प्रहरीको उत्तरी मिसन सफल भएको जिकिर

इनेप्लिज २०७१ चैत २९ गते ४:३० मा प्रकाशित

300px-Dhading_district_locationगजुरी (धादिङ), २९ चैत । उत्तरी धादिङमा आतङ्क मच्चाइरहेकाहरुलाई प्रहरीले एकपछि अर्को गर्दै पक्राउ गरेपछि उत्तरी धादिङको अभियान सफल भएको प्रहरीले जिकिर गरेको छ ।

हत्या अभियोग लागेर गाउँमै लुकीछिपी बसिरहेका र एकपछि अर्को घटनामा संलग्न हुँदै आएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेपछि दार्खालगायत गाउँमा शान्ति छाएको छ । पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय धादिङले आपराधिक क्रियाकलाप गरी फरार भएकाहरुलाई धमाधम पक्राउ गर्न थालेपछि त्रासको अन्त भएको प्रहरी नायब  उपरीक्षक प्रकाश मल्ले बताउनुभयो ।

दुई वर्षअघि धादिङको दार्खा – ७ को खुर्सानीबारीका ४२ वर्षीय जेम्स अनारसलाई धारिलो हतियार प्रहार गरी फरार भएका दार्खा – ८ सल्लेरीका २४ वर्षीय मैचा भनिने मेघबहादुर घले (तामाङ) लाई प्रहरीले यही चैत २६ गते पक्राउ गरेको छ । दार्खा – ७ का २७ वर्षीय भीषण सिंखडाको २०६९ मङ्सिर १८ गते दार्खा – १ रातमाटेमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको आरोपमा कर्तव्य ज्यान मुद्दा  लागेपछि फरार वीरबहादुर भनिने २८ वर्षीय कैलाश तामाङ र दार्खा– ६ का १९ वर्षीय  गङ्गालाल तामाङलाई समेत समातिएको छ । मेघबहादुरलाई सिंखडाको हत्याको पनि आरोप लागेको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङले सिंखडाकै हत्यामा संलग्न भएका रामबहादुर भनिने १९ वर्षीय अदित तामाङलाई गत वर्ष माघ १८ गते धादिङको रि गाविसबाट जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । इलाका प्रहरी कार्यालय दार्खाका  प्रहरी सहायक निरीक्षक रामसरोवर सिंहको नेतृत्वमा खटिएको प्रहरी गस्तीले दुई वर्षदेखि लुकीछिपी फरार भएका अभियुक्त दुई जनालाई पक्राउ गर्न सफल भएको थियो ।

प्रतिक्रिया