बाँकेमा सहकारी सङ्घसंस्था खुल्नेक्रममा वृद्धि

इनेप्लिज २०७१ चैत २४ गते ३:०९ मा प्रकाशित

खजुरा (बाँके), २४ चैत । जिल्लामा सहकारी सङ्घसंस्था खुल्ने क्रममा वृद्धि भएको छ । जिल्लामा सहकारी संस्था खुल्ने क्रम वृद्धि भएसँगै रोजगारीको अवसर पनि बढेको छ ।

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका अनुसार हालसम्म जिल्लामा सहकारी संस्थाको सङ्ख्या ४३५ वटा छन् । जिल्लामा रहेका यी सहकारी सङ्घसंस्थामा दुई हजार ८८४ ले प्रत्यक्ष रुपमा रोजगारी पाएको सो कार्यालयका प्राचार्य प्रकाश पौडेले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा दर्ता भई सञ्चालनमा आएका सहकारी सङ्घसंस्थामा बहुउद्देश्यीय प्रारम्भिक सहकारी संस्था १००, कृषिमा आधारित १९३, बचत तथा ऋण सहकारी संस्था ९७ र दुग्ध सहकारी संस्थामा सात रहेका छन् ।

यसैगरी उपभोक्ता सहकारी संस्था आठ, विद्युत् सहकारी संस्था तीन, सञ्चार सहकारी एक, पशुपालन सहकारी तीन, स्वास्थ्य तीन, मजदुर/श्रमिक सहकारी एक, पशुपालन÷पशुपक्षी सहकारी चार, तरकारी तथा फलफूल सहकारी ६, वन तथा जडीबुटी र वातावरणसम्बन्धी ६ वटा रहेका छन् ।

पौडेलका अनुसार जिल्लामा दर्ता भई सञ्चालनमा आएका सहकारी संस्थामा करिब रु दुई अर्ब चार करोड १६ लाख ९२ हजार लगानी भएको पाइएको छ । जिल्लामा रहेका सहकारी संस्थामध्ये १४८ सक्रिय, ११४ निस्क्रिय र अति निस्क्रिय सहकारी संस्थाको सङ्ख्या ८३ वटा छन् भने सुधारोन्मुख सहकारी संस्था २८५ वटा छन् । जसमा नियमित वार्षिक साधारणसभा गर्ने सहकारीको संस्था १४० वटा मात्र छन् । महिलाद्वारा सञ्चालित सहकारीको सङ्ख्या मात्र ५५ वटा छन् ।

प्रतिक्रिया