
काठमाडौँ, असार ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी प्रथम ऐतिहासिक महाधिवेशनमा ओखलढुङ्गाका युवा नेता राजन दाहालले खुलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टी स्थापना दिवसको अवसर पारेर आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुन लागेको राष्ट्रिय महाधिवेशनमा नेता दाहालले केन्द्रीय नेतृत्वका लागि आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका हुन्।
विगतको स्थानीय तह निर्वाचनमा ओखलढुङ्गाको मोलुङ्ग गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी उम्मेदवार रहेका दाहाल निर्वाचन लगत्तै नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। कांग्रेसभित्र लामो समय सक्रिय राजनीतिक अनुभव बटुलेका दाहाल समसामयिक राजनीतिक रूपान्तरण र वैकल्पिक राजनीतिको आवश्यकता महसुस गर्दै रास्वपाको अभियानमा जोडिएका हुन्। ओखलढुङ्गा र समग्र पहाडी जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्रीय राजनीतिमा अग्रसर भएका दाहालले रास्वपाको केन्द्रीय नीति निर्माण तहमा पहाडी तथा दुर्गम क्षेत्रका नागरिकका वास्तविक समस्या, विकासका मुद्दा र जनआवाजलाई प्रखर रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारेका छन्।

“घण्टी बजाऔँ, परिवर्तन जिताऔँ” भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएका दाहालले पार्टीलाई जनमुखी र सुशासित बनाउन इमानदार नेतृत्व, बेथिति विरुद्धको स्वच्छ राजनीति र जनताको आवाजलाई मुख्य संकल्प बनाएका छन्। चितवनको भरतपुरमा राष्ट्रियस्तरमा आयोजना हुने यस ऐतिहासिक महाधिवेशनले पार्टीको नयाँ वैचारिक दिशा र नेतृत्व चयन गर्नेछ। यसै सन्दर्भमा नेता दाहालले देशभरिबाट चुनिएर आउने महाधिवेशन प्रतिनिधि तथा शुभचिन्तकहरू माझ आफ्नो एजेन्डासहित अमूल्य मत र सहयोगका लागि अपिल गर्दै आन्तरिक चुनावी प्रचारप्रसार र गृहकार्यलाई तीव्र पारेका छन्।
बेद प्रसाद घिमिरे
प्रतिक्रिया