सुर्य बहादुर थापा, मुगा र हाम्रो ध्वस्त घर

इनेप्लिज २०७२ वैशाख ४ गते २:४५ मा प्रकाशित

surya b thapa

अमेरिकाको व्यस्त जीवन । आफ्नो निजी भन्ने त केही नै रहन्न । जतिबेला नि काममै व्यस्त । तर, जतिबेला पनि इन्टरनेटको पहुँचमा हुने हुँदा विश्वमा भएका साना ठूला सबै घटना क्षणभरमै थाहा भइहाल्छ ।

बुधबार यस्तै भयो । भर्खरै काममा गएको थिएँ । धनकुटा जिल्लाको मुगा गाबिसमा जन्मेका नेपालका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको गत बुधबार राति भारतको मेदान्त अस्पतालमा निधन भएको समाचार सुन्नासाथ क्षणभरमा हातखुट्टा गले ।

उहाँको निधनको समाचार मलाई काठमाडौँबाट संचालित दैनिक नेपाल डटकमका सम्पादक, मेरा मित्र गणेश पाण्डेले अमेरिकाको समय अनुसार दिउसोको ३ः२० मा दिनुभयो । दैनिक नेपालले नै सूर्यबहादुर थापाको निधन भएको समाचार ब्रेक गरेको थियो । दैनिक नेपाल टिमले रात पनि नभनी अपडेट दिएको थियो । काममा ब्यस्त भैरहेको बेला भाइबरमार्फत यो खबर पाउँदा राम्रोसँग हेर्न सकिन । र, सरसर्ती हेर्दा अचम्मित भएँ । अनुहारमा गम्भीर भएकोले सहकर्मीहरुले के भयो ? भनि सोधे । र ,पारिवारिक मृत्यु भएको छ भन्दा के नेपाल जानुपर्छ भनि मलाई सोधे ।

सूर्यबहादुर थापा र हामी दाजुभाइ । एउटै परिवारका । धनकुटा जिल्लाको मुगा हाम्रो पुख्र्यौली । हाम्रो घर पनि सँगसँगै जसतो छ । परिस्थितिले हामी टाढा टाढा पुगेपनि चाडपर्वमा भेट हुन्थ्यो । देवाली मनाउन मुगामा पुग्थ्यौँ । हामी लामिछाने थापाहरुको देवाली हुन्छ र मुगामा मनाइन्छ ।

उहा पनि हाम्रो हजुर बुवाको हातबाट टिका लगाउन हाम्रो घर काठमाडौँको बालुवाटार आउनु हुन्थ्यो, हाम्रो घरबाट पनि उहाँको मालिगाउँस्थित घर जाने गर्थ्यौँ । हामी थापा परिवार भित्रकै सदस्य हौँ । जुठो र सुतक बार्ने गर्छौँ । मेरो उहाँ साइनोले दाजु । काठमाडौँमा बास भए पनि उहाँ र हामी कसैले पनि मुगा छोडेका छैनौँ । हामीले एक कञ्चो जग्गा पनि बेचेको छैन । घर खण्डहर भएको छ । मुगा छोडेको युग भएतापनि घरको रेख देख गर्ने मानिसलाई अझ पनि मुगामै व्यवस्था गरिएको छ ।

Surya-bahadur-thapa-school

४० बर्ष देखि मुगास्थित हाम्रो घर रेखदेख गर्ने बीरबहादुर भुजेल, मैले यही बिद्यालयबाट १ कक्षासम्म पढेको हो भने सूर्यबहादुर थापाले पनि यहीँ पढ्नु भएको हो ।

घर भत्केको तस्बिर देख्दा आँशु आउँछ, केही गर्न नसकिएकोमा दुख लाग्दछ । किनभने हामी अमेरिकामा छौँ । तर मेरो जन्मस्थान मुगा खण्डहरमा परिवर्तित भएको छ । आवतजावत ठप्प छ। जन्मस्थल बिरानो लाग्दछ । जन्मस्थानलाई हाम्रो खाँचो चाहिएको छ । अनि सूर्यबहादुर दाइको परिवार त्यहाँ गएर बस्न सक्ने अवस्था छ, न त हामी । अझ हामी त सबै भाइ परदेशीझैँ भएका छौँ ।

