एक्काइसौं शताब्दीको मृत्यु
चाइनाको उहानबाट सुरु भएर
बिना भिसा लुसुक्क इन्ट्री मारेर
सारा संसार भिजीट गर्न भ्याएको
ताज टाउकोमा भएको भाइरस
जिवनमा जवरजस्ति तहस नहस ल्याउने कोरोना
अकालमानै टपक्क टिपेर लाने
यो भ्रमरीले ल्याएको मृत्यु जाने पनि मसान घाट नै त रहेछ ।
जति रेसमा छिटो वा ढिलो दौड
वा दौडदै नदौड
दिन त बितेकै हुन्छ
सास त चलेकै हुन्छ
सास चल्नु पनि त
एक हिसाबले प्रतिपल मर्नु नै रहेछ
जिन्दगीको अन्तिम विश्राम गर्न जाने पनि मसान घाट नै त रहेछ ।
घर भित्र लकडाउन भएर भोकले मर्नेकी
घर बाहिर निस्केर कोरोनाले मर्ने
सोसल डिस्ट्यान्स राखेर
उसको स्पर्स बिना मर्नेकी
आइसोलेसनमा बसेर उसलाई जित्ने
जे जसो गरे पनि जित त उसैको भयो
मलामी नगए पनि लास जाने मसान घाट नै त रहेछ ।
आफ्नाहरुको बिच मर्न पाउनु र
आफन्तका मरणहरु घर बसी बसी फेसटाइमबाट हेर्नु
आकाश जमीनको फरक छ
जसले भोगेको छ उसले बुझेको छ
नभोग्नेले पनि अब यो एक्काइसौ शताब्दीको मृत्यु कथा
सामाजिक संजालमा प्रत्येक्ष लाइभ देखेको छ
दाग बत्ती अनलाइन गरे पनि लास जाने मसान घाट नै त रहेछ l
प्रतिक्रिया