हामी प्रत्येक दिन पूर्वको लालिमालाई हेर्छौं,
अनि सम्झिन्छौ यो लामो रातपछिको दिन हो
अब त, हामी जस्ताको पनि दिन आउँछ,
खुसी हुन्छौ अनि दौडिन्छौ लालिमालाई समात्न पछि पछि,
पत्तै लाग्दैन कति बेला लालिमा फाटेर
प्रज्वलमय राप बनेर थाप्लो पोल्न थालेको,
तीर मिराएको आखाँले छाहारी खोज्छन, र
देखिन्छ पनि दूरदराजमा शीतलताको छहारी,
जहाँ अरुहरुप्रति ओत लागेका छन्,
नचिनिएका सित– चिनिएका अनुहारहरुपनि छन्,
नियात्रा उस्तै उस्तै भएका हुन तिनिहरु,
हाम्रो जस्तै उद्गमित प्रकृयाका अस्तीत्वहरु,
आशाका किरण पलाउँछन्,
अनि हामी आर्तपूकारमा चिच्याउँछौ,
हामीलाई पनि सयलको खाँचो छ,
ओत अनि संप्रोत र सहाराको खाँचो छ,
हाम्रो आवाज हामीमै फर्कन्छ,
सुन्दैनन् या नसुनेको प्रत्याभूत पढाउछन्,
निमिषमा ती अनुहारहरु ओझेल पर्छन,
निसहाय हाम्रा मनहरु निस्तेज बन्छन्, अनि,
काहालिन्छन्– निस्कन्छ हा हा मात्र–
रापले खाएका निस्तेज हाम्रा नियतिका आँखाले,
पर क्षितिजमा केहि हातहरुको इसारा देख्छन्,
दंभ्मीन छन् ती परिचित चेहराहरु,
जो संकेतमा हामीलाई गिज्याई रहेछन्
खिसीका कटाक्ष मुस्कानका साथ,
हाम्रो दिग्भ्रमित यात्रालाई,
खुच्चिऊ खुच्चिऊको गीत गाईरहेछन्
हामी रनभूल्लमा अर्धमूर्छित छौं,
बाटो बिरिएकोले अलपत्र छौं,
आफैलाई खोज्दछौ, खोतल्दछौं
उधिन पोधिन पारेर– नियात्राका रगरग चाहार्दछौं,
प्रत्येक बाटाहरु जो हिड्थ्यौ परत परत खोतल्दछौं,
सबै विकल्परहित विकल्प शून्यता– थिए र छन्,
फेरीपनि, आफूलाई अनिर्णयको बन्दि स्वीकारदै,
आफ्नै त्यहि दिशाहिन यात्राको निरन्तरतामा
अनवरत हण्डरहरु चिर्दै– अनिच्चित दिशामा बढिरहेछौ,
त्यही भोलीको आशामा,
क्षितिजमा कैयौपटक लालिमा पलाउँछन्
विस्तारै कालिमामा परिर्वतन हुन्छन् सन्ध्यामा
अन्धकारले छोप्छ हाम्रो जगतलाई,
दिशाहरु फेरी विलुप्त हुन्छन्
हामी सधै झैं निश्वासको लामो स्वास तानेर,
आँखा चिम्लन्छौ,
अन्धकार सितै आफ्नो नियतिका नियात्रालाई जारी राख्दै
दूर क्षितिजमा फेरी पनपने लालिमाको प्रतिक्षामा
कल्पनातित सुखद् विहानीको सम्भावनासँग,
मनको तारलाई जोडेर पूनः पूनः
त्यहि परिकल्पनाको नयाँ लालिमालाई–
निरन्तर पर्खिरहेछौ
निरन्तर पर्खिरहेछौ ।।।।
–प्रा.डा. मेदनी भण्डारी
जनवरी, २६, २०२०
प्रतिक्रिया