आमा

जगन्नाथ पाैडेल, भर्जिनिया अमेरिका २०७७ वैशाख १० गते ०:२५ मा प्रकाशित

तिम्राे आँखाभरि जून फुलेकाे दिन

तिम्राे पाइलाभरि फूल फुलेकाे दिन

औधी रमाउँछन् आमाका ती भावुक आँखाहरु थाहा छ तिमीलाई ?

आमा

मेटेर आफना आँखाका दृश्यहरू

हेरिरहन्छिन् तिम्रा आँखामा उदाउने उज्याला किरणहरू

त्यागेर आफना संपूर्ण खुसीहरू

आफ्नोपेट भरि रहन्छिन्

तिम्रा ओठभरी आउने हाँसाेका तरङ्गहरूले

खानु पर्दैन उनले पेटभरि

तिमीले निलेका प्रत्येक गाँसहरूकाे गन्तीमा

तृप्त भइरहन्छन् उनका भाेकहरू

चाहिंदैन आमालाई सुनकाे चुरा

बस तिमी सुनझैं चम्किएकाे हेर्ने एक मुठी धाेकाे हुन्छ उनमा

चाहिंदैन उनलाई आकाश छुने कुनै महल

बस तिमीले आमा.. भनेकाे सुन्ने अाकाशभन्दा फराकिलाे विश्वास हुन्छ उनमा

हाे आमाआमा हुन्

त्यसैले

दुख्याे भने उनकाे कपाल

छाेपिदिन्छिन् तिम्राे शिर पछ्याैरीले

दुख्याे भने उनकाे ढाड

सेकिदिन्छिन् ताताे तेलकाे न्यानाे मायाले तिम्राे भविष्य

थैलीमा कसेर संपूर्ण खुसीहरू

गनिरहन्छिन् एकएक सिक्कामा

तिम्रा खुसीका दिनहरू

तिमी ठुलाे बन्नुपर्छ

तिमी हाँसेर हिंड्नुपर्छ

बस तिमीले हिंड्ने बाटाेमा फूलमात्र फुल्नुपर्छ

अब तिमी आमाले साेचेभन्दा बडेमान भइसक्याै

तिमी आमाको सपनाझैं

हराभरा फुलिसक्याै

फुलाइसकेऊ रङ्गीबिरङ्गी आफ्नो जिन्दगीकाे घर

तिमीलाई गाेड्ने बेला जीवनकाे कुनै बगैंचामा

उनकाे ठुलाे आशा थियाे तिमी डालीभरि फुलेकाे हेर्ने

के उनलाई सम्झ्याै आज ?

आज आमाकाे मुख हेर्ने दिन

थाहा पायाै कुन बृद्धाश्रममा

लुकाइरहेकी छिन् उनले त्याे दुःख खुम्चिएकाे अनुहार ?

जगन्नाथ पाैडेल, भर्जिनिया अमेरिका

प्रतिक्रिया