बुहारी भन्ने बित्तिकै हामी छोरा या भाइकी श्रीमतीलाई बुझ्दछौं। तपाईं नेपाली समाजमै जन्मेर हुर्किनु भएको हो भने तपाईंलाई बुहारीको परिचय धेरै दिरहनु पनि नपर्ला। अझ हामी मध्ये कति त बुहारी भइसकेका पनि हौंला। अनि कतिपय श्रीमान्, सासू, ससुरा, जेठाजु, जेठानी आदि आदि पनि। जब छोरी ठुली भएपछि विहे गरेर अर्काको घर जान्छे अनि उसको नयाँ परिचय थपिन्छ, बुहारी। उसको यो नयाँ परिचय संगै थपिन्छन नयाँ कर्तव्य, नयाँ जिम्मेवारी र नयाँ चुनौतिका पहाडहरू। विहेको अघिल्ल्लो दिनसम्म बाबु आमालाई घुर्की लगाएर यो खान्छु यो खान्न, यो गर्छु यो गर्दिन भनेर स्वत्रन्त्र रुपमा मस्तसंग, बिना संकोच, बिना रोकावट, रमाइरहेकी केटी बिहेका दिनदेखि बुहारी बन्नपुग्छे। अनि सुरू हुन्छ उसको अर्को जिन्दगी। अनि साँघुरिन्छन उसका रहर, इच्छा अनि आकांक्षाहरू।
केही समय पहिला नेपालमा सँगै पढाउनु भएको सहकर्मी साथीले फेसबुकमा एउटा लेख सियर गर्नुभएको थियो। एउटा दाजुले आफ्नी बहिनीको वैवाहिक जीवनप्रति उठाएका थुपारेका थुप्रै गुनासाहरू, निरासाहरू अनि थुपारेका प्रश्नहरू थिए लेखमा। लेख एकै बसाइमै सर्रर आँखा नझिम्काई पढेर सिध्याएँ। लेखले सार्है मन छोयो। लेखका धेरै कुराहरू मनासिव मात्र थिएनन, सोचनीय अनि मननीय पनि थिए। त्यसमा पनि लेखको एउटा वाक्यले भने मलाई सोचमग्न नै बनायो। लेखमा भनिएको थियो, मानिसहरू छोरी र बुहारी दुवैलाई घरका फूल मान्छन तर छोरीलाई स्वतन्त्र भई फैलिएर वगैचामा फुल्ने फूललाई जस्तै फैलन दिन्छन भने बुहारीलाई गमलामा फुल्ने फूलजस्तै साङ्घुरिएर फैलन विवश बनाउछन। जब त्यो लेख पढें केहीबेर सम्म सोचमा डुबिरहें। के साच्चै बुहारी भनेका गमलामै फुल्ने फूल हुन् त ? के बुहारीहरूले छोरीले जस्तो गरि स्वतन्त्र भई फैलिएर फुल्न पाउदैनन त ? के उनीहरू विहे पछि सीमित र संकुचित घेराबन्दीमा वाधिनु पर्छ ? यस्ता कयौं प्रश्न मेरा अघिल्तिर आएर उभिए।
अलिकति संकोच, अलिकति डर लिएर आफ्नो घर भित्र भित्रिएकी बुहारीलाई घरमा हुर्कदै गरेकी छोरीलाई जसरी भुर्रर स्वत्रन्त भएर उडन दिन्छौं त ? के उस्लाई र आफ्नी छोरीलाइ हामी समान व्यहवार अनि माया दिन्छौ त ? आफ्नी हुर्किएर पाकी भएकी छोरी विहान जतिसुकै ढिला उठोस्। जहाँसुकै जाओस, जसरी खाओस, गीत गाउदै घरभित्र नाचेर हिडोस कि, भात पकावोस कि नपकावोस, भाडा माझोस कि नमाझोस हामी त्यति धेरै वास्ता गर्दैनौं। तर घरकी बुहारी कुनै दिन नौ बजे उठोस् त ? कुनै दिन आफूले खाएको थाल जुठेल्नामा नै छोडेर जाओस त ? अनि सुरू हुन्छन संस्कारका कुरा। खान्दानका कुरा, माइतीका कुरा। अनि सुरू हुन्छन छिमेकीका चियो चर्चो। पधेर्नी गफहरू, फलानाकी बुहारी त यस्ती उस्ती।
नौ बजे उठ्नु पनि त उसका कुनै कारण हुनसक्लान। अथवा उसको माइतीमा निर्वाध रूपमा नौ बजेसम्म सुत्ने बानी थियो कि ? यताको समय मिलाउन गाह्रो परेको होला कि ? अथवा राति आफ्नो पढाई र गृहकार्य गर्दा सुत्न ढिलो भएकोले ढिला उठेकी हो कि ?
