“छोरी तिमी”

इनेप्लिज २०७७ साउन ३ गते २:५८ मा प्रकाशित

तिम्रा छातीभित्र गुम्सिएका अशक्त पिडाहरुले
कता- कता मेरै छाती दुखिरहेछ
यो साँघुरो संसारभित्र अटाएर
बाँच्नु नै पर्ने नियती बनेको छ।
हाँस्न खोज्दा हाँस्नै गाह्रो
बाँच्न खोज्दा झनै सार्हो
तिम्रो र मेरो नियतिको खेल पो बनेको छ।
तिम्रा रहरका सुन्दर कोपिलाहरु
फक्राएर, फस्टाएर फुल्न नपाई ओइलाउन लागेछन्
अनि
तिमी चुपचाप सहेर
यो साँघुरो संसारभित्र आफुलाई झन- झन कमजोर बनाईरहेछौं!
पीडा र ग्लानिको झापट खप्दै
तिम्रा खुशी अनि रहरहरु लुटिएर टाढा भैंसक्दा
निर्दोष कैदीझैं
विवशताको पर्खालले घेरिएर
तिमी किन बन्दी भएकी छौं ?
तिमीले बिर्सिए जस्तो छ
गएको साल तिमीले भनेकी थियौ
चैत अनि वैशाखमा ढकमक्क फुल्ने लालीगुराँसझैं
रहरहरु फुल्न पाउनुपर्छ भनेर
अनि खुल्ला आकाशमुनि ढुकुर र जुरेली उडेझैं
खुशीहरु फुल्न पाउनुपर्छ भनेर
तर तिम्रा खुशी र रहरमाथि कतैबाट आक्रमण भएको छ!
तिम्रा ती संसार हेर्ने आँखाहरुमा आँसु नै आँसुको बज्रपात भएको छ!
मुस्कानै मुस्कानले भरिने ती गुलावी ओठहरु
आज कलेटी परेका छन् !

अहँ, म त सहन सक्दिनँ
तिम्रा खुशीहरु माथिको बज्रपात
तिम्रा पवित्र भावना माथिको क्रूर हस्तक्षेप
हरपल आफ्नो अस्तित्व भुलेर
तिमीले केवल अरुकैं निम्ति बाँच्नुपर्ने!
कस्तो विवशता हो यो ???
हरपल आफुलाई रुवाएर
तिमी कति दिन अरुको निम्ति हाँस्न सक्छौ?
कति दिन अरुको निम्ति बाँच्न सक्छेऊ ???

-कमला प्रसाईं हाल न्यूयोर्क, अमेरिका

प्रतिक्रिया