कवियत्री तथा गीतकार शान्ता अधिकारी घिमिरेको दुई कृति विमोचित

इनेप्लिज २०७४ साउन ३१ गते २२:२१ मा प्रकाशित

अमेरिकाको न्यूजर्सीमा बस्दै आएकी कवियत्री तथा गीतकार शान्ता अधिकारी घिमिरेको दुई कृति आइतबार काठमाडौँमा एकैसाथ विमोचन गरिएको छ । कलाकार समन्वय संघ, नेपालको आयोजनामा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा अधिकारीको कृतिहरु” कर्मभूमिको फूलू” कविता सङ्ग्रह र “भगवान खोज्दैछु” भिडियो गीति एल्बम सामूहिक लोकार्पण गरिएको हो ।

विशिष्ट अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बास्कोटा, बरिष्ट साहित्यकार उषा शेरचन, कवि, गीतकार डा नवराज लम्साल, गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटा, लगायतले सामूहिक रुपमा कृतिको विमोचन गर्नुभएको थियो ।

प्रमुख अतिथि शताब्दी पुरुष जोशीले शान्तले लेख्नु भएको “कर्मभूमिको देशबाट” पुस्तकले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिकरण गर्न सघाउ पुग्ने धारणा व्यक्त गर्नुभयो । विदेशमा बसेर नेपालको माया गर्ने धेरै नेपाली भएपनि कतिपयले नेपाललाई गालि गरेर नेपालमा के छ भन्ने खालको वितृष्णा फैलाउने काम गर्ने गरेको सन्दर्भ जोड्दै कवि अधिकारीले पुस्तकमा उतारेको शब्दका भावले देशको माया कति छ भन्ने कुराको उजागर गरेको बताउनु भयो ।

विशिष्ठ अतिथि डा लम्सालले अधिकारीको कर्मभूमिको फूल कविता संग्रहको समिक्षा गर्नुभएको थियो । चर्चा, हल्ला, लोकप्रियता र अराजकता बीच गुज्रिरहेको नेपाली साहित्यमा शान्ताको कविता संग्रह उत्कृष्ट सम्भावना बोकेको पुस्तक रहेको बताउनु भयो । उहाँले कतिपय ठाउँमा छन्द भंग भएको टिप्पणी गर्दै लेखेका जति सबै रचनालाई समेट्न खोज्दा यस्तो समस्या आएको भन्दै आगामी दिनमा प्रकाशन गर्नुअघि उत्कृष्ट रचना छनौट गरी राम्रो समिक्षा र समालोचना गर्न पनि सुझाव दिनुभएको थियो ।

वरिष्ठ समालोचक तथा साहित्यकार उषा शेरचनले अधिकारीको ‘भगवान खोज्दैछु’ म्युजिक भिडियो एल्बमको समिक्षा गर्नुभएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि संगितकार बास्कोटा, वरिष्ठ समालोचक लीला लुईंटेलले पनि कवियत्री तथा गीतकार शान्ता अधिकारीको कृतिमाथि आफ्नो धारणा राख्नुभएको थियो ।

सङ्गीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष, पत्रकार साहित्यकार टंक सुब्बा, बरिष्ट समालोचक खगेन्द्र लुइँटेलका साथै विभिन्न मिडियाबाट उपस्थित पत्रकार, कलाकारहरु पनि अतिथिका रुपमा सहभागी भएका थिए ।

सो अवसरमा आयोजक संघको तर्फबाट कवियत्री तथा गीतकार शान्ता अधिकारी घिमिरेका साथै म्यूजिक भिडियोका कलाकार तथा भिडियो बजारमा ल्याउने बिन्दावासीनी म्युजिक कम्पनीलाई सम्मान गरिएको थियो । रेडियो हिमालयले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो ।

समाचार तथा तस्बिरको लागि कृतज्ञता संसार न्युजडटकम लाई 

प्रतिक्रिया