बहुचर्चित तर, लोपोन्मुख ‘ठाडो भाका’ का एकमात्र मुर्धन्य व्यक्तित्व भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको दुखद निधन भएको छ । ठाडोभाका सम्राट शिरोमणी ८४ वर्षीय गायक भेडीखर्के साइँला एक महिनायता विरामी परेका थिए । उनको आज (सोमबार) साँझ ५ बजेतिर निधन भएको ठाडोभाका लोककला प्रतिष्ठानका सचिव कृष्ण आलेले जानकारी दिए । लमजुङमा उपचार हुन नसकेपछि एक साताअघि उनलाई काठमाडौंस्थित बीर अस्पताल लगेर उपचार गराई पुन लमजुङ फर्काइएको थियो । सुन्दरबजारस्थित जेठीछोरी र ज्वाइँको घरमा उनको निधन भएको हो । स्वार्गीय भेंडीखर्केले आइतबार साँझदेखि पानी समेत खान छोडेका थिए घरायसी आर्थिक समस्याले गर्दा राम्रो उपचार पाउन सकेनन् । उनको उपचारका लागि परिवार साथै ठाडोभाका लोककला प्रतिष्ठानले सरकारसंग माग गरेपनि कुनैपनि निकायले वास्ता नगरेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताए । उनले भने गण्डकी अञ्चलमै चर्चित रहेको ठाडोभाकाको एकमात्र अभियन्ता भेडीखर्केले संसार छोडेर जानुभयो उहाँ हाम्रो सामु रहनुभएन । उनले भने उहाँको निधनले राष्ट्र र लोक कलाको क्षेत्रमा अपुरणिय क्षति पुगेको छ । भेडीखर्केका १ छोरा र ३ छोरी छन् । घरमा छोरा भएपनि छोराले वास्ता नगर्ने गरेको स्थानीयको भनाई छ । भेडीखर्केका ज्वाइँ शम्सेर लौडारीका अनुसार एक सातादेखि उनले खाना खाएका थिएनन् । पानी पनि दिनमा मुस्किलले एक कप खाने गरेको बताए ।
https://www.youtube.com/watch?time_continue=2&v=k_d99hES9QU
प्रतिक्रिया