गैरआवासीय नेपाली अभियन्ता हिक्मत थापालाई पितृशोक

इनेप्लिज २०७७ कार्तिक १९ गते २:५८ मा प्रकाशित

१९ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली अभियन्ता तथा एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापालाई पितृशोक परेको छ । उनका पिता आख्यानकार गगनसिंह थापाको ७३ वर्षको उमेरमा निधन भएको छ ।

थापाको काठमाडौंको बालाजुस्थित आफ्नै निवासमा बुधबार बिहान १ः५० मा निधन भएको हो । ७३ वर्षीय थापा दुई वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेका थिए ।

भाद्र ५, २००५ मा दर्ना ९ पाटेखेत अछाममा जन्मिएका आख्यानकार थापा हाल टिकापुरका स्थायी वासिन्दा हुन् । अरुणोदय मा. बि खैरीफाँटा कैलालीका संस्थापक तथा प्रधानाध्यापक, रहिसकेका थापाले २०३६ देखि नेपाली कांग्रेसमा आवद्ध रहँदै राजनीति तथा साहित्यमार्फत् नेपाली समाजलाई ठूलो योगदान दिँदै आएका थिए ।

राजनीति जीवन

स्वर्गीय थापाले बि.स २०४२ को प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील रहँदा ६ महिना जेल जीवन समेत विताएका थिए । साथै २०३७ को जनमत संग्रह, २०४६ र २०६१÷०६२ को लोकतान्त्रिक आन्दोलनमा सक्रिय नेतृत्व समेत गरेका स्वर्गीय थापा २०४९ देखि १० वर्षसम्म (२ कार्यकाल) जिल्ला विकास समिति कैलालीको निर्वाचित सदस्य समेत हुन् ।

सामाजिक कार्य

त्यस्तै छतिवन सामुदायिक बनको अध्यक्ष तथा सामुदायिक वन अभियानको प्रवद्र्धक, कैलाली जिल्ला सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष, कैलाली जिल्ला विकास समिति, वन वातावरण समितिको अध्यक्ष, कटासे बजारको संस्थापक मध्ये एक र कटाक्ष बजार व्यवस्थापन समितिको अध्यक्ष समेत रहेर स्वर्गीय थापाले सामाजिक कार्यमा समेत सक्रिय भूमिका निभाउँदै आएका थिए ।

साहित्यिक क्षेत्रमा योगदान

साहित्य सेवा प्रकाशित कृति सोह्र सौगात, २०३५ (कथा संग्रह र संयुक्त लेखन) कर्णालीको छेउछाउ २०७० (उपन्यास) पुर्खाको चिट्ठी २०७२ (उपन्यास) मेरो मधुशाला २०७४ (उपन्यास) उज्ज्वली २०७६ (लघु उपन्यास) महाप्रलय २०७७ (उपन्यास) अन्य एक दर्जन कृति प्रकाशनको क्रममा रहेका छन् ।

स्वर्गीय थापा सैना साहित्यिक पत्रिका टिकापुरको संस्थापक अध्यक्ष समेत रहेका थिए । उनले २०७३ मा मोबरा साहित्यिक पुरस्कार र २०७६ मा सुदूरपश्चिम साहित्यिक पुरस्कार प्राप्त गरेका थिए ।

स्वर्गीय थापा गैरआवासीय नेपाली अभियन्ता तथा एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापाका बुवा समेत हुन् । उनका हिक्मत थापासहित दिनेश थापा, अरुण थापा र पद्मिनी थापा कुँवरसहित ४ छोराछोरी रहेका छन् ।

यस दुखद घडीमा ईनेप्लिज परिवार आख्यानकार थापा प्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्दछौ

प्रतिक्रिया