लागूऔषधको ओभर डोजका कारण यी गायकको मृत्यु

इनेप्लिज २०७५ भदौ २३ गते १२:३४ मा प्रकाशित

न्युयोर्क, २३ भदौ । अमेरिकी गायक एवम् र्‍यापर म्याक मिलरको मृत्यु भएको छ । क्यालिफोर्नियास्थित आफ्नै घरमा मिलर मृत अवस्थामा भेटिएका छन् ।

२६ वर्षीय मिलरको लागूऔषधको ओभरडोजका कारण निधन भएको अमेरिकी प्रहरीले जनाएको छ । मिलरले लागूऔषध लिने गरेको खुला रुपमा बताउने गरेका थिए ।

माल्कम जेम्स म्याकोर्मिक वास्ताविक नाम रहेका मिलर सन् २०११ मा पहिलो एल्बम नै अमेरिकी चार्टको पहिलो स्थानमा पुगेको थियो । उनी त्यसपछि विश्व चर्चित बने ।

उनले यो वर्षको सुरुमा आफ्नो पछिल्लो एल्बम स्विमिङ्ग बजारमा ल्याएका थिए र विश्व भ्रमणमा निस्कने तयारी थियो ।

मिलरको प्रेमिका एसिएना ग्राण्डेसँग ब्रेकअप भएको थियो । ग्राण्डे पनि गायिका हुन् । मिलर र ग्राण्डेको सन् २०१२ मा भेट भएको थियो र उनीहरुले धेरै गीतमा सहकार्य गरे । यस्तै सन् २०१७ मा वन लभ म्यानचेस्टर कन्सर्टमा संयुक्त रुपमा प्रस्तुति दिएका थिए ।

गएको मे मा लागूऔषध खाएर गाडी चलाएको तथा ठक्कर दिएर भागेको आरोपमा मिलरमाथि गएको महिना मुद्दा दर्ता भएको थियो । मिलरका फ्यानले ग्राण्डेले मिलरलाई पक्राउ गराउन भूमिका खेलेको आरोप लगाएका थिए । त्यसपछि उनले सम्बन्धका बारेमा बोलेकी थिइन् ।

पेन्सिलभेनियामा जन्मिएका मिलरले सानै उमेरदेखि संगीतमा काम गरेका हुन् । उनले १५ वर्षको हुँदा नै इजेड म्याकको नाममा पहिलो मिक्सटेप रिलिज गरेका थिए । उनले सन् २०१३ मा एमटिभीको रियालिटी शो पनि गरे । एजेन्सी

प्रतिक्रिया