घरमा थुनिएको छु । काम गर्ने अवस्था छैन । अफिस बन्द छ । केही सहकर्मीमा कोरोना भाइरसको लक्षण देखिएपछि कामबाट सबैलाई विदा गरे । सधैँ घरमा बसेर के गर्नु ? बाहिर कहाँ जाऊँ ? घरभित्रै यताउता ग¥यो, कपडाहरु मिलायो । अल्छी लागे यसो पल्ट्यो । साथमा मोबाइल छ । फेसबुकमा पस्यो, तस्वीरहरु हे¥यो, प्रतिक्रिया पढ्यो । लेखेका छोटाछोटा विचारहरु पढ्यो, कसैले लाईक गरेका हुन्छन्– त्यो हे¥यो । यसै गरीगरी पूरै दश दिन बितेछन् ।
कुनै दिन थिए, सातै दिन काममा जान्थेँ । फर्केर आउँदा थाकेको हुन्थेँ । घरमा आएपछि पनि अरु धेरै कामहरु भइहाल्थे । श्रीमानले काममा सघाउने हैनन् । यत्रो समय भो म अमेरिका आएकी, उनले एक दिन पनि वासिङ मेसिनमा लुगा हालिदिएको मलाई थाहा छैन । भान्सामा खाना पकाउन सायद जानेकै छैनन् । घरको सरसफाइको कुरा के गरुँ ! उनको पढ्नेलेख्ने टेबलको अवस्था पनि म यहाँ बताउन सक्दिनँ । कुन वर्ष ल्याएर राखेको कागज हो भन्ने उनैलाई हेक्का हुँदैँन । जम्मा पार्छन्, कुन कुरा कहिलेसम्मका लागि आवश्यक हो भन्ने उनलाई थाहा हुँदैन । घरमा आएर के गर्छन् भनूँ– कि फोनमा हुन्छन्, कि त कम्प्युटरमा । एउटा कुरामा लागेपछि अर्को कुरा सबै बिर्सन्छन् । आफूले राखेको कुरा र राखेको ठाउँ प्रायः उनलाई थाहा हुँदैन । कहिले त लाग्छ, यस्ता मान्छे कसरी अमेरिका आइपुगे ? अनि कसरी यहाँ दैनिक काम गरिरहेका छन् ?
विश्वभरिका सबै देशमा अहिले रोगको महामारी छ । एक लाख पच्चीस हजार मानिसहरु मरिसके । विश्वभरि महामारी बनेको यो भाइरसको प्रकोपबाट अमेरिका पनि नराम्ररी प्रभावित भएको छ । हामी बसेको काउन्टीमा पनि दुई हजारभन्दा बढी भाइरसबाट प्रभावित भएको समाचार आइरहेको छ । म घरमा छु, उनी काममा जान्छन् । काममा नजानु न भन्यो, “नगए के खाने” भनेर मेरो सातो लिन्छन् । सार्वजनिक ठाउँमा काम गर्ने मान्छे, कसरी यो महामारीबाट अछुतो होलान् भन्ने चिन्ताले मलाई सधैँ सताइरहन्छ ।
घरमा त काम म नै गर्छु । मलाई देखेपछि उनले गर्ने होइन, छोराछोरीको त के कुरा भो र झन् । केही परे ‘आमा, यो खै र त्यो खै’ भने पुगिहाल्यो । मिलेर गर्ने भन्ने त मेरा सम्झनामा केही पनि छैन । उनले बिगारेका काम, नमिलाएका अवस्थाहरु सबै मैले मिलाएर राख्नुपर्ने । कहिले त कस्तोसित आएछु बिहे गरेर भन्ने पनि लाग्छ । तर भाग्यले सबै कुरा उतिखेरै मिलाइदिएपछि मैले चाहेर पनि केही नहुँदो रहेछ । चाहना त मेरा पनि अनेकन् थिए, सम्झेर के गर्नु । अब सबै कुरा सपना भएर ओझेर परे । वास्तविक जीवन जे छ, त्यसलाई भोगेरै अघि बढ्छु भन्ने मेरो विचार नै बलियो भएर आयो । त्यसैले हामी आजसम्म सँगै छौँ ।
हिजो बिहान काममा निस्कन तयार भए । बाहिर वातावरण चिसै छ । ‘तातो पानी पिएर जानुस्’ भनेर तातो पानी दिएँ । ‘भ्याउँदिन’ भनेर दुई घुट्का पिएर बाहिर निस्के । एकैछिनमा फर्केर आए । जुत्ता खोलेर सरासर माथिको कोठमा गए । एकछिनमा फेरि तल झरे । ‘मेरो साँचो खोइ होला’ भनेर मेरो मुखमा हेरे । मलाई तिनले साँचो कहाँ राखे भनेर के थाहा ? मैले उनको मुखमा हेरेँ, रिस पनि उठ्यो, “बिरालाले आची लुकाएझैँ आफैँ कहाँ लगेर राख्नुहुन्छ मलाई के थाहा ? भनिदिएँ । ‘नजिस्क न, मलाई ढिला भइसकेको छ’ भनेर अँध्यारो मुख लगाए ।
दया लागेर आयो, फेरि मैले पनि झर्केर सोधेँ, “हिजो ल्याएर कहाँ राखेको थियो ?”