धनकुटा मुगाको भन्ने बित्तिकै सूर्य बहादुर थापासँग के सम्बन्ध छ र के नाता पर्छ भनी अहिलेसम्म पनि सोधिन्छ । सूर्यबहादुर दाइ प्रधानमन्त्री भएकोमा हाम्रो परिवारमा कम्ता खुसी भएको थिएन् । तर, पनि उहाँको नाम र शक्ति कहिल्यै दुरुपयोग गर्न परेन हामीलाई । उहाँ बाँचुञ्जेल त परेन, अब त स्वर्गबास नै भइसक्नुभएको छ ।

बिहिबार दिउँसो नेपालको एउटा अनलाइनमा समाचार हेर्दै झनै स्तब्ध भएँ म । सूर्यबहादुर दाइको धनकुटा मुगाको घर तथा अन्य थापाहरुको घरहरुको तस्बिर देख्दा आँशु छचल्कियो ।

पीडा अझ बढ्यो किनभने अनलाइन खबरले हाम्रो मुगाको घर र हाम्रो घर हेरचाह गर्ने मानिसको समेत तस्बीर प्रकाशित गरिदिएकोले त्यसले मन कुटुक्क खायो । नयन नै रसायो काम गर्दागर्दै ।

आफू पनि त्यही जन्मेको र त्यहाँको पाठशालाको समेत तस्बीर प्रकाशित गरेकोले झन् गार्हो भो । हाम्रो घरको दुर्दशा देख्दा डाँको छोडेर रुन मन लाग्यो ।

मैले झन्डै १५ बर्ष भयो सूर्यबहादुर दाइसँग नभेटेको । आफनो नातेदार भए पनि जीवनमा ३ पटक मात्र प्रत्यक्ष भेट्ने अवसर पाएँ, उहाँसँग ।

१० बर्षे युद्धकालमा मुगामा थापाहरुको कुल देवताको पूजा देवाली मनाउने बिषयमा थापा परिवारको जमघट बिराटनगरमा भएको थियो । त्यस समयमा बिराटनगरमा रेवत थापाद्वारा संचालित रत्ना होटलमा भएको कार्यक्रममा स्वर्गीय सूर्यबहादुर थापा उपस्थित हुनुभएको थियो । उहालाईँ नै प्रमुख अतिथि बनाइएको थियो ।

उहाँ प्रायः गम्भीर मुद्रामा हुनुहुन्थ्यो । सौभाग्यबश मैले नै कार्यक्रम संचालन गर्ने अवसर पाएको थिएँ । त्यस समयमा पनि आफू जन्मेको ठाउँलाई बिर्सनु हुँदैन भनी स्वर्गीय सूर्यबहादुर थापाले भन्नु भएको थियो ।

आज झन्डै १५ बर्षपछि उहाँले आफ्नो जन्मथलोको बारेमा भनेका कुरा मिडियाबाट थाहा पाउँदा मैले मन थाम्न सकिन । भावुक हुन् पुगेछु ।

आफू अमेरिकामा छु, उडेर जान सक्ने भए जान्थेँ होला तर पनि नेपालमा भएका परिवार त्यहाँ पुगेको तस्बिर हेर्ने मौका पाएको छु ।

पूर्वप्रधानमन्त्री एवं पाका नेता सूर्यबहादुर थापाको निधनले नेपाली राजनीतिको एउटा युगको अन्त्य भएको छ । राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राख्नुभयो ।

थापालाई राष्ट्रिय सम्मान दिइएको कुराले मन हल्का भएको छ । शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै बिदा ।

प्रतिक्रिया