दिवाभोजका लागि मैले गरेको निम्तो स्वीकार गरी यही सन् २०१७ को फरबरी ५ मा मेरो निवास च्यान्टिलीमा कथाकार गोविन्द गिरि प्रेरणा आउनुभयो ।
साहित्यिक कुराकानीकै सन्दर्भमा वहाँले भन्नुभयो, “मैले लेख्न थालेको चालीस वर्ष भयो । कुनै कार्यक्रममा निम्तो पाएर जाँदा हिजोअस्तिका असाहित्यिकहरू मन्चमा बसेको बोलेको हेर्न र सुन्न अनि ताली पिट्न मैले समय किन बर्बाद गर्ने ? त्यसैले अचेल म अमेरिकाका साहित्यिक कार्यक्रमहरूमा त्यति जान्नँ ।”
मेरो निवासमा मेरी श्रीमती पार्वती र छोरी अभिज्ञासमेतका अघि वहाँले आफ्ना साहित्ययात्राका कुरा गर्न थाल्नुभयो । नेपाली, अंग्रेजी र स्पेनिस भाषामा गरी कूल आठ पुस्तक प्रकाशित भइसकेको लेखक हुँ भन्ने मलाई उहाँको कुराले पुड्को बनायो । बोलीचाली, व्यवहार र व्यक्तित्वले पटक्कै वृद्ध नदेखिने चर्चित लेखक गोविन्द गिरि प्रेरणाका विभिन्न विधामा २० कृतिहरू प्रकाशित भइसकेका छन् । वास्तवमा वहाँको कृति प्रकाशित हुन थाल्दा म पाँच वर्षको रहेछु ।
२०७२ सालमा साझा प्रकाशनबाट प्रकाशित वहाँका लामा कथाहरूको संग्रह गन्तव्य गणबहाल कथासंग्रह प्रकाशन हुनासाथ मेरो हातमा परेको हो । मैले पूरै कथा पढेको पनि हुँ । मैले पढेर केही समीक्षा लेख्ने मेरो नेपालमा रहँदाको बानीलाई अमेरिकामा आएर पनि निरन्तरता दिन चाहेको पनि हुँ । बाल्टिमोरको एक साहित्यिका कार्यक्रममा चर्चित आख्यानकार कृष्ण धरावासी दाइले कथाकार प्रेरणाकै सामुन्ने मसित गन्तव्य गणबहालका कुनकुन कथा पढ्नुभयो भनेर ठाडै प्रश्न गर्नुभयो । कथाका कतिपय सन्दर्भहरू विस्मृत बन्न पुगे भन्नुबाहेक मसित उत्तर थिएन । फरबरी ५ कथाकार प्रेरणासितको भेटपछि मैले पुस्तक फेरि खोजेँ र पूरै पढेँ ।
गन्तव्य गणबहाल कथासंग्रहमा आठ लामा कथाहरू संग्रहित छन् । कथाहरूले पुस्तकको २७५ पृष्ठ ढाकेका छन् । कथासंग्रहमा प्राध्यापक डा दयाराम श्रेष्ठको १३ पृष्ठको मन्तव्य रहेको छ । लामा कथामा हुनुपर्ने नितान्त सैद्धान्तिक गुणहरू कथावस्तुको आन्तरिक फैलावट र अन्तर्विषयको आयतनअनुसारको पात्र योजनालाई कथाले राम्ररी आत्मसात गरेको व्याख्या र दृष्टान्त दिँदै मन्तव्यकार श्रेष्ठले कथाकार प्रेरणा लामा कथाको शिल्पविधि वा शैलीमा मौलिकता दिन सफल रहेको पुष्टि गरेका छन् ।
कथासंग्रहको पहिलो र शीर्षक कथा गन्तव्य गणबहाल एक जँड्याहाको अर्को जँड्याहासित भेट गराएर सुरु हुन्छ । यस कथामा यौन र अल्कोहलले नेपाली समाजमा पारेको प्रभावलाई राम्ररी देखाएको छ । कथाभरि नै मुख्य पात्रहरू परपुरुष र परस्त्रीगमनमा उद्दत भएको सन्दर्भ देखिन्छ र त्यसले वैवाहिक जीवन ध्वस्त पारेकोे देखाइएको छ ।
