मैले तिमीलाई भनेकै हो
नखोज्नु छुन त्यो आकाशको जूनलाई
त्यो तिम्रो लागि होइन
नबिझाउनू कसैलाई ती वचनका काॅडाले
नघोच्नू ती सुतिरहेका साॅपहरूलाई
त्यो पनि तिम्रो कर्म होइन
तिनको कर्म त डस्नु नै हो
कहिले तिनले मायाले घोच्छन्
कहिले तिनले वचनले पोल्छन्
कहिले तिनले जिहाद युद्द नै छेड्छन्
त्यसैले मैले चेताइरहे तिमीलाई
बरू खोज्नू
फराकिलो त्यो मायाको संसार
अब त !
फूललाई हावाले गरेजस्तै स्पर्श गर्न सिक्नू
नबनाउनू कहिल्यै मनमा पापको बगैचा
नफुलाउनु त्यहाॅ पापकै बेली र चमेली
नहिॅड्नु कहिल्यै ती पापीहरू हिॅड्ने बाटो
ती त तड्पिरहेकै हुन्छन्
सधै दोमनको दोबाटोमा
देखिनौ ! ती बहुरूपी फूलहरू
कस्ताकस्ता रड्मा फुल्छन्
कहिले तिनै अभावको टोकरी बोक्छन्
कहिले तिनै प्रगतिको भोक बोकी हिॅड्छन्
कति भनौॅ म तिमीलाई !
यी पलाॅसका फूलहरूको यात्रा
यी त
क्षणिक ,देखावटीको घुम्टो ओढेर
फक्रने हुन् पापको बगैचामा
म भन्दै जान्छु ,तिमी बिर्सदै जान्छ्यौ किन ?
मैले चेताइरहेकै थिए तिमीलाई
अभावको भारी बोकेर उकालो दौडन
जति कठिन हुन्छ
उस्तै त हो असफलता बोकेर ओरालो झर्न पनि
दुवै कठिन छ है जिन्दगी
म बोलिरहे , तिमी सुनिरह्यौ मात्र
के व्यर्थ छ जस्तो लाग्छ मेरो चेताई ?
नबिर्सनु कहिल्यै आफ्नो खुसी
डगमगाउन नदिनू आफ्नो साहस
नभुल्नू कहिल्यै आफ्नो कर्तव्य
थाहै छ होला तिमीलाई
क्रोधमा दिएको उत्तर
मायामा गरेको प्रतिज्ञा
रिसमा गरेको कर्म
कति घातक छ है आफ्नै लागि ?
हो, मलाई पनि थाहा छ
हिॅड्नुपर्ने दु:खका ती लमतन्न बाटाहरू
त्यो उदाउॅदो घामसॅगै थाल्नुपर्ने यात्रा
मुहारमा अब पोत्नुपर्ने खुसीका रड्हरू
पीडालाई निचोरीनिचोरी पोख्नु
र निकाल्नुपर्ने हाॅसो
मनमा नै बनाउनुपर्ने धर्मको बगैचा
यी त भए मेरा लागि
तिम्रो लागि पनि साॅचिरहेछु प्रिय !
त्यो जुनेली रातको अन्तिम मुस्कान ।
प्रतिक्रिया