बिहे अघि, “बाबु । बुहारीको कुरा सुनेर हामीलाई हेला पो गर्ने हो कि ।” आमाले एक्कासि मुटु गाॅंठो पारेर भन्नुभयो। यस्तो डर, शंका उहाँले कहिल्यै गर्नुभएको थिएन।
“धर्तीमा,आमा भगवान हुन्। माया,स्नेह र प्रेरणाकी खानी हुन्। पढाउने, खेलाउने, स्याहार सुसार गर्ने जननी हुन्। शरीरको हर अङ्ग उनैको देन हो। यस्तो आमालाई मैले हेला गरुॅंला।” यस्तो सन्देह नलिनुस् भनेर सम्झाएको थिॅंए।
बिहेपछि, “सधैं आमा । आमा ।। भनेको छ । जति हाड छाला घोटे पनि जस दिने होइन। जति गरेनी खुसी नहुने सासूको जात। यस्तै हो भने सधैको लागि माइती हिंडिदिन्छु ,” भनेर बुढीले घुर्की लगाउथिन्।
सासू बुहारी भनाभन गर्दै थिए। “हैन आमा ! कति बुहारीलाई मात्र दलाउनुहुन्छ ? सक्ने काम आफूले गर्दैमा मर्ने हैन। कहिलेकाही सहयोग गर्दा के बिग्रन्थ्यो ? बुहारीलाई पनि छोरी जस्तै माया गरे कति राम्रो हुन्थ्यो ? सधैं कलह निकालेर छिमेकी हॅंसाउनु उचित हो त ?” के भनेको थिए । आमा रुँदै कोठामा जानु भयो। श्रीमती खुसी हुँदै भान्छातिर।
बुहारी नभएको मौका छोपेर आमाले भन्नुभयो, “बाबु, तेरो व्यवहारले मुटु छियाछिया भयो । खान पनि मन लाग्दैन । जिन्दगी निरस लाग्छ। दश धारा दुध खुवाएर हुर्काको छोरोले यस्तो बचन लगायो। त्यो त अर्काको छोरी। मलाई त पासो लगाएर मरु जस्तो लाग्यो। “
आमाको काखमा सुत्दै मैले भने, “तपाईंकी बुहारी कस्तो टिमुर्केकी छे। घमण्डी । अरुको कुरो सुन्दै नसुन्ने । उसको अगाडि रिसाएको नाटक मात्र गरेको हुँ। पहिला उसलाई आफ्नो बसमा त पारु । त्यस पछि, तपाईलाई गुनासो गर्ने मौका दिने छैन। मेरो लागि यत्ति सहन सक्नु हुन्न । आमा र श्रीमतीमा छान्नु परे म आमालाई छान्छु । छोराको मायामा शंका नगर्नुस “ भनेर सम्झाएको थिए।
“आखिर छोरो कसको ? आमाको । मेरो छोरोले बुहारीलाइ भन्दा मलाई धेरै माया गर्छ।” यसो भन्दै, आमा धपक्क पूर्णिमा जस्तै मुस्काउनुभयो।
बोस्टन, अमेरिका
प्रतिक्रिया