लखपति अमर खतिवडा एक सडकछाप जँड्याहालाई एक दिन जाँड खान महंगो रेस्टुरेन्टमा लैजान्छ । तिनको जीवनकथाका अनुभव आदानप्रदान हुन्छ । दुवैका श्रीमतीहरू छाडा भएर आफूहरू पत्नीपीडित भएको प्रमाणित गर्न थप घटनागत प्रमाणहरू जुटाउँछन् । अमरले यो सडके जँड्याहासितको भेटपछि आत्महत्याको निर्णयलाई बदल्छ । तर ऊ एकाएक मरेको खबर आउँछ । यो सडके जँड्याहा अमरले दिएको पाँचहजारले निकै दिन जाँड खान्छ । एक दिन अफिसको हाकिमसित लागेर घर छाडेकी मदिराप्रेमी स्वास्नीले उसलाई पचास रुपैयाँ रक्सी खा भनेर दिन्छे । बाटोमा हिँडेकी बहुलाई आइमाईको स्वर परिचित लागे पनि ऊ आप्mनै पत्नी राधिकालाई चिन्दैन ।
खाने सिलसिलामा गणवहालको भट्टीमा खान जाँदा भट्टीको साहु जाँडले बेहोस भएको बेला साहुनीको इशारामा साहुनीसित रात बिताउँछ । कथा पढ्दै जाँदा यहाँनेर यो अस्वाभाविक लाग्छ । अर्को साँझ ऊ राधिकालाई ऊ फोहरको थुप्रोमा भेट्छ तर ऊ पिइरहेको मदिरा राधिकाले माग्दा पनि दिँदैन । भोलिपल्ट बिहान त्यहाँ हेर्दा फोहरको डंगुर र राधिका देख्दैन । केही महिनापछि ऊ फेरि गणबहालको त्यही पसलमा पुग्दा नेवार साहु मरेको र साहुनी विधवा भएको अवस्था देख्छ । ऊ पिउँछ । साहुनी उदास देखिन्छे तर पैसा लिन्न । आउँदै गर भन्छे । जँड्याहा गणबहालको त्यस भट्टीबाट निस्कन्छ । उसलाई निश्चित हुँदैन त्यहाँ यस जुनीमा ऊ आउँछ वा आउँदैन भनेर ।
दोस्रो कथाको शीर्षक इन्द्रलीला हो । कथा पढुन्जेल इन्द्र भन्ने पात्रलाई चिनेको जस्तो अभास हुन्छ । पाठकलाई । समाजमा यस्ता पात्रहरू हुन्छन् । इन्द्रसित लुकीलुकी उठबस गरेकी एक नारीपात्रले उसको लोग्नेलाई इन्द्र मरेको खबर सुनाएर कथा सुरु भएको छ । इन्द्रसित लागेकी नारी पात्र राधा हो । कथाकारले सुरुमा राधाको लोग्नेको नाम बसन्त भनेर उल्लेख गरेका छन् भने कथाको पछिल्लो भागबाट उसको नाम सुरज भएको छ । इन्द्रेकी स्वास्नी उमा मोहन भन्ने पात्रसित गोप्य सम्बन्ध राख्छे ।
इन्द्र मरेकै दिन बाहिरबाट रक्सी सेवन गरेर घर आएकी उमाले अस्पतालबाट फोन आउँदा पनि फोन उठाउँदिन । घरको फोनको तार छुटाउँछे र पछि आफै सम्पर्क गरेर अस्पताल पुग्छे । अन्ततः अघिल्लो कथामा जस्तै यसमा पनि पुरुषपात्र परस्त्रीगामी भएको छ । कथामा वसन्त वा सुरजले आफ्नी स्वास्नीको चरित्र चाल पाएको देखिन्छ । इन्द्रमात्र होइन, राधाको लोग्ने सुरज पनि छिमेकी ज्ञानुसित नजिकिएको छ । राधाको मनोविश्लेषणलाई राम्ररी चिरफार भएको छ यस कथामा ।
कथाको अन्त्यमा इन्द्रेकी स्वास्नी उमा राधाको घरमा आउँछे । उसले इन्द्रेलाई आफूले जीवनभरि माया गरेको भए पनि राधाले वास्तविक माया पाएकाले विधवा हुने हक राधालाई भएको भनेर सेतो पहिरनको पोको राधाको पोल्टामा हालिदिन्छे ।