उनले भने, “त्यही कम्प्युटर राखेको टेबलको छेउमा हो राख्ने गरेको । आज बिहान पर्स र फोन त्यहीँबाट टिपेँ । साँचो त्यहाँ थिएन ।” म सरासर त्यही टेबलम पुगेँ, जुन टेबलको अवस्थाबारे मैले माथि नै भनिसकेको छु । कहाँबाट सुरु गरुँ खोज्न ! पुराना औषधिका खाली खोल पनि त्यहीँ थिए, बजारमा किनमेल गरेका बिलहरु पनि त्यहीँ थिए । सामान किनेर पैसा फिर्ता आएका निकल, डायम, पेनी र क्वार्टर पनि त्यहीँ थिए । ग्लु, टेप, बिग्रेका तीनवटा घडी, काम नगर्ने अवस्था भएपछि फाल्नुपर्ने पाँचवटा मोबाइल चार्जर रहेछन् । छसातवटा छरपस्ट अवस्थामा डायरीहरु, च्यातिएका किताबहरु, पढ्दै गएर बीचमा पाना दोब्¥याएर राखेका छसातवटा किताबहरु रहेछन् । टेबलघडी, कैँची, सिसा फुटेका फ्रेम, पुराना क्रेडिट कार्डहरु र अरु अनेकन खुद्रामसिना कुराहरु म बताएर सक्दिनँ । फरकफरक रङ्गका बीसौँवटा कलम, डट्पेन र पेन्सिलहरु छरिएका थिए । पुराना र नयाँ तीनवटा माउस पनि टेबलमै अटाएका थिए । उनी एकातिर खोज्न थाले, मैले खोजेको भागमा ती कुराहरु देखेँ । साँचो पाउन अत्तोपत्तो थिएन । मुस्किलले एकछेउमा कम्प्युटर र त्यसको कीबोर्ड अटाएको थियो । एउटा छुट्टै नयाँ किबोर्ड घोप्टिएको थियो । मेरो रिसाएको अनुहारमा उनी पुलुक्क हेर्थे, कहाँ राखेँ होला त भनेर फेरि खोज्न थाल्थे ।
टेबलका सबै कुराहरु एकएक गरी भुईँमा सारैँ । आधा घन्टा भइसकेको थियो । मलाई एक सम्झना आयो, मैले सोधेँ, “हिजो बेलुका बाहिर निस्कँदा कुन पाइन्ट लगाएको थियो ?” उनले हत्तपत्त पाइन्टमा हेरे । बेलुकी घर बस्दा लाउने गरेको हाफ पाइन्टको गोजी छामे । त्यहाँ पनि साँचो थिएन । तल्लो तलाको सोफामा बसेर हिजो बेलुका कसकससित हो, दुई घन्टा बकबकाएका थिए । साँचो सोफामा छोडे कि कि भनेर म झरेँ । एक मन रिस उठिरहेको थियो । अर्को मनले भन्यो, “नरिसा बाबै, उनको होश तँलाई थाहै छ । एक घन्टा ढिलो यसै भइसके । धन्य हिजो कामबाट आउँदा फोन चाहिँ लिएर आएछन् । कहिले त गाडीमै फोन राखेर घर आउँथे र पछि चाहिँदा खोज्दै गाडीमा पुग्थे । आज त्यसो भएको भए फोन गाडीमा हुने र साँचो हराउने के हालत हुनेथियो होला ।”
