रूस विज्ञान प्रज्ञाप्रतिष्ठान दर्शनशास्त्र संस्थानमा रूसी नवयुवती विदुषी आनास्तासिया लोझ्किनाद्वारा विद्यावारिधि प्राज्ञिक उपाधिका लागि ‘पाली वाङ्मयको संरचनामा दार्शनिक-धार्मिक वादविवादको रूपमा ‘पुद्गल-स्वत्वबारे वार्तालाप’ (‘कथावत्थु १.१’) शीर्षकमा तयार पारिएको दर्शनशास्त्रको इतिहासविषयक शोधग्रन्थको पुर्पक्षका लागि २१ जनवरी २०२० (मङ्गलवार) का दिन विद्वत् परिषदको बैठक बोलाइएको थियो । त्यस पुर्पक्षको एक पर्यवेक्षकको रूपमा यस पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) को पनि उपस्थिति रहेको थियो ।
पूर्वनिर्धारित समयअनुसार दिउँसो ठीक ३ बजे दर्शनशास्त्र संस्थानसको विद्वत् परिषद्की सचिव एन. भोल्कोभाबाट विधिवत् बैठक संचालनका लागि आवश्यक कागजातसहित सबै तैयारी पूरा भएको सूचना दिनासाथ विद्वत् परिषदकी अध्यक्ष, हेगेलको दर्शनशास्त्रकी विज्ञ, प्रोफेसर नेल्ली मोत्रोसिएभाले बैठक संचालन गरेकी थिइन् । सर्वप्रथम आवश्यक अनुसन्धान पूरा गरेर शोधग्रन्थ पेश गर्ने आनास्तासिया लोझ्किनाले प्राचीन बौद्धदर्शनमा ‘स्वत्व’ लाई स्वीकार्ने पुद्गलवादी तथा ‘स्वत्व’ को नकार गर्ने थेरावादी सम्प्रदायका दुई प्रतिनिधिबीच तर्कवितर्कको रूपमा गरिएको वादविवाद अभिलेख गरिएको प्राचीनतम बौद्धदर्शन प्रतिबिम्बित मूल पाली ग्रन्थ ‘पुद्गल-कथा’ को रूसी भाषामा अनुवाद समेत गरेर शोधखोजद्वारा तयार पारिएको शोधग्रन्थको सारसंक्षेपसहित त्यसको समसामयिकता तथा औचित्यको समेत सारगर्भित तर स्पष्ट भाषमा पुष्टि गरेपछि शोधग्रन्थ तयार पार्नका लागि वैज्ञानिक नेतृत्व प्रदान गर्ने साहित्यशास्त्रमा महाविद्यावारिध्रि्राप्त गरेकी र प्राच्यविद्या संस्थानको प्राचीन इतिहास तथा संस्कृति विभागमा कार्यरत प्रोफेसर, वयोबृद्धा विदुषी भिक्टोरिया भेर्तोग्रादोभाले शोधग्रन्थको वकालत गर्दै पाली भाषाको ‘पुद्गल’ शब्दले ‘पुंस्’ अर्थात् सामान्य ‘लोग्नेमान्छे’ भन्ने अर्थ बोध गराउने र त्यसको दार्शनिक चरित्र प्रष्ट्याउन ‘स्वत्व’ पारिभाषिक शब्द जोडेर शोधग्रन्थको मूल विषयवस्तु स्पष्ट पारिएको बताउँदै प्रारम्भिक बौद्ध दर्शनका लागि परमात्माको पर्यायवाची उच्चस्तरीय ‘पुरुष’ शब्द मान्य नहुने हुँदा ‘स्वत्व’ को अर्थबोध गराउने निम्नस्तरीय ‘पुद्गल’ शब्दको प्रयोग दार्शनिक दृष्टिले ग्रहण गरिएको कुरा छर्लंग पारेकी थिइन् ।
विद्वत् परिषदकी सचिवले प्रस्तुत शोघग्रन्थको सन्दर्भमा विभिन्न प्राच्यविद्या विशारदहरूबाट प्राप्त टीकाटिप्पणी पढेर सुनाएपछि शोधग्रन्थका दुर्इ प्रतिपक्षी विद्वान्हरू अर्थात् वैज्ञानिक अनुसन्धान विश्वविद्यालयको मानविकी विज्ञान संकायकी प्राध्यापिका नातालिया कानाएभा तथा दर्शनशास्त्र, संस्कृतिविद्या तथा मंगोलियाविद्या विभागका प्रमुख सेर्गेइ लेपेखोभले आफ्नो लिखित समालोचनाको सारसंक्षेप र थप विचार पनि राखेका थिए ।
प्रोफेसर सेर्गेइ लेपेखोभले आफ्नो मन्तव्यमा रूसमा पाली वाङ्मयको रूसी भाषामा अनुवादको संक्षिप्त इतिहास नै प्रस्तुत गरेका थिए । उदाहरणार्थ, प्रस्तुत शोधग्रन्थको मूलस्रोत पाली भाषाको कृति ‘पुद्गल-कथा’ को अंग्रेजी अनुवाद सन् १९१५ मा भएको थियो भने बुद्धधर्मको क्षेत्रगत अध्ययनका लागि नेपाल लगायत भारत, श्रीलङ्का र म्यानमार (बर्मा) को यात्रा गर्ने प्रकाण्ड रूसी विद्वान् इभान मिनाएभले रूसमा यस कृतिको बारेमा चर्चा गरेका थिए । सोभियत कालमा संस्कृत र पाली भाषाबाट धार्मिक साहित्यको अनुवाद गर्नु सम्भव थिएन, तर सन् १९६० मा सर्वप्रथम बल्लतल्ल ‘धम्मपद’ को रूसी अनुवाद प्रकाशित भयो र संस्कृत भाषाबाट पनि ‘ऋग्वेद’, ‘उपनिषद्’ लगायत विभिन्न कृतिहरूको अनुवाद प्रकाशित भएका थिए । अहिले बल्ल आनास्तासिया लोझ्किनाबाट पाली भाषाको प्रारम्भिक दर्शनसम्बन्धी कृति रूसी भाषामा प्रकाशित भएको छ ।
राजकीय विश्वविद्यालयअन्तर्गत एशिया-अफ्रिका संस्थानबाट संस्कृत र पाली भाषासाहित्यको अध्ययन गरेर स्नातक उपाधि प्राप्त गरेपछि विद्यावारिधिका लागि पाली वाङ्मयको अध्ययनमा संलग्न आनास्तासिया लोझ्किनाले प्रारम्भिक बौद्धदर्शनको विषयमा शोधकार्य गरिन् र यस विषयमा ‘दार्शनिक पत्रिका’, ‘दर्शनशास्त्रको इतिहास’, ‘दर्शनशास्त्रका समस्याहरू’, ‘मास्को विश्वविद्यालयको सन्देश’ आदि विभिन्न वैज्ञानिक पत्रिकाहरूमा उनका ११ वटा लेखहरू प्रकाशित भएका थिए । नवयुवती आनास्तासिया लोझ्किनालाई प्रारम्भिक बौद्धदर्शनको विषयमा विद्यावारिधिको प्राज्ञिक उपाधि प्रदान गरिनु रूसमा पाली बौद्धवाङ्मयको अध्ययनले भविष्यमा गहन रूप लिने कुराको द्योतक हो भन्न सकिन्छ । बुद्धको जन्मभूमि र सम्भवतः पाली भाषाको उद्गमस्थल समेत रहेको नेपालका लागि यो विशेष उपलब्धि हो भन्न सकिन्छ । रूसी विदुषी आनास्तासिया लोझ्किना अहिले आफ्नो शोधग्रन्थको आधारमा एक गहकिलो पुस्तक प्रकाशन गर्ने प्रयासमा संलग्न रहेकी छन् र भविष्यमा पनि उनका बौद्धदर्शनविषयक कृतिहरूको प्रकाशनद्वारा नेपाली पाठकहरू समेत लाभान्वित हुने छन् भन्ने विश्वास छ ।
फोटो-सौजन्य – लिजा कुजिना र ल्युद्मिला उशाकोभा
दिनाङ्क – २१.०१.२०२० (मङ्गलवार)
मस्को, रूस महासंघ ।
प्रतिक्रिया