तेस्रो कथाको शीर्षक कोख हो । यस कथामा एक चरित्रहीन युवक रुपेशको मायाजालमा परेकी नयनाको विवाहपछि कोख रित्तो भएको सन्दर्भ छ । नयना अविवाहित अवस्थामा रुपेशको मायाजातमा परेर गर्भवती हुन्छे र बाबुआमाले गर्भपतन गराएर उसको बिहे सञ्जयसित गराउँछन् । सञ्जयलाई यो घटना थाहा हुन्छ ।
नयनाले पटकपटक सन्तानको इच्छा गर्दा सञ्जयले म तिमीलाई पत्नीका रुपमा माया दिन्छु तर मेरो वंशको अन्तिम वृक्ष ममात्र हुन चाहन्छु । तिमीबाट सन्तान जन्माएर म मेरो सन्तानको नाम तिम्रो खराब चरित्रसित जोड्न चाहन्नँ भन्छ । सञ्जय रक्सीको लतमा हुन्छ । ऊ नयनालाई कुट्छ । जगल्ट्याउँछ । ऊ यन्त्रवत् हुन्छे । ऊ रिसाउन्न, उस्तै हँसिलीफरासिली हुन्छे । उसलाई आमा भएको हेर्नकै लागि नयनाका आमाबाबुले रक्सीमा तन्त्रमन्त्र गरेर सञ्जयलाई खुवाउन भनेर ल्याइदिन्छन् । नयना पटकपटक विवाहअघिको रुपेशसितको सम्बन्धलाई सम्झन्छे । विवाहित र दुई सन्तानको बाबु रुपेशले दिएको धोखालाई ऊ भुल्न सक्दिनँ ।
कथा अघि बढ्दै जाँदा सञ्जय अस्पतालमा रहेको खबर आउँछ । नयना पुग्दा ऊ मरिसकेको हुन्छ । विधवा नयनालाई भेट्न एक दिन रुपेश आउँछ । रुपेशकी श्रीमती र दुई सन्तान सवारी दुर्घटनामा मरेको सुनाउँदै सानो तेस्रो सन्तानलाई जिम्मा लिइदिन रुपेशले नयनालाई अनुरोध गर्छ । अन्ततः ऊ रुपेशको मातृविहीन सानो छोरालाई मातृत्व दिँदै रुपेशको पछि लागेर इलामतिर जान्छे ।
लस्कर शीर्षकको चौथो कथामा नेपालमा दश वर्षसम्म चलेको तत्कालीन सरकार र भूमिगत माओवादीबीचको सशस्त्र द्वन्द्वको सामाजिक प्रभाव देखाइएको छ । ससुरा विधुर छन् । बुहारी विधवा छिन् । कथा थोरै पात्र एकै मूल घटना राखेर राम्ररी तन्काइएको छ यो कथा । सानी सात महिनाकी विधवा हुन् । शिवराम अधबैँसे विधुर हुन् । गाउँले शिवराम र सानीमाथि शंका गर्छन् । विभिन्न ठाउँबाट सानीलाई पठाइदे भनेर उर्दी आउँछ । शिवरामले एक रात सानीलाई तयार होऊ भन्छन् । ऊ बुझ्दिन किन तयार होऊ भनेको भनेर । ससुराको नियतमाथि सानी शंका गर्छे । निकै छटपटिएका ससुराको मनोदशाको विश्लेषण सानी आफ्नै किसिमले गर्छे । यो अवस्थामा बूढो उमेरको ससुरालाई लोग्ने मानेर कसरी समाजमा मुख देखाउने भनेर उसलाई चिन्ता र त्रास हुन्छ । ससुराले पटकपटक सानीलाई पटकपटक तयार होऊ, ओछ्यानमा जाऊ भनेको सुनेर एकपटक त ऊ पेटिकोटको इँजार खोलेरै उभिन्छे । पछि फेरि ऊ सम्हालिन्छे ।
बस्तुभाउ सरसामान छाडेर गाउँका मानिसहरूसित शिवराम र सानी रातमा अज्ञात दिशाको यात्रामा लाग्छन् । राति बाटाका बस्तीमा बन्दुक पड्केको धुवाँ उडेको दृश्यबाट छलिँदै उनीहरू अघि बढ्छन् । शिवराम गाउँलेहरूसित जान चाहँदैनन् । हामी एक्लै कतै गएर बसौँ भनेर सानीलाई भन्छन् । सानी ससूराको त्यो रुप देखेर छक्क पर्छे । अन्ततः उनीहरू एक अनकन्टार बस्तीमा पुग्छन् जहाँ भर्खर दोहोरो भिडन्त सकिएको देखिने अवशेषहरू यत्रतत्र छन् ।