काममा ढिला हुने भयो भनेर हातको उनले फोनबाट मेसेज पठाए र चुपचाप मेरो पछिपछि तल ओेर्ले । सोफाको यताउता सबैतिर खोजेँ, साँचो थिएन । त्यहाँ राखेको भए पो पाउनु । भान्साको टेबल, ¥याक, जुत्ता राख्ने ¥याक, हात धुने बेसिन सबैतिर हेरेँ । साँचो पाइनँ । कहिले सीधै बेडरुममा पुगेर भुइँमा बसी फोन गर्न थाल्छन्, त्यसै भो कि भनेर फेरि माथि उक्लेँ । चुपचाप पछिपछि उक्ले । चुपचाप पछ्याएको देखेर भित्रभित्रै मरुँलाजस्तो गरी हाँसो उठेको थियो । हाँस्न भएन । हाँसो रोक्दै सिरानी पल्टाएर हेरेँ । बाथरुमभित्र पसेर सबैतिर हेरेँ । सम्भावित सबै ठाउँमा खोजेर पनि साँचो नभेटेपछि फेरि तल झरेँ । केही सम्झेर फेरि माथि उक्लेँ । तीनपटक तलमाथि गर्दा मलाई चिटचिट पसिना आउलास्तो भइसकेको थियो ।
त्यस्तैमा उनलाई एकाएक एउटा कुराको याद भयो । उनले भने, “यो टेबलको छेउको डस्टबिन कसले उठाएको हिजो बेलुका ? कतै टेबलबाट साँचो यहाँ त झरेको थिएन ?” मेरा कन्सिरीका रौँ तातेर आए, ‘अघि नै भन्नुपर्दैन’ भनेर जंगिएँ । मेरो रिस निकै चर्को भइसकेको थियो । छोरीलाई बोलाए,ऊँ ऊँ गरेर सुती रही ।छोरो पनि काममा भएका बेला बाहिर ननिस्किई फोन उठाउन मिल्दैन भन्छ । त्यसमाथि ऊ आफ्नै गाडी लिएर गएको थियो । बाबुको साँचो किन लिएर जाओस् ! हैन, कतै यसले बाबाको साँचो लिएर बाबाको गाडी चलाएर गयो कि ? म हत्तपत्त बाहिर गएँ । उसको गाडी थिएन । बाबाको गाडी पार्किङमै थियो । गाडीबाहिरबाट दुवैतिरको सिटमा हेरेँ । सिट खाली थियो । स्टार्ट गर्ने ठाउँमा पनि साँचो झुन्डिएको थिएन ।
उनले अघि भनेको कुरा मैले सम्झेँ– टेबलछेउको फोहरको झोला । आज फोहर उठाउने दिन थियो । त्यतिखेरसम्म फोहर उठाउने ट्रक आइपुगेको थिएन । मैले नै हिजो बेलुकी फोहर बाहिर लगेकी थिएँ । कहिलेकहीँ छोरीले सघाउँथी । खाना खाएपछि “होमवर्क गर्नु छ’ भनेर ऊ पढ्न लागी । मैले नै फोहर जम्मा पार्नुप¥यो । फोहरको पोको चिनेर निकालेँ । पार्किङमा बसेर के पोको खोल्नु, घरभित्रै आएँ । एकएक गरेर हेरेँ । उनी पनि कहिले मलाई त कहिले कागजका टुक्रा, केराका बोक्रा, सुन्तलाका बोक्रालाई एकएक गरेर हेरिरहे । सघाउन लागेनन् । बेलाबेलामा भन्थे, “बर्बादै भो आज, साह्रै ढिला भो ।”
म पनि भनिदिन्थेँ, “मैले हो र आफ्नै बुद्धिले त हो नि । एकपटक यस्तो भएपछि चेत्नुपर्छ नि । योसमेत कतिपल्ट यसरी साँचो हराउनुभो, भन्नुस् त । यदि आज पाएँ र फेरि हराउनुभयो भने अब चाहिँ म सक्दिनँ । हरेक कुरामा सधैँ पछि लागेर के साध्य ? कहिले फोन छोडेर आएको छ, कहिले उल्टो जुत्ता लाएर गएको छ । कस्तो बेहोस मान्छे, हैन होश चाहिँ कता बेचेको हो हँ, एक दिन आफैँ हराएँ भन्न बेर छैन ।”
