लक्ष्यको आत्महत्या

बिकाश थापा २०७७ साउन २ गते २१:५२ मा प्रकाशित

आमा मेरा हरिया विचारहरू
रोप्न नपाउॅदै पतझड बने
कैयौॅ मेरा सपनाहरू किन
घाट पुग्नुअगावै जले ?
आमा म पनि सल्काऊॅ
एकपल्ट यो देश ?
बोकेर यो चेतनाको दियो
युद्धको राॅको त सबैले बोक्छन्
भोको पेटमा लात त सबैले ठोक्छन्
आमा ! म अरब आउनुअगावै
मैले दैलोभरि रोपेका सपनाहरू
उम्रिए त हाम्रो बलेसीमा ?
वा,बगाए छानाबाट चुहिने ॲासुहरूले ?

आमा ! म सपनाको भारी बोकेर
हरियालीको घुम्टो ओढ्दै
नापिरहेछु पाइलाहरू
निरन्तर …….निरन्तर ……
चहारिरहेछु उही अरबी मरूभूमि
ओ देश !
मैले मरूभूमिको आत्मा छाम्न सक्दा
सकिनॅ छाम्न किन मेरो देश ?
सन् १९५० को सन्धि हेर्दै
टोलाइरहन्छन् किन तराईका फाॅटहरू ?
छक्क पर्छु हिजोआज
देश अगतिलो भनौॅ वा मेरो विचार ?

आमा ! मैले भोक पचाउन सिक्दै गर्दा
निकाल्दै मीठो सारङ्गी धुन
पेटले किन गाउॅथ्यो मधुर गीत
तैपनि
महान् थियो हाम्रो सन्तोष
खुसी थियो पसिनाको झुपडी
सुखी थियो श्रमको सुकुल
के नै थियो र ! हाम्रो सपना ?
झुपडी छाउने , एक टालो राम्रो लाउने
हैन त ?

आमा ! मैले घाॅसका अक्षरहरू
डोकाभरी बोकेर
गामबेसी गर्दा
कतिपल्ट दिए जीवनको परीक्षा
कतिपल्ट सुसेलें होला हाम्रो सपनाको गीत
एक छाक मीठो खाएको
एक टालो राम्रो लाएको
यही त थियो हैन आमा
चन्द्रमा चुम्ने हाम्रो लक्ष्य ?

आमा ! मैले उन्नतिको पहाड चढ्दा
कतिपल्ट ओर्लिए दु:खका बेंसीहरू
र पनि
गधाले जोत्ने मरूभूमि जोतेर
रोपिरहेछु आज बालुवामा सपना
देशमा त रोपिन्छ सधै युद्धको बीउ
त्यसैले त आज
खोरिया सम्झेर मरूभूमि सजाउॅछु
ऊॅट चराउॅदै आफैलाई कजाउॅछु
यही थियो त आमा मेरो लक्ष्य
हिमाल बोकेर मरूभूमि पुग्ने ?

बिकास थापा ,पेन्सलभेनिया ,अमेरिका

प्रतिक्रिया