“मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” भन्ने मुल नारा लिएर अक्टोबर ३, २०२० देखि गैर आवासिय नेपाली संघको युरोप क्षेत्रीय सम्मेलन आधुनिक प्रविधि जुम मार्फत शुरु भयो ।
जसको उद्धघाटन नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले गर्नु भएको यस सम्मेलनमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सह महामन्त्री डा प्रकाश शरण महत,पूर्व शिक्षा मंत्री तथा नेकपा नेता डा गंगालाल तुलाधर,पूर्व मंत्री तथा नेपाली कांग्रेसका सांसद गगन थापा,बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापा लगायतले सम्बोधन गर्नु भएको थियो।उद्धघाटन सत्रको सहजकर्ताको रुपमा नम्र र मिजासिलो व्यवहारका धनी राजु अर्यालको भुमिका रहेको थियो।
पहिलो दिनको यस कार्यक्रममा उद्धघाटनकै क्रममा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घले, पूर्व अध्यक्ष देवमान हिराचन, पूर्व अध्यक्ष जीवा लामिछाने, संरक्षक रामप्रताप थापा, केन्द्रिय अध्यक्ष कुमार पन्त, सल्लाहकार कुल आचार्य, उपाध्यक्षज्युहरु, महासचिव डा हेमराज शर्मा लगायतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो।
युरोपको गैर आवासीय नेपाली समुदाय र नेपाली नियोगहरु बीचको सम्बन्ध” विषयमा आयोजना गरिएको सत्रमा युरोपमा रहेका आठ ओटा विभिन्न नियोगहरुका नेपाली राजदूत तथा उप नियोग प्रमुखहरु, अध्यागमन विभागका महानिर्देशक रमेश केसी, राहदानी विभागका महानिर्देशक रामकाजी खड्का लगायत सहभागी हुनुभयो।१३औ क्षेत्रीय सम्मेलन, ११ औ महिला सम्मेलन र दोस्रो ज्ञान सम्मेलनको पहिलो दिनमा विभिन्न ८ वटा सेसन भएको थियो।थोरै व्यवस्थापकीय कमी कमजोरी भए पनि कार्यक्रमको शुरुवात सफलतापूर्वक भएको थियो।दुइ दिनको छोटो अवधिमा विभिन्न विषय लाई समेटी कार्यक्रमलाई निश्चित अवधिमा सकाउनु पर्ने बाध्यता आयोजक र सहजकर्ताहरुलाई थियो साथै हरेक वक्ताहरुलाई बोल्ने निश्चित समय तोकिएको थियो तर कतिपय वक्ताहरुले लामो भाषण शैलीमा धारावाहिक बोलिरहदा कार्यक्रम लम्बिएका कारण सहजकर्ताहरुले वक्ताहरुलाई रोक्नु पर्ने स्थिति पनि सिर्जना भएको थियो।
विभिन्न सेसन मध्ये सहजकर्ता रामशरण सिंखडाले संचालन गर्नु भएको अग्रजहरुको संस्मरण र सम्मान कार्यक्रम निकै रोचक र ज्ञानवर्धक थियो।वर्तमान अध्यक्ष कुमार पन्तज्युले व्यंग्यात्मक रुपमा गैर आवासिय नेपाली संघ भित्र मौलाउदै गएको वास्तविक वस्तुस्थिति र शुरुवाती दिनहरुका आफ्नो अभियान प्रतिको धारणा र अनुभव निकै रोचक शैलीमा प्रस्तुत गर्नु भयो।शालीन व्यक्तित्वका धनी उपाध्यक्ष डा.बद्री के सीले उक्त कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएको थियो। यस कार्यक्रमलाई रामशरण सिंखडाको प्रस्तुती शैलीले थप रोचक बनाएको थियो भने अग्रजहरुका अनुभवले अभियान निष्ठावान भएर लाग्न समेत प्रेरणा मिलेको विचार उक्त सत्र फेसबुक मार्फत हेर्ने एकजनाले बताउनु भयो।
त्यसैगरी मुक्त गुरुंगज्युको संयोजनमा रामशरण सिंखडाले सहजकर्ताको भुमिका निर्वाह गर्नु भएको एनसीसी फोरम निकै चाखलाग्दो, सुचनामुलुक र समसामयिक थियो।यस सत्रमा युरोपका एनसीसी अध्यक्ष र केही महासचिवहरुले आईसीसीले उठाएका नयां एजेण्डाहरु जस्तै निःशुल्क सदस्यता, एनसीसीको आम्दानीखर्चको लेखाजोखा, अनलाइन भोटिंग जस्ता विविध विषयमा उठाइएको थियो।आईसीसी अध्यक्ष कुमार पन्त र महासचिव डा. हेमराज शर्माले बहस विषय बनेको निःशुल्क सदस्यता र अनलाइन भोटिंग जस्ता विषयहरु एनसीसी र आईसीसीकै हितमा रहेको र जसले कम खर्चमा प्रविधिको प्रयोग गरी अभियानलाई आधुनिकरणमा रुपान्तर गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।सम्पुर्ण कार्यक्रमको संयोजन युरोप संयोजक नारायण आचार्यले गर्नुभएको थियो।
बाबा राजेश्वरी थापा
इनेप्लिजका लागि अस्ट्रियाबाट
प्रतिक्रिया