बाल्टिमोर,अमेरिका, फेब्रुअरी २१ | आफ्नो दुवै मृगौलाले काम गर्न छाडेपछि अशक्त बनेकी एक महिलाको मृगौलाको प्रत्यारोपण कार्यमा सहयोग गर्न अहिले विश्वका विभिन्न
मुलुकका नेपालीहरु जुटेका छन् |
ओखलढुंगा जिल्ला बर्णालु-१ हाल सिद्धिचरण नगरपालिका सानीटार निवासी ४१ वर्षीया पोकलकुमारी दाहाल आफ्नो परिवारको विपन्न अवस्थाका कारण हाल मृगौला प्रत्यारोपण जस्तो महँगो र जटिल शल्यक्रियाका लागि संघर्षरत छिन् | उनको मृगौला प्रत्यारोपण र डायलासिस कार्यका लागि सहयोग पु-याउन विशेष गरी ओखलढुंगा जिल्लाका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुले पहल गर्दै आएका छन् | यसमा पनि खाडी मुलुकमा रहेका ओखलढुंगेहरुले फेसबुकमा पोकलकुमारी बचाउ अभियान नाममा एक पेज नै खोलेर सहयोग जुटाउदै आएका छन् | सोही पेजमार्फत अहिलेसम्म संकलित रकम र हस्तान्तरण गरिएको रकम बारे पनि आवश्यक जानकारी दिने गरिएको छ |

यसैबीच सोही पेजमार्फत जारी अभियानलाई सहयोग पुर्याउन अमेरिकामा रहेका ओखलढुंगेहरुले पनि पहल गरेका छन् | अमेरिकावासी पत्रकार गौतम दाहाल र विद्यार्थी विराज भण्डारीले आफ्ना निकट साथीहरुसंग अनुरोध गरी संकलन गरेको कूल ५२ हजार नौ सय २० रुपैयाँ आज रत्नप्रसाद दाहाललाई प्रदान गरिएको छ | सहयोगदाताहरुका तर्फबाट प्रतिनिधित्व गर्दै आज भक्तपुर अस्पताल पुगेका भानु दाहालले सो रकम रत्नप्रसाद दाहाललाई प्रदान गरेका हुन् | रकम बुझ्दै रत्नप्रसादले सबै सहयोगीलाई ‘मुरीमुरी धन्यवाद भनिदिनु है’ भनेको भानु दाहालले बताएका छन् | यो रकम गौतम दाहाल,विराज भण्डारी,राजु गुरुङ,अजित गुरुङ,अर्जुन काफ्ले र पेशल बाँस्तोलाबाट संकलन भएको थियो |
गत वर्षको विनाशकारी भूकम्पले दाहाल परिवारलाई घरबिहीन बनाइ दिएपछि आर्थिक अभावमाथि अर्को बज्रप्रहार सहनु परेका उनीहरु हाल भक्तपुर अस्पताल नजिक भूकम्प पीडितले छाडेको टिनको जस्तापाताले बारेको एक चिसो छिंडीमा रात बिताउदै आएका छन् | पोकलकुमारीकी ७० वर्षीया वृद्ध आमाले आफ्नी छोरीलाई मृगौला दिने सहमति जनाएर अहिले त्यसका लागि विभिन्न परीक्षण जारी रहेको बुझिएको छ | मृगौला प्रत्यारोपण सफल भएपछि पनि नियमित महँगो औषधी सेवन गर्नुपर्ने चिकित्सकहरुको भनाईले गरीबीको पीडामा ज्याला,मजदूरी गरेर जीविकोपार्जन गर्ने रत्नप्रसाद (रोहित) र उनको परिवारका लागि आर्थिक अभावले थप मानसिक पीडा दिएको छ | तैपनि पति रत्नप्रसाद भन्छन्,-‘धेरैले सहयोग गर्नु भएको छ, जहानलाई बचाउन सके गाउँ फर्केर दु:खजिलो गरेर बस्ने थियौं |’ उनले सबै सहयोगी मनका धनीहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् | ‘सबैलाई हाम्रो धन्यवाद, तपाईंहरु सबैको आशिर्वाद लागोस्, मेरो जहान बचाउनका लागि सहयोग गर्नेहरु हाम्रा लागि भगवान हुनुहुन्छ |’
प्रतिक्रिया