त्यो पोकामा पनि साँचो भेटिएन । उनको अनुहार चिन्तित थियो । मैले सम्झेँ । उनी आउँदा आफैँले घरको ढोका खोलेर पसेका थिए । अघिअघि बाहिर उभिएर डोरबेल बजाउँथे । म ढोका खोल्न जान्थेँ, भित्र डोरबेल बजिरहेको हुन्थ्यो । डोरबेलको संगीतमा नाच्दै भित्र पस्थे । उनलाई संगीत साह्रै मन पर्छ । बेलुका कामबाट आउँदा मभन्दा उनी पहिले आउँछन् । म कामबाट फर्केका दिन मैले डोरबेल बजाएँ भने ढोका खोल्न आउँदा पनि नाच्दै आउँथे । मै उनी हिजो आएको बेलाका सबै दृश्य सम्झन थालेँ । हिजो उनको हातमा के के थियो– उनी कसैसित कुरा गर्दै भित्र पसेका थिए । फोन समातेको उनको देब्रे हात कानको छेउमा पुगेको थियो । दाहिने हातमा केराको बोक्रा र पानी पिएर कुच्याएको बोतल थियो । साँचाको झुप्पो पनि त्यही हातमा थियो । त्यो झुप्पामा घरको मूल ढोकाका तीन साँचो, मेल बक्सको साँचो र गाडीको साँचो छ । अब मलाई अनुमान गर्न गाह्रो भएन ।
मैले सोधेँ, “हिजो घर आउँदा गाडीमा केरा खाएको थियो हैन ?” उनले ‘हो’ भने । मैले सोधेँ, “पानीको बोतल पनि निकालेको थियो हैन गाडीबाट ?”” उनले ‘किन र’ भनी सोधे । म अलि कडा भएँ, “त्यो केराको बोक्रा र पानीको बोतल कुन डस्टविनमा राख्नुभो ?” उनी अनकनाएर मूल ढोकाछेउको बाथरुमभित्र गए । साँचोमात्र होइन, केराको बोक्रासमेत त्यहाँ थिएन । त्यहाँ राखेको भए पो हुनु । मैले भान्साको फोहर राखेको ठूलो झोला खोतल्नुथियो । मलाई झन् रिस उठ्न थाल्यो । हिजो भित्र पस्नासाथ फोनमा कुरा गर्दागर्दै खितिति हाँसेर भान्सातिर लागेको मलाई थाहा थियो । ढोका खोलिदिएर म लिभिङ रुममा गरिरहेको मेरो काममा म फर्किसकेकी थिएँ ।
साँचोको खोजीमा बिहानको सात बज्यो । उनी छ बजे निस्किसक्नुपथ्र्यो । उनको होशहवास उडिसकेको थियो । ढिलो भयो भनेर पनि कतिपल्ट कारण दिऊन् । उनको बोली बन्द भएको थियो । म फेरि पार्किङ लटमा फोहर राखेको ठूलो बट्टा भएको ठाउँमा गएँ । भान्साको फोहर राखेको झोला निकालेँ । त्यो झोला यसै पनि गरुँगो थियो । बाहिर बसेर के निकाल्नु, ढोकाभित्र ल्याएँ । आफू माछामासु नखाने । हिजो बेलुका छोराले अन्डाका बोक्रा, मासुको हड्डी सबै त्यहीँ हालेको थियो । पञ्जा खोजेर लाएँ । ‘खोज्नु यसैमा’ भनेर उनलाई पनि भनेँ । उनले पनि खोज्न थाले । पञ्जै नलाई हात उधिने । मैले फेरि हकारेँ । उनले यसो हातमा हेरेर पञ्जा लाए । भित्रभित्र एक एक गरेर छाने । साँचो भेटेनन् । ‘भो भेटिएन, घरमै कतै होला फोहर बाहिर राखिदेऊ’ भने । मैले भनेँ, “अँ सक्छु म सधैँ आफैँ राख्नु ।”
