नानी बिवुको अनुक्रोश उपन्यास

सुरेश कोइराला,अमेरिका २०७७ साउन २९ गते १:०७ मा प्रकाशित

 

इनेप्लिज सम्बाददाता

लमजुङको दुराडाँडामा जन्मिई हाल नवलपूरको गैँडाकोटमा बसोवास गर्दै आउनुभएकी साहित्यकार नानी बिवु शारीरिक रुपमा केही कमजोर भए पनि सिर्जनसिलतामा अब्बल हुनुहुन्छ ।

औपचारिक शिक्षामा स्नातक पुरा गरी हाल संस्कृततर्फ शाश्त्री अध्ययनरत नानीले साहित्यका मुक्तक, गजल, हाइकु, कथा, लघुकथा, उपन्यास आदि विभिन्न विधामा कलम चलाउँदै आउनुभएको छ ।

उहाँको पहिलो पुस्तकाकार कृति अनुक्रोश उपन्यास २०७६ भाद्रमा प्रकाशित भएको हो । न्युनदृष्टि भएकी नानीले मोवाइलमा नै तयार पारेको यस उपन्यासमा अभिभावकत्व गुमाएर अनाथ बेसाहारा हुन पुगेका बालबालिकाको मनोविज्ञान बुझ्ने प्रयास गरिएको छ ।

बालबालिका अनाथ हुनु, सडकमा आइपुग्नुका बिभिध कारणहरु, त्यहाँ उनिहरुको जीवन, दु:ख संघर्ष, सडक बालबालिकालाई आम मानिसले हेर्ने दृष्टिकोण, उनिहरुसंग गर्ने ब्यबहार, उनिहरुले आम मानिसबाट के चाहेका छन् र आम मानिसहरुले के दिएका छन्? र मानिसहरुको ब्यबहारले ती कलिला बालमस्तिस्कमा कस्तो असर पारेको छ ? भन्ने कुराहरु र बालमनोविज्ञानलाई कुशलतापूर्वक प्रस्तुत गरिएको छ ।

एउटा सडक बालक ‘काले’ मानिसहरुको दुर्व्यवहार र भोको पेटका कारण बाँच्ने रहर पुगी आत्महत्याका लागि विष सेवन गर्छ । एउटी नर्सले देखेर उसलाई बचाउँछिन् र उनिहरु दुई बिचको संवाद नै उपन्यासको मुख्य कहानी हो ।

रश्मी रजनी र रमेश तीन दिदीभाइ, बाबुआमाले छोडेर गएपछि गाउँ घर र स्कुलमा समेत उनिहरुमाथी नराम्रो ब्यबहार भएपछि अत्तिएर बर्खे बिदामा मामाघर जान्छन् ।

मामाघर नजिकैकोराजुसंग रजनीको बालप्रेम प्रगाड हुन्छ । उनिहरु छुट्न चाहँदैनन् तर माइजुका रुखा वचनले त्यहाँ बसिरहन पनि मन लाग्दैन र केही समयको मामाघरको बसाइपछि घर फर्कन लाग्दा उनिहरुलाई खोलाले बगाउँछ । राजु र रजनीले उद्दार पाउँछन् रश्मीलाई बगाएर लान्छ । रजनीलाई एकजनाले धर्मपुत्री बनाएर पाल्छ भने रमेशलाई बालआश्रम लैजाने मान्छे भेटिन्छ । बाल आश्रममा आत्तिएर रमेश त्यहँबाट भाग्छ र सडकको संसारमा आउँछ । त्यहा उसको सन्ध्या र सुसिल दुई दिदीभाइसंग भेट हुन्छ त्यसपछि उनिहरुको निकै कष्टपूर्ण सडक जीवन सुरु हुन्छ ।

दु:ख र संघर्ष गर्दा गर्दै एकदिन सबै सफल हुन्छन् । यता रजनी धर्मपिताको सल्लाहमै उच्चशिक्षाको लागि शहर जान्छे । धर्मपिताको मायाँ देखेर खुसी भएकी रजनीले उच्चशिक्षाको लागि शहर जान लाग्दा धर्मपितालाई नै आफ्नो असली बाबु मान्दै यसो भनेकी छ “बच्चा जन्माउँदैमा मात्रै कोही आमाबाबु बन्न सक्दैन । बच्चालाई बाँच्न सहारा चाहिन्छ, जसले राम्रो स्याहार–सुसार, उचित शिक्षा–दीक्षा दिएर अनि पालन–पोषण गरेर बचाउँछन्, पढाउँछन् अनि हुर्काउछन् तिनै हुन् असली बाबुआमा ।” बुबाको इच्छा अनुसार सहर गएर उसले हेल्थ असिस्टेन्ट पुरा गरी सरकारी जागिरे हुन्छे ।

त्यहाँ उसको बालप्रेमी राजुसंग संयोगले भेट हुन्छ र पछि लिभिङ टुगेदरको बसाइ र बिबाह पनि हुन्छ । खोलाले बगाएर बेपत्ता भएकी रश्मीको आगमनले निकै खुसी दिन्छ । तीनै दिदीभाई भेटिएर आ-आफ्ना जीवनसाथीसंग खुसीको जीवन बाँचिरकेको सम्मको कहानी सुनाउँदै “जिन्दगीसंग डराएर भाग्ने होइन दु:ख र संघर्ष गरेर बाँच्ने हो । जसरी अँध्यारो रातपछि उज्यालो दिन आउँछ नि त्यसरी नै हाम्रो जीवनमा पनि दु:ख र संघर्ष पछि सुखी र खुसी जीवन अवस्य छ ।” भन्दै कालेलाई बाँच्न तर्फ अभिप्रेरित गर्छिन् र कालेको मनमा बाँच्ने र जीन्दगीमा केही गरेर देखाउने सोच आउँछ । र उपन्यास सकिएको छ ।

किशोरी अवस्थामा हुने परिवर्तन, पहिलो रजस्वला हुँदाको अनुभवले पनि उपन्यास बढी रोचक बनाएको छ । पहिलो रजस्वला हुँदा हाम्रो समाजमा भएका गलत सोचहरुलाई उपन्यासमा यसरी उल्लेख गरिएको छ ।

“महिनाबारी भएको बेला रगत लागेको कपडा बोक्सीले देख्यो भने बच्चा नपाउने गरी बिगारी दिन्छ ।” उपन्यासले रजस्वला हुँदा अपनाउने सर्तकताका बारेमा भने किशोरीलाई राम्रो शिक्षा दिएको छ ।

उपन्यासले बोकेको बालमनोविज्ञान, बालप्रेम, सामाजिक मान्यता, सहरी जीवनको अनिश्चितताले कथावस्तुलाई सशक्त बनाएको छ । सरल भाषा शैलीले उपन्यास साधारण पाठकका लागि पनि उपयोगी बनेको छ ।

बिधा :- उपन्यास
पृष्ठ:- १९२
प्रकाशक :- बिएन् पुस्तक संसार प्रा.लि.

प्रतिक्रिया