बाबियाचौर (म्याग्दी), १० चैत । फागुन अन्तिम सातासम्म भएको हिमपात र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको टर्किस एयरको विमान दुर्घटनाका कारण म्याग्दीका पर्यटकीय स्थलमा पर्यटक आगमन प्रभावित बनेको छ ।
वसन्त ऋतुसँगै मुख्य पर्यटकीय याम सुरु भए पनि म्याग्दीको भुरुङ तातोपानी, घोरेपानी, पुनहिललगायत स्थलमा पर्यटक आगमन उल्लेख्य रुपमा वृद्धि हुन सकेको छैन । गत वर्ष यस याममा दैनिक ५०० पर्यटक भित्रने म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोरेपानीमा हिजोआज दैनिक डेढ सयको अनुपातमा पर्यटक आउने गरेको घोरेपानी होटल व्यवसायी सङ्घका सचिव भीम पुनले बताउनुभयो ।
उहाँका अनुसार प्रतिकुल मौसम, थोराङ्ला भञ्ज्याङ र उपल्लो मुस्ताङमा भएको हिमपात तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरको विमान दुर्घटना भई केही दिन उडान ठप्प हुँदा यो याममा भ्रमणमा आउने पर्यटकको सङ्ख्या सन्तोषजनक हुन नसकेको हो । घोरेपानी र आसपासका क्षेत्रको जङ्गलमा विभिन्न प्रजातिको लालीगुराँस फुलेर रङ्गीविरङ्गी बनेकाले मनमोहक दृश्य अवलोकनका लागि यो याम उपयुक्त मानिन्छ । घोरेपानीसँगै म्याग्दीको टोड्के, मोहरेडाँडा, खोप्रा लेक क्षेत्रको जङ्गलमा ढकमक्क लालीगुँरास फुलेर अहिले मनमोहक वातावरण बनेका छन् ।
प्रतिक्रिया