चाडपर्वमा प्रहरीद्वारा सुरक्षा व्यवस्थामा कडाई

इनेप्लिज २०७४ असोज २६ गते १४:०२ मा प्रकाशित

शिशिर सिंखडा
खोलेसिमल, चितवन, २६ असोज ।
चाडपर्व लगायत विभिन्न समयमा हुनसक्ने आपराधिक घटना नियन्त्रण गर्न प्रहरीले “प्रहरी हाम्रो टोलमा” अभियान शुरु गरेको छ । चाडपर्वको अवसर पारेर हुनसक्ने चोरी तस्करी, लुटपाट, डकैती, कालोबजारी, जुवातास लगायतका सामाजिक विकृति रोकथाम गर्न प्रहरीले अभियान थालेको छ ।

प्रहरीले चाँडो भन्दा चाँडो आपराधिक घटना नियन्त्रण गर्न “प्रहरी हाम्रो टोलमा” अभियान शुरु गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी बासुदेव खतिवडाले बताए । चाडपर्वको मौका छोपी हुने कालोबजारी, अस्वभाविक मूल्यवृद्धि, कृत्रिम अभाव जस्ता क्रियाकलाप नियन्त्रण गर्न पनि प्रहरीलाई सक्रिय राखिएको उनले बताए । जबरजस्ती चन्दा संकलन, सडक अवरोध, चिठ्ठा उपहाराबाट हुने ठगी, चाडपर्वमा पटका, आतसबाजी नियन्त्रण गर्न पनि प्रहरी सक्रिय रहेकोले जस्तोसुकै घटनाको पनि तत्काल प्रहरीलाई खबर गर्न समेत खतिवडाले अनुरोध गरे ।
इलाका प्रहरी कार्यालय टाँडीद्वारा आज बिहिबार पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा डिएसपी खतिवडाले मापसे गरी सवारी चलाउने, तीव्र गतीमा सवारी हाँक्ने, क्षमता भन्दा बढी यात्रु राखी ओसारपसार गर्ने कार्य नियन्त्रण गर्न पनि स्थानीयले प्रहरीलाई सहयोग गर्न अनुरोध गरेका थिए ।

लागुऔषध दुव्र्यसनीबाट आफ्ना बालबालिकालाई सजग र सतर्क गराउन अभिभावकहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भन्दै डिएसपी खतिवडाले घरेलु मदिरा उत्पादन, विक्री वितरण र मादक पदार्थ सेवनलाई पूर्ण रुपमा निरुत्साहित गर्न सबैलाई अनुरोध समेत गरेका थिए । सामाजिक सञ्जाल आदिको प्रयोग गर्दा अपरिचित व्यक्तिबाट हुन सक्ने साइबर क्राईमबाट समेत सचेत रहन उनले सबैलाई अनुरोध गरेका थिए । स्थानीय रुपमा हुन सक्ने हरेक क्रियाकलापमा प्रहरीलाई तत्काल खबर गर्न पनि उनले सबैलाई आग्रह गरेका थिए ।

सोही अवसरमा खोलेसिमल बजारबाट शुरु भएको सचेतना ¥यालीले बजार हुँदै कमलचोक पुगेर पुनः खोलेसिमल बजारमा ¥याली समापन गरेको थियो । स्थानीय व्यवसायी, टोल विकास संस्था, नगरपालिकाका जनप्रतिनिधि लगायतका सहभागीता रहेको कार्यक्रममा कालिका नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बिनोद रेग्मी, वडा सदस्य बालकृष्ण अधिकारी, सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भुपेन्द्र अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

इलाका प्रहरी कार्यालय टाँडीले यस अगाडि पनि रत्ननगर नगरपालिकाका विभिन्न वडाहरुमा सो अभियान गरिसकेको छ भने रत्ननगर र कालिका नगरपालिकाका सबै वडाहरुमा सो अभियान गरिने बताइएको छ ।

प्रतिक्रिया