शिवरामले आफ्नो अविवाहित लठेप्रो भतिजसित विधवा सानीको विवाह गरिदिएर वंश बचाउने योजना गरेको रहस्य त्यहाँ पुगेपछि सानीलाई बताउँछन् । त्यो योजना चकनाचुर भएकोमा उनी सानीका अघि बालकझैँ धुरु रुन्छन् । शिवराम एकाएक चुप भएपछि शिवराम र सानी दुवैको दृष्टिमा एक अनिश्चितताको अन्तहीन लस्कर देखिन्छ ।
मिसेस लिङ र उनका चिसा हातहरू यस संग्रहको पाँचौँ कथा हो । यसमा चिनियाँ मूलकी ३२ वर्षकी थाइल्यान्डकी महिला लिङसित विन्दु नामक नेपाली पुरुषपात्रको भेट अमेरिकामा भएको देखाइएको छ । मर्निङवाकमा भेटिएकी लिङसित विन्दुको कुराकानीका क्रममा लिङले डिनरमा बोलाउँछे । ५२ वर्षको थाइ पति अमेरिकी जीवनमा व्यस्त भएकाले यौनमा चिसो हुन्छ र उसले लिङलाई पनि चिसो बनाएको हुन्छ । पटकपटक उसको निम्तो स्वीकार गरेका पुरुष पात्र विन्दु लिङको यौनतृप्तिको इच्छा पूरा गर्न लिङका पति थाइलैन्ड गएका बेला फिलाडेल्फियाको होटलमा लैजान्छन् ।
तेस्रो रात सपनामा बुद्ध भगवानले नराम्रो काम गरेको भनेर औँलो ठड्याएको सन्दर्भ कथामा उठान गरेर कथाकारले लिङको धार्मिक निष्ठालाई देखाउन खोजेका छन् । घर फर्केपछि लिङले एकपटक पनि पुरुष पात्रलाई नहेरी बिदा भएको सन्दर्भ छ ।
छैठौँ कथाको शीर्षक रहेको छ– सर मलाई सेक्स मन पर्दैन । ३५ वर्षीय बेरोजगार अधबैँसेलाई ७० वर्षका नेपाली मूलका अमेरिकी लेखकले काठमाडौँमा लिएको अन्तर्वार्ताबाट कथारम्भ भएको छ । ती लेखकलाई सहायकको आवश्यकता परेकाले उनले उपन्यास लेखुन्जेलका लागि ती महिलालाई चाहेका हुन् । महिला पात्रको नाम रेणृुका हो । ७० वर्षे उपन्यासकार गौरव शर्मा हुन् । गौरव शर्माको सहायक भएर रेणुका भैरहवामा बस्छे । यी उपन्यासकारमा यौनको तिर्खा छैन । यिनी विभिन्न देश घुमेका विभिन्न महिलासित शारीसिक सम्बन्ध कायम गरेका पुरुष हुन् । यिनले रेणुकासित आप्mनो जीवनका औपन्यासिक घटनालाई पत्रपत्र बताउँछन् । रेणुकाका कुरा पनि यिनलाई थाहा हुन्छ ।
भैरहवाबाट पाल्पा सरेपछि यिनी अमेरिका जाने योजनामा हुन्छन् । रेणुकालाई केही आर्थिक बन्दोबस्त गरिदिने यिनी आस्वासन दिन्छन् । रेणुकाले जीवनमा प्रेमपूर्ण यौनतृप्ति नपाएकाले उसमा सेक्सप्रति घृणाको भाव आउँछ । होटलमा कैयन महिना एकै कोठामा दुई बेडमा अलगअलग सुत्छन् बाबुछोरीजस्तै ।
पाल्पामा एक दिन यी दुईले ह्विीस्की खान्छन् । एकाएक रेनुका काँप्न थाल्छे । ऊ ती बूढालाई समात्छे । विस्तारै उसको व्यवहारले ती सत्तरी वर्षेको यौनभाव जागृत हुन्छ र एक पुरुष र नारीबीच हुनुपर्ने स्वाभाविक यौनिक प्रक्रिया हुन्छ ।
