
जनधारणा खबरका संस्थापक तथा वरिष्ठ पत्रकार, विश्लेषक तथा कानुन व्यवसायी निमकान्त पाण्डेले संसदमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहमाथि लगाइएको राष्ट्रघातको आरोपप्रति कडा आपत्ति जनाएका छन् । उनले आफ्नो श्रब्यदृश्य(भिडियो)मार्फत पुराना ठूला दलहरुलाई दनक दिएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले प्रधानमन्त्री बालेन शाहले भारतसँगको सिमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर संसद्मा ‘राष्ट्रघात’ को गम्भीर आरोप लगाएका थिए।
विश्लेषक पाण्डेका अनुसार, बालेन शाहले कुनै राष्ट्रघाती अभिव्यक्ति दिएका छैनन्, बरु देशको वास्तविकता र प्राविधिक पक्षलाई बुझाउन खोजेका हुन्। विगतमा महाकाली सन्धि, एमसीसी र देशको हितविपरीत रहेको नागरिकता विधेयक जस्ता विवादित सम्झौताहरू पारित गरेर देशलाई कलंकित बनाउने पुराना दलका नेताहरूले नै अहिले बालेन शाहमाथि राष्ट्रवादी मुकुण्डो लगाएर हिलो छ्याप्ने काम गरेको उनको तर्क छ।
पाण्डेले भने , “आफ्नो कार्यकालमा सिमा समस्या र लक्ष्मणपुर बाँध जस्ता डुबानका पीडा सुल्झाउन नसक्ने र देशहित विपरितका विधेयक पारित गर्नेहरूले अहिले जनताबाट अनुमोदित नयाँ सरकारलाई बदनाम गराउन खोज्दै छन्।”
यसैबीच, संसद्मा उठेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
हालै आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले नेपाल-भारत सिमाका बाँकी रहेका सुस्ता र कालापानी क्षेत्रको नक्सांकन गर्न कूटनीतिक पहल भइरहेको स्पष्ट पारे । उनले १० गजा क्षेत्रको अतिक्रमण र प्राविधिक टोलीले गरिरहेको सीमा स्तम्भ मर्मतको कामबारे संसद्लाई अवगत गराए ।
प्रधानमन्त्रीको भनाइ क्रस-बोर्डर (सीमापार)बसोबास र प्राविधिक यथार्थसँग जोडिएको र यसमा कुनै तेस्रो पक्षको मध्यस्थता नखोजिएको मन्त्री खनालको भनाइ थियो।
अन्तमा, विश्लेषक पाण्डेले दुई-तिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा रहेको यो सरकारलाई साँचो अर्थमा सुशासन र राष्ट्रहितका लागि काम गर्न र जनताको दबाबलाई आत्मसाथ गर्दै अघि बढ्न सुझाव दिएका छन् ।
प्रतिक्रिया