अन्तर सामुदायिक जोडीलाई नगरपालिकाको सम्मान

इनेप्लिज २०७४ फागुन १८ गते ११:५५ मा प्रकाशित

सञ्जय मित्र, रौतहट
अन्तर सामुदायिक जोडीलाई रौतहटको एक नगरपालिकाले सम्मानित गरेको छ । रौतहटको गढीमाई नगरपालिका ८ वीरनगराका मधेसी समुदायका युवक सुरेन्द्र राय यादव र रुपन्देहीको बुटबल नगरपालिका ११ देवीनगरकी बबिता क्षेत्रीबीच गत हप्ता धुमधामका साथ विवाह सम्पन्न भएको थियो । दुलहा यादवका पिता बुधन राय यादवले डेढ सय जन्तीभन्दा जन्ती लिएर बुटबल पुग्दा दुलहीका पिता धनबहादुर भणडारीले आफ्नो संस्कृतिअनुसार भव्य स्वागत गरेका थिए ।

पहाडी र मधेसी समुदायको दुई फरक भूगोल र संस्कृतिका दुलहा र दुलहीको दुवै परिवारको पूर्ण सहमतिमा विवाह सम्पन्न भएपछि एक समारोहका बीच गढीमाई नगरपालिकाले जोडीलाई सम्मानित गरेको छ । गढीमाई नगरपालिकाले अन्तर सामुदायिक विवाह गरी समाजको उत्थानमा सहयोग पु¥याएको भन्दै सम्मानपत्रका साथ ५ हजार एक सय रुपैया नगद र अन्य केही उपहार सामग्रीहरु प्रदान गरेको छ । नगर प्रमुख श्यामप्रसाद यादव, उपप्रमुख शुभद्रा गुप्ता तथा विभिन्न वडाध्यक्षहरुले जोडीको प्रशंसा गरेका छन् ।

सम्मान कार्यक्रममा दुलहा दुलहीले दुवैले मन्तव्य व्यक्त गर्दै पहाडी र मधेसी मिलेर नै नेपाली बनेको हुनाले दुई समुदायको मिलन गराउन आफूहरुको योगदान अरुहरुका लागि प्रेरणादायी हुने बताएका छन् ।

प्रतिक्रिया