काठमाडौँ फर्केपछि ११ भाषामा कृति प्रकाशन गरेका उपन्यासकार गौरव शर्मा रेणुकासित विदा हुन्छन् एयरपोर्टका लागि । रेनुकाले जाने बेला उनीसित तिनको पेटमा उनको नासो हुर्किरहेको कुरा सुनाउँछिन् ।
तिनै गौरव शर्माले काठमाडौँमा रेनुकाको गर्भबाट छोरा प्राप्त गर्छन् चक्रवर्ती शर्मा । वास्तवमा पत्रकारसित अन्तरर्वार्ता दिँदा गौरव शर्माले आफूले विदेशको उडान छाडेर यहीँ बसेको बताउँछन् । एक महिला पत्रकारले सोधेका उनको जीवनबारेका विविध प्रश्नका उत्तर दिने क्रमबाट कथा सकिएको छ । सकिनु अघि उनले पत्रकारलाई एक प्रश्न गर्छन्– सेक्सबारे तपाईँको के धारणा छ । यस प्रश्नले रेनुका मरीमरी हाँस्छिन् । पत्रकार अलमल्ल पर्छिन् ।
जब म्यापलका पातहरू झर्न थाल्छन् शीर्षकको सातौँ कथामा मुख्यपात्र सुनिता र नीलिमा छन् । दुवै अमेरिकामा छन् । सुनिताको अमेरिकी संसारको यौनजीवन र यौनपात्र फेर्दै हिँडेको चरित्र छ । नीलिमा नेपालमा विश्वविद्यालय पढाउने अध्यापक हुन्छिन् । विश्वविद्यालयबाटै छानिएर यता आएकी हुन्छिन् तर नेपाल फर्कन्नन् । नेपालमा उनका पति विव्रmमले नीलिमकै बहिनी नीलमलाई अर्की पत्नी बनाउँछन् ।
नीलिमालाई कहिले जेसुकै होस् जीवन सहज बनाउँछु, गति छाड्छु जस्तो लाग्छ । एक अमेरिकी पात्र डेभिडसित लाग्न मन लाग्छ । तर सुनिताले माइकसितको सहवासमा गर्भवती भएपछि पाँचहजार डलरको चेक लिएर उसलाई छाडिदिन्छे सोही साँझ ऊ डेभिडसित रात बिताउँछे । सुनीता र नीलिमा दुवै मदिरा पिउँछन् । रमाउन, पश्चिमी समाजको नारी स्वतन्त्रताको उपयोग गर्न र नेपालको सम्झनालाई भुल्न । यसमा पनि धेरै अरु पात्रहरू छन् ।
एक साँझ रजनी भन्ने नेपाली पात्रले नेपाली खाना गुन्द्रुकमस्यौराको तरकारीको स्वाद सम्झेर नीलिमा र आफू दुवैको नारी अस्मिता जोगाउन पुग्छन् । एकै अपार्टमेन्टमा बस्ने रजनीलाई नीलिमाले साँझ गुन्द्रुक मस्यौरा पकाएर भात खाने प्रस्ताव राखेकी हुन्छे । तर रजनीले नआउने कुरा दिउँसो फोनमा बताउँछे । जुन साँझ नीलिमाले नेपालको पारिवारिक जीवनको कहालीलाग्दो चित्र सम्झेर डेभिडसित जान डेभिडलाई बोलाएकी हुन्छे सोही साँझ रजनीले पिकनिक जाने भनेर नीलिमालाई ढाँटेर मेक्सिकनको अनुरोधमा उसकोमा जाने निधो गरेकी हुन्छे । तर एकाएक उसको विचार बदलिन्छ । उसले फेरि नीलिमालाई फोन गरेर घरै आउने बताएपछि नीलिमा पनि डेभिडको फोन नउठाउन भन्दा फोन नै बन्द गरिदिन्छे । नीलिमा र रजनीको साँझको भेटपछि कथा सकिन्छ ।
पुस्तकमा रहेको अन्तिम कथा रगत शीर्षकमा छ । यसमा सुरिताका आमाछोरी नेपालमा हुन्छन् । क्यानाडाबाट बीस वर्षमा नेपाल आएका भाइबुहारीको भैँसेपाटीमा उनीहरूले स्वागत गर्छन् । भाइले भान्जी कितानीको बिहे क्यानाडामा रहेको एक चिनेजानेको मान्छेसित गरिदिने प्रस्ताव दिदीसित राखेपछि सुरिताले आफ्नो जीवनको पूर्व घटनालाई सम्झेको दृश्यमा बाँकी कथा बगेको छ ।
