छैठौँ सातामा ‘लालीबजार’ : डेनमार्कबाट हुँदैछ डायस्पोरा प्रदर्शनको सुरुआत

इनेप्लिज २०८३ जेठ २९ गते ९:५६ मा प्रकाशित

काठमाडौँ ।

गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि प्रदर्शनको छैठौँ सातामा प्रवेश गरेको छ । यो वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शन भएका अन्य नेपाली फिल्म भन्दा ‘लालीबजार’ निकै अगाडि देखिएको छ । साथै, घरेलुबजारमा ९ करोड बढी ग्रस कलेक्सन गरिसकेको ‘लालीबजार’ को यात्रा १० करोड क्लबतर्फ अगाडि बढेको छ । फिल्मले छैठौँ सातामा प्राप्त गरेको शो सङ्ख्याले यसको यात्रा १० करोडमा पुग्ने सुनिश्चित रहेको छ ।

षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको फिल्म ‘लालीबजार’ को डायस्पोरा प्रदर्शन युरोपको डेनमार्कबाट सुरू हुने भएको छ । निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्म आगामी असार ५, ६ र ७ गते डेनमार्कको कोपेनहेगनमा प्रदर्शन हुने भएको छ ।

‘नेपालमा दर्शकको माया पाएसँगै विदेश प्रदर्शन कहिले हुन्छ भन्ने हामीलाई जिज्ञाशा आइरहेको थियो । अन्तत: हामीले युरोपको डेनमार्कबाट प्रदर्शनी सुरू गर्दैछौँ । अन्य देशमा समेत हामीले छिटै प्रदर्शन हुने तालिका तय गर्दैछौँ’, निर्माता खत्रीले भने ।

उनले शिक्षाको ज्योतिले समाजमा पर्ने प्रभावलाई फिल्म चित्रण गरिएको र दर्शकले मन पराउनुभएको जानकारी दिए । षट्कोण आर्ट्सले यसअगाडि ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरूष’, ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गरेकी छिन् । विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् ।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

प्रतिक्रिया