विराटनगर,१ चैत(रासस):खवास समाज परिषद् केन्द्रीय कार्य समिति, विराटनगरले छुट्टै अस्तित्व र पहिचान बोकेको खवास जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेको छ।
परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गर्दै नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान २०५८ को तथ्याङ्कमा आदिवासी जनजातिहरुकै सूचीमा खवास जाति छुट्न गएकोले यसलाई पुनःसुधार गर्नु पर्ने जनाएको छ।
थारु आयोगको हालै भएको एक छलफलमा थारु जातिको थर पहिचान अनुसन्धान समूहका संयोजक डा डम्बर चेम्जोङ टोलीका अनुसन्धान कर्ताहरुले गहिरिएर अनुसन्धान एवं खवास जातिको अगुवाहरुसँग कुनै छलफलै नगरी थारु जातिमै मिसाएर सूचीकरण गर्न सिफारिश गरेको देखिएको यसको परिषदले भत्र्सना गरेको छ।आजको यो २१ औँ शताब्दीमा पनि कसैको पहिचान मेटाएर आफ्नो अधिनमा गर्न अभिष्ट पूरा गर्न खोज्नु न्याय सम्मत नभएको परिषद्का पूर्व अध्यक्ष तिलकचन्द्र चौधरी खवासले बताउनुभयो।
सो अवसरमा परिषद्का अगुवा कुमार विक्रम खवास,सन्तलाल खवास, सुरेशकुमार खवास र प्रभागकुमार खवासले खवास जातिले बेग्लै पहिचान बोकेकोले यसको अलग्गै सूचीकरण हुनु पर्ने माग गर्नुभयो।
परिषद्को अध्ययन अनुसार नेपालमा लगभग दुई लाख खवास जातिको बसोबास सुनसरी,मोरङ,झापा,धनुषा र केही पश्चिमी जिल्लामा बसोबास गरेको पाइन्छ। राष्ट्रिय जनगणना २०६८ का अनुसार देशभरमा १८ हजार मात्र खवास जाति देखाइएकोले यो जातिको सङ्ख्या थारु जातिमा मिसाइएर थारु जातिको सङ्ख्या अधिक देखाएको विषयमा पनि परिषद्ले आपति जनाएको छ।
प्रतिक्रिया