छन्।कानु समाज कल्याण समिति रौतहटद्वारा होली मिलन तथा बाबा गणिनाथ गोविन्द महाराज यात्री धर्मशाला शिलान्यास समारोहमा प्रदेश साँसद कानुले धर्मशालाको शिलान्यास गरेका हुन्।
प्रदेश सरकारले तत्काल विनियोजन गरेको बिस लाख रुपैयाको लागतमा निर्माण आरम्भ गरिएको धर्मशालाको शिलान्यास गर्दै प्रदेश साँसद कानुले समितिका पूर्वअध्यक्ष हरि साह कानुको सपना रहेकोले धर्मशाला शिलान्यासले उहाँप्रति सही अर्थमा श्रद्धाञ्जली दिएको बताएका छन्।विभिन्न स्रोतबाट धर्मशालाको निर्माण कार्यलाई पूरा गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रदेश साँसद कानुले सामाजिक कार्यमा अगाडि बढेर हरेकले समाजको सेवा गर्नुपर्ने बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै कटहरिया नगरपालिकाका वडाध्यक्ष सर्फलाल साह कानुले सामुदायिक कार्य गर्न सजिलो नभए पनि सबै मिलेर कार्य गर्दा कठिन काम पनि सजिलै गर्न सकिने बताउँदै धर्मशाला निर्माणमा आफूले पनि सबै किसिमको सहयोग गर्ने बताएका छन्।
समितिका जिल्ला अध्यक्ष जयप्रकाश साहको सभातित्वमा भएको कार्यक्रममा स्वागत गर्दै रामनारायण साहले प्रगतिको लागि सामूहिक एकता आवश्यक भएको बताएका छन्।
कार्यक्रममा उपस्थितहरुले होलीको शुभकामना एकापसमा आदानप्रदान गरेका छन्।हरेक वर्ष होलीको समयमा समितिले स्वाजातीय मिलन समारोहको आयोजन गर्दै आएको छ।जिल्लाको मध्यभागमा साढे तीन कट्ठा जमिनमा निर्माण भएको गणिनाथ–गोविन्द मन्दिर परिसरमा धर्मशाला निर्माणको आरम्भ गरिएको छ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि तथा समाजसेवीहरुको सहभागिता रहेको थियो।कार्यक्रममा उपस्थित सबैलाई साँसद कानुले अबिर लगाई होलीको शुभकामना दिएका छन् भने सबैलाई गमछा ओढाएर सम्मान पनि गरेका छन्।
प्रतिक्रिया