तपाईंको परिवारले जे मन पराउछ, जस्तो तरिकाले सोच्छ, जस्तो समयमा उठ्छ, सुत्छ, जे जे कुराहरू गर्न मन पराउछ सबै बुहारीको परिवारले त्यसै गर्थ्यो भन्ने त हुँदैन नि ? अनि उसले जुन कुरा वाल्यकालवाटै देख्दै, सिक्दै, गर्दै, आई बुहारी भएपछि ती सारा कुराहरू लाई तिलान्जली दिनु पर्छ भन्ने पनि त छैन नि ? त्यतातिर हाम्रो ध्यान नै जादैन। हामी यो कत्ति पनि सोच्न सक्दैनौ कि बुहारी पनि हिजो कसैकी छोरी थिई।
यहाँ हामी मध्ये कसैलाई जाबो घर धन्दाका कुरामा के टाउको दुखाउने भन्ने पनि लाग्ला। तर कुरा घरधन्दाका मात्रै भन्दा नि एउटी बुहारीलाई हाम्रो नेपाली समाजले हेर्ने दृष्टिकोण मात्र देखाउन खोजेको हो। मलाई त के लाग्छ भने हामी भन्दा अगाडिका पुस्ताका आमाहरू जो, औपचारिक शिक्षाबाट वन्चित हुनुभयो अनि आफ्नै घरको चुलो चौकामा मात्र सीमित हुनुभयो उहाँहरूप्रति मेरो कुनै गुनासो छैन। उहाँहरूले वर्षौ देखि समाजमा जे देख्नु भयो जे भोग्नु भयो त्यहि गर्नु भयो। तर अहिलेका सहरिया शिक्षित भनाउदा नारीहरूले नै झन् बुहारीलाई नबुझेको हो कि जस्तो लाग्छ। थाहा छैन कसरी हट्छ उहाँहरूको दिमाग मा कैद भएको छोरी बुहारी बीचको संकुचित सोचाई। अनि घरि-घरि त्यै प्रश्नले घोचिरन्छ, हामी जतिसुकै पढेलेखेका शिक्षित परिवारका भएपनि छोरी र बुहारीलाई किन एउटै नजरियाले हेर्दैनौं ?
आफू जन्मेर बीस पच्चीस बर्ष बिताएको प्यारो ठाउँलाई त्यागेर, आफ्ना सारा रहर, सपना, इच्छा कुल्चेर नयाँ परिवेश, नयाँ ठाउँ अनि आफ्नो परिवारमा समाहित हुन् आएकी नारीलाई हामी किन फरक देख्छौँ ? छोरीजस्तो त हामीले आफ्ना छोरीजस्ता देखिने सबैलाई पनि त भन्छौ नि। छोरीका साथीहरू, छोरीकै उमेरका अन्य नानीहरू देख्यौँ भने हामी सिधैँ भनि हाल्छौँ मेरै छोरीजस्ती। छोरी जस्तै मान्नु र छोरी नै मान्नुमा पनि तात्त्विक फरक छ नि ? एउटै घरमा आफ्नी बिहे नभएकी उमेरले बरू दुई चार बर्षैले नै जेठी छोरीलाई धेरै कुराहरूको छुट दिन्छौं। तर बुहारीलाई आफ्नी छोरीलाई बराबर छुट दिन हिच्किच्याउँछौ। जब घरमा बुहारी भित्रिन्छे त्यही दिनबाटै हामी उसंग बाट एउटा परिपक्क नारीमा जस्तो धेरै जिम्मेवारी र कर्तव्यको अपेक्षा राख्दछौँ।
आजभोलि कहिलेकाही मनमा एक किसिमको डर पैदा हुन्छ। हाम्रो पुस्ता त बरू, त्यहि हाम्रो समाज, परिवेश, वातावरण देखेर आएका हौँ र समाजका असमानता, समाजमा बुहारीलाई गरिने व्यबहार हाम्रा आँखाले प्रत्यक्ष देखेर नै हुर्केको हो। हाम्रो पुस्ताले त त्यस्ता कुराहरूलाई असन्तुटिका वाबजुत पनि सजिलै पचाउन सक्यौं। त्यसो त, छोरी हुँदा पनि, हामीले त्यति धेरै स्वतन्त्रता पाएनौं जति हाम्रो छोरी पुस्ताले पाइरहेको छ। हाम्रो छोरी पुस्तालाई समाजका यस्ता भेदभाव, असमानता, कुरीति र संकुचित सोच प्राय थाहा नै छैन भन्दा पनि हुन्छ। मलाई डर किन लाग्छ भने, आजै हामीले हाम्रो समाज, समुदायबाट यस्ता कुराहरू हटाउन सकेनौं भने भोलि हाम्रा छोरीहरूले यस्ता भेदभावको सामना कसरी गर्लान ? त्यतिबेलासम्म पनि यस्ता कुराहरू हराएर नजाने हो भने विहेपछि उनीहरूको मानसिक आवस्थामा कस्तो असर पर्ला ? बैबाहिक सम्बन्ध कति धेरै दिगो रहला ? ज्यादै सोचनीय विषय छ। मलाई लाग्छ यस्ता कुरामा हामी सबैले ध्यान दिएर अहिले नै सचेत भइ आ-आफ्नो ठाउँबाट पहल गर्ने हो भने यस्ता समस्या क्रमश: हराएर जानेछन। यसको लागि मुख्य कुरो भनेको हामी आफैँ परिवर्तन हुन अत्यन्त जरूरी भने छ।
