
क्यानडामा कार्यरत नेपाली वैज्ञानिक डा. सङ्गीता धौभडेललाई वनस्पति विज्ञान क्षेत्रमा गरेको ऐतिहासिक अनुसन्धानकालागि क्यानडा सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित ‘२०२६ गोल्ड हार्भेस्ट अवार्ड फर इनोभेसन’ बाट सम्मानित गरिएको छ।
क्यानडा सरकारले प्रदान गरेको उक्त पुरस्कार डा. धौभडेललाई सोयाबिन (भटमास) बिरुवाको प्रतिरक्षा प्रणालीसँग सम्बन्धित ५० वर्षभन्दा बढी समयदेखि अनुत्तरित रहेको वैज्ञानिक रहस्य समाधान गरेको योगदानको कदरस्वरूप प्रदान गरिएको हो। उनको अनुसन्धानले सोयाबिनले रोगसँग कसरी प्रतिरोध गर्छ भन्ने विषयमा नयाँ वैज्ञानिक तथ्य उजागर गर्दै कृषि उत्पादन, दिगोपना र मानव स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण सम्भावना सिर्जना गरेको छ।
विश्वका अग्रणी अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित अनुसन्धानमा डा. धौभडेल र उनको टोलीले ‘ग्लाइसिओलिन्स’ नामक प्राकृतिक यौगिक उत्पादनमा संलग्न प्रमुख इन्जाइमहरू पहिचान गरेका छन्। यी यौगिकहरूले सोयाबिनलाई विभिन्न रोगहरूबाट जोगाउन मद्दत गर्नुका साथै मानव स्वास्थ्यका लागि पनि लाभदायी हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ।

विशेषज्ञहरूका अनुसार यस खोजले विश्वभर बालीमा लाग्ने रोगका कारण हुने अर्बौं डलर बराबरको क्षति न्यूनीकरण गर्न सहयोग पुर्याउन सक्छ। साथै रासायनिक विषादी तथा अन्य कृषि रसायनको प्रयोग घटाउन मद्दत पुग्ने भएकाले वातावरणमैत्री तथा दिगो कृषिको प्रवर्द्धनमा समेत यसको महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ।
डा. धौभडेलको उपलब्धिलाई वैज्ञानिक समुदायले कृषि तथा जैविक विज्ञान क्षेत्रमा पछिल्ला वर्षहरूको महत्वपूर्ण खोजमध्ये एकका रूपमा लिएको छ। उनको अनुसन्धानले विज्ञान र नवप्रवर्तनमार्फत समाज, कृषि क्षेत्र तथा मानव जीवनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्न सकिने उदाहरण प्रस्तुत गरेको छ।
यो सम्मानले अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायमा नेपाली मूलका अनुसन्धानकर्ताहरूको योगदानलाई थप उजागर गरेको छ भने विज्ञान तथा नवप्रवर्तन क्षेत्रमा नेपाली समुदायका लागि समेत गर्वको विषय बनेको छ।
प्रतिक्रिया