अमेरिकी सेनाको ‘आत्मरक्षा आक्रमