शंकर लामिछाने जयन्तीमा अभिनन्दन तथा पुरस्कार विकरण

इनेप्लिज विशेष प्रतिनिधि काठमाडौं २०७५ चैत ६ गते १०:१७ मा प्रकाशित

विख्यात नेपाली साहित्यकार शंकर लामिछानेको ९२ औं जन्मजयन्ती नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शंकर लामिछाने प्रतिष्ठानले राजधानीमा एक विशेष समारोहको आयोजना गरेर मनाइयो ।

सो अवसरमा मदन पुरस्कार विजेता तथा साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन, नियात्राकार घनश्याम राजकर्णिकारलाई नगद रु. पचासहजारसहित शंकर लामिछाने निबन्ध पुरस्कार र कवयित्री तथा निबन्धकार मोमिला जोशीलाई नगद रु. पच्चीसहजारसहित शंकर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गरियो ।

सो अवसरमा शंकर लामिछानेका छुट्टाछुट्टै चार कृतिहरु एब्स्ट्रयाक चिन्तन: प्याज (निबन्ध सङ्ग्रह), गौंथलीको गुँड (कथा सङ्ग्रह), गोधुली संसार (निबन्ध सङ्ग्रह) र विम्ब प्रतिविम्ब (रेखाचित्र सङ्ग्रह) लाई एउटै कृतिको रूपमा बुक हिल पब्लिकेसन्सले प्रकाशित गरेको पुस्तक समेत विमोचन गरियो।

सो अवसरमा अभिनन्दित व्यक्तित्व चन्द, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेती, सदस्य सचिव प्रा. जगदप्रसाद उपाध्याय, शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, पुरस्कृत स्रष्टाहरु घनश्याम राजकर्णिका र मोमिला जोशी, प्रतिष्ठानका कोषाध्यक्ष पदमावती सिंह र सदस्य पुष्पा खनालले आआफ्नो मन्तब्य राख्नु भएको थियो ।


शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती हुनुहुन्थ्यो ।

कार्यक्रममा शंकर लामिछानेकी श्रीमती रत्ना लामिछाने, छोरा दीप लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीका अनुसार आगामी वर्षदेखि डायस्पोराका लेखकहरूलाई पुरस्कारका लागि समेटिनेछ !

प्रतिक्रिया