
ऋषि थपलिया (प्रस्तोता): नमस्कार, जनता जान्न चाहन्छन्मा स्वागत छ। म ऋषि थपलिया। बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले केपी शर्मा ओली, शेरबहादुर देउवादेखि गगन थापा सम्मका धोरन्धर खेलाडीहरूलाई राजनीतिक रूपमा विस्थापित नै गरिदिएको छ। शक्तिशाली सरकारले पुराना काण्ड र अनियमितताका फाइल खोतल्न थालेपछि वर्षौँदेखि सत्तामा रहेका धेरै अनुहारहरू झस्किएका छन्। यिनै विषयमा कुरा गर्न आज हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद रामहरि खतिवडा। स्वागत छ यहाँलाई।
रामहरि खतिवडा (अतिथि): धेरै-धेरै धन्यवाद ऋषिजी। तपाईंसँग धेरै पछाडि भेट भयो। तपाईंको यो कार्यक्रम असाध्यै पपुलर भइराखेको छ।
ऋषि थपलिया: रामहरि जी, “नाम होस्, बदनाम होस्, गुमनाम नहोस्” भन्थे। तपाईं एक समय राष्ट्रिय राजनीतिमा नाम कमाउनुभयो, राज्य व्यवस्था सुशासन समितिको सभापति हुँदा कलङ्कको टिका लगाउनुभयो र बदनाम हुनुभयो। अहिले गुमनाम हुनुहुन्छ, कहाँ हराउनुभयो? मान्छेहरूले तपाईंलाई ‘कुलिङ पिरियडका कुलङ्गार’ समेत भने।
रामहरि खतिवडा: कति मिठो कुरा गर्नुभयो! यो ‘कुलिङ अफ पिरियड’ भन्ने शब्दको प्रादुर्भाव गर्ने नै म हुँ। हामीले निजामती कर्मचारी ऐनमा ३० वर्ष सेवा गरेका सचिवहरू अवकाश पाएपछि दुई वर्षसम्म कतै नियुक्ति लिन नपाउने प्रावधान राख्यौँ, जसका कारण सचिवहरू लस्कर लागेर प्रधानमन्त्री र सभामुखकहाँ डेलिगेसन गए। म जति समय राज्यसत्तामा बसेँ, इतिहासमा गर्व गर्न लायक काम गरेर आएको छु। म जनताकै माझमा छु, राजनीतिमा दिनपछि रात र रातपछि दिन भइरहन्छ, यो समयको चक्र हो।
ऋषि थपलिया: कुलिङ पिरियडमा तपाईंले चलखेल र सेटिङ गरेर रकम हिनामिना गर्नुभयो, त्यसैले जनताले तपाईंलाई कुलिङ पिरियडमै राखेर निवर्तमान बनाइदिए! अहिले सरकारले भ्रष्टाचारीहरूलाई झ्याप-झ्याप समात्दै ठुला माछा पक्राउ गरिरहेको छ, सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गर्दैछ, तपाईंको मुटुको धड्कन त बढेको छैन? पक्राउ पर्ने लिस्टमा तपाईंको नाम पनि छ रे नि?
बेद प्रसाद घिमिरे
प्रतिक्रिया