सुरितालाई जर्मनमा बस्ने अजितले नेपाल आएर विवाहको कुरा गरेको हुन्छ । पहिलो भेटमै कुमारित्वबारे कुरा उठाउँछ । युरोपमा बसेको मान्छे हुनाले यतिको खुल्नु स्वाभाविक ठानेर उसले सहज रुपमा लिन्छे । विवाहपछि पनि उसले कुमारी थियौ त भनेर सोध्छ । अजितले जर्मन लैजान्छ । उता पुगेपछि जर्मनमा उसले बिहे गरेर बच्चा जन्माएको, स्वास्नीले छाडेको जस्ता कुरा थाहा पाउँछे । एक दिन उसले अजितसित सोध्छे उसलाई अजितले किन कुमारी नै थियो भनेर पटकपटक सोधेको भनेर । यसबाट उसले नारी अस्मितालाई पुरुषले खेल सम्झने गरेकोमा आक्रोश हुन्छ । ऊ अजितको गर्भ बोकेर नेपाल आउँछे कहिले नफर्कने गरी । अजित सुध्रियो, साधु भयो नेपाल आएको छ भनेर अरुले भने पनि ऊ अजितलाई घृणा नै गर्छे । भेट्न चाहन्न । समाजसेवी बनेर समाजमा ख्याति कमाउँछे । छोरी कितानीको जीवन उसको तरिकाले चलोस् ता कि आमाले जस्तो विवाहपछि पश्चात्तापमा नपरोस् भन्ने चाहन्छे ।
साझा प्रकाशनले प्रकाशकीयमा लेखेजस्तो अमेरिकी पृष्ठभूमिमा नेपाली जनजीवनको कथा अधिकांश कथामा पाइँदैन । बरु विशुद्ध नेपाली पात्र, नेपाली समाज र नेपाली भौगोलिक परिवेश अधिकांश कथामा कथामा छन् । आठमध्ये पाँच कथाहरूले नेपाली भूगोलको सेरोफेरोलाई समेटेका छन् । सबै कथामा अनेकन् पात्र छन् । थुप्रै उपकथाहरू छन् । नारीपात्रले यौनतृप्ति गर्न अपनाएको मार्गलाई कथाहरूमा विभिन्न रुपमा देखइएको छ । पुरुषपात्र यौनमा दोषी देखिए पनि नारीपात्रको यौनचरित्रलाई पुस्तकले खुलस्त पारेको छ ।
पात्रहरूलाई सान्दर्भिक रुपमा कथामा प्रवेश गराइएको छ । कथाकारले रक्सीको नसा र यौनको नसालाई कथाकारले मानवीय जीवनको एक अभिन्न अंगजस्तो बन्दा भएको सामाजिक समस्या कथामा देखाएका छन् । सरल शब्दहरू, कल्पनशीलता र विषयवस्तुको आख्यानीकरणले गर्दा कथा लामा भए पनि पठनीय छन् । दुईवटा कथा पढिसक्दा भने कथाका सबै घटनाक्रम र पात्रहरूको स्वभावबारे सम्झना गर्न प्रायः पाठकलाई हम्मे पर्छ ।
(समीक्षक लामिछानेका नेपाली, अंग्रेजी र स्पेनिस भाषामा कविता, कथा, किशोर उपन्यासलगायत आठ पुस्तकहरु प्रकाशित छन् । संगालो मासिक काठमाडौँ, नेपाली लिङ्क मासिक (सिडनी अस्टेलिया) काठमाडौँ स्काउट द्वैमासिक पत्रिकालगायत अन्य विभिन्न विधाका पुस्तकहरुको सम्पादक रहेका लामिछाने नेपालमा रहँदा शिशिर शर्माका नामले सन् १९९२ देखि दैनिक तथा साप्ताहिक पत्रिकाहरुमा नियमित सम्वाददाता एवं स्तम्भलेखकका रुपमा सक्रिय थिए । उनी हाल सपरिवार भर्जिनियामा बसोवास गर्छन् ।)
प्रतिक्रिया