सच्चा हृदय भएका
मनहरू
घर भित्र प्रेम देखाउँदै
तल्लाघरेलाई दिलको
धडकनमा हस्ताक्षर गर्छन ।
मन्दिर आफ्नै घरमा
तर
दियो बल्छ तल्ला घरेको नाममा
हँसिलो हिमालको मुस्कान हेर्दै
आफ्नै घरको पखेरीमा
प्रभातका किरणहरूको
उपहार लिंदै
परावर्तित किरणहरू चुम्न
तल्ला घरेलाई दिन्छन ।
स्वर्ग जस्तो आफ्नो घरको
सौन्दर्यलाई
उसको परेला भित्र
दर्पण छॉंया पारिदिन्छन
आफ्नै घरको शब्द शब्दबाट
गीत बनाउँदै
संगीत र लयमा उसैको नाम
भरिदिन्छन् ।
निकाल्छन सुरिला स्वरहरु
र तान्छन लय लयमा
उसैको रवाफ,
उनिहरुको लयमा
आफन्तको शोक छ या बिरह छ
तर मनमा भन्छन
आमाको माया छ
पुर्खाको छाया छ ।
एउटा बखत थियो
ईतिहॉंस बनेको
कहिल्यै गुलाम नरहेको मेरो घर
सिमा नाघेर आउनेलाई
धुलो चटाउँदै
बिरताको जलधारा बगाईरहेको थियो ।
तर, आज
आफ्नै घरमा बुट बजार्दै
तल्लो घरमा माली बनेर
उसैको फुलबारी सजाउनेलाई
खबरदारी गर्दै
मेरो घरको माटोलाई
शिरमा राखेर कसम खॉंदै
पुर्खाले बचाएको स्वाभिमान
मर्न दिने छैन
तल्लाघरको गुनगान
गाउन दिनेछैन
बरू खाली पेट मर्नै परे पनि
घरको स्वाभिमान
मर्न दिनेछैन ।।
जगत सुवेदी भर्जिनिया अमेरिका
प्रतिक्रिया