उनी झोला उठाएर बाहिर निस्कन लागेका थिए, मलाई फेरि एकपटक खोजूँ जस्तो लाग्यो । मैले भनेँ, “पख्नुस् त, म हेर्छु एकपल्ट ।”
उनले फेरि फोहरको पोका भुइँमा राखे । मैले पत्रिका खोजेर भुईँमा ओछ्याएँ र फोहर निकाल्न थालेँ । प्लास्टिकको पिँधमा छोरीको कलेजको लोगो चिनिने पहेँलो कुरो देखियो । मेरो हात सीधै त्यहाँ पुग्यो । साँचोको झुप्पो मेरो हातमा आइपुग्यो । मलाई अब राम्ररी रिस उठ्यो । ‘ल साँचो’ भनेर भनेर उनको हातमा जोडले झड्कारेँ । उनको हातबाट साँचो भुइँमा झ¥यो । उनी ‘थ्याङ्क यु’ भन्दै बाहिर निस्के । हतारहतार गाडी स्टार्ट गरेर गए ।
उनी गएपछि मैले ढोका लगाएँ । एक किसिमले ठूलो समस्याबाट मुक्त भएको आभास गर्दै म आनन्दित भएँ । एकछिनअघिका सबै घटनाहरु एकएक गर्दै आँखाअगाडि आउन थाले । यस्तै हो भने यिनी कुनै दिन अफिस पनि नाङ्गै खुट्टा जान बेर छैन । मलाई यो सम्झेर मात्र पनि हाँसो छुट्यो । उनी नाङ्गै गोडा गाडीमा बसेको, अफिसमा गएको, साथीहरुसित भेटेर गुडमर्निङ भन्दै हात उठाउँदै आफ्नो काममा लागेको अनि पिसाब लागेर शौचालय पसेको । जहाँ उनलाई चिसो भएको महसूस होओस् र उनी गोडातिर हेरुन् अनि नाङ्गा गोडा देखून् । म मरीमरी हाँस्न थालेँ ।
उनी गएको दश मिनेटपछि बाहिर यतिकैमा ढोकाको बेल बज्यो । म यतिखेर को आएको हुन सक्छ भनेर ढोका खोल्न गएँ । ढोकामा उनै थिए, मेरा आँखा एक्कासि उनका गोडामा परे । उनी नाङ्गा गोडामा थिएनन् । उनले मोजामात्र लाएका रहेछन् । जुत्तै लाउन बिर्सेर गएछन् । मलाई थाहा थियो साँचो खोज्न पहिलोपल्ट माथिको कोठामा जाँदा उनले ढोकाभित्र जुत्ता खोलेर गएका थिए । अन्तिममा त्यतिकै गाडीमा गएछन् । पाँचमिनेट पर पुगेपछि धन्य जुत्ता नभएको खुट्टाको हेक्का भएछ ।”
यो सबै बेलिबिस्तार लाएपछि यति भनेर मरीमरी हाँसिरहेकी थिइन् । फोनको अर्कोतिर कुनै महिला झन् जोडले हाँसिरहेको मैले सुनेँ । यति सुन्नु रहेछ र मैले आज डोरबेल नबजाई आफैँले ढोका खोलेर भित्र आउनुपरेको थियो । झन् विहानको घटनाले म साह्रै शर्मिन्दा थिएँ । उनले बिहानको त्यो घटना यति चाँडै सार्वजनिक गर्छिन् भन्ने लागेको थिएन ।
अब कुरा सकिइसकेको थियो, मैले ख्वाक्क गरेर नआएको खोकी झिकेँ । जतिबेर अघि आएको भए पनि म आएँ भनेर संकेत गर्नु थियो । उनले पनि म आएको चाल पाएर मसिनो स्वरमा भनिन्, “ल दिदी, ज्वाइँ आइपुग्नुभो । मैले अहिले राखेँ ।”
–भर्जिनिया, अमेरिका
प्रतिक्रिया