समाज परिवर्तन तब मात्र सम्भव छ जब हामी आफ्नो सोचाई परिवर्तन गर्न सक्छौँ। अनि कुनैपनि कुरालाई व्यवहारमै लागू गर्न सक्छौँ। “हाम्रा सासूले हाम्लाई कम्ता दुख दिएका होइनन। मेरी बुहारीलाई त मैले रानी जस्तै बनाएर राखेकी छु।” यस्ता कुराहरू हामी बाराम्बार सुन्ने गर्छौँ। पढे लेखेका शिक्षित भनाउँदा महिलाहरूबाट पनि प्राय:यस्ता कुराहरू सुनिनु पक्कै नि राम्रो होइन। होला उहाँहरूका सासूहरू पुरातनवादी हुनुहुन्थ्यो, उहाँहरूमा शिक्षाको कमी थियो। अनि जमाना पनि त्यस्तै थियो र उहाँहरूले आफ्ना सासूका कडा बुहार्तन सहनु पर्यो होला। तर अहिलेका धेरै सासूहरू त बुझेका पढेलेखेका छन् नि तर पनि अझै किन बुझ्न सकेका छैनन् ? बुहारीको मन, रहर, आवश्यकता र इच्छाहरू। भन्छन नि “निदाएकालाई व्युताउनु भन्दा निदाए जस्तो गरेकालाई व्युताउनु धेरै गाह्रो हुन्छ”। हो त्यस्तै हो रहेछ कि जस्तो लाग्छ मलाई पनि। हामी थाहा पाएर पनि थाहा नपाएजस्तो गरियो भने समाज कसरी परिवर्तन हुन्छ र ? यहाँनेर गुरू डा.योगी विकासा नन्दको भनाई राख्न चाहे, ‘परिवर्तन सम्भव छ, तर सुरू आफैबाट गर्नु पर्छ” हो, समाज परिवर्तन गर्न हामी सबै लाग्यौं भने असम्भव भने पक्कै छैन।
यहाँनेर धेरै प्रश्नहरू पनि उब्जेलान के आजभन्दा तीस, चालीस वर्ष पहिलेका नेपाली समाजका बुहारीहरूको अवस्था र अहिलेका बुहारीहरूको अवस्था उस्तै छ त ? पक्कै पनि छैन, अहिले धेरै सुधार भएको छ तर विर्सनै नहुने एउटा कटू सत्य पनि के हो भने, यसमा पूर्णरूपमा सुधार भने भएको छैन।
मैले यति भनिरहदा धेरैलाई लाग्न पनि सक्ला, हामी त हाम्रो बुहारीलाई बुहारी नै मान्दैनौँ छोरी नै मान्छौँ। मेरो छोरी र उसमा कति पनि फरक गरेका छैनौँ। तपाईँहरू सय प्रतिशत सही पनि हुनुहुन्छ समाज परिवर्तन नै नभएको पनि होइन। मैले पनि यस्तो धेरै परिवार देखेको छु। जो साच्चै नै उदाहरणीय नै हुनुहुन्छ। छोरीलाई भन्दा बढी बुहारीलाई माया, ममता दिनुभएको छ।आफ्नी एकल बुहारीलाई आफ्नै हातले विहे गरेर पनि दिनुभएको छ। समाजमा अघि बढ्नको लागि हौँसला प्रदान गर्नुभएको छ। बुहारीका सपना, रहर र इच्छालाई पूरा हेर्न हरतरहले साथ दिनुभएको छ। बुहारीलाई समाजमा छुट्टै परिचय लिएर उभिन सक्ने सफल नारी बनाउनु भएको छ। उहाँहरूलाई जति नै धन्यवाद दिएपनि कमी हुन्छ।
विश्व अहिले एकाइसौं शताब्दीमा हिडिरहेको छ। संसारमा भएका विकासका अनेकन परिवर्तनहरू हामीले हाम्रै आँखा अगाडि देखेका छौं। परम्परादेखि नारीलाई हेर्ने दृष्टिकोण र सोचाइमा परिवर्तन आएका छन्। विश्वका विकसित मानिने देशहरूमा नारीलाई गरिने व्यबहारमा व्यापक परिवर्तन भएको पाइन्छ। तर दुखको कुरा नै मान्नुपर्छ, संसारमा धेरै परिवर्तन आइसक्दा पनि हाम्रो नेपाली समाजमा भने उही पुरानो सोचाइ र धारणाले जरो गाडेर बसेको छ। अझै पनि हामीले पुरानो विचार र सोचाइहरूलाई जरैदेखि फाल्न सकेनौ भने समाज अबको तीस चालीस बर्षसम्म परिवर्त हुने छैन भन्ने कुरामा दुईमत हुन भने सकिदैन।
विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका।
प्रतिक्रिया