हेला होइन नारीलाई सम्मान गरौँ – तीज गीत

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका। २०७७ साउन २३ गते २२:४३ मा प्रकाशित

 

अहिलेका छोरीहरू अघि बढछन डटेर
डराएर भाग्दैनन पछि हटेर
पुरुषझैँ नारी पनि हिम्मतिला भका छन्
के कुरामा कम्ता छौं भन्न लाका छन ।।

नारीले नै हाँकेका छन् जहाज र कार नि
देश हाँक्दै चलाका छन सरकार नि
कमजोरी के देख्छौ र आजकलका नारीमा
पुरुषले झैँ काम गर्छन बराबरीमा । ।

बा आमाले ठानिदेउ न छोराछोरी बराबर
छोरी हेला गर्नेलाई गरौँ खबरदार
कपाल कालो बनायो तेलै राम्रो तोरीले
बरू माया गर्छन धेरै तिनै छोरीले

नारीबिना कसरी अघि बढछ सृष्टि यो
उपचार छैन केही खराब दृष्टिको
अज्ञानीलाई बताइदेऊ न घरकी छोरी देवी हुन
दुर्गा काली, भगवती, सरस्वती हुन

संसारका छोरीहरू अझै अघि बढ्दै छन
विकासका ठूला ठूला काम गर्दै छन
छोराछोरी जे भए नि ईश्वरका वरदान
हेला होइन नारीलाई गरौँ सम्मान ।।

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका।

प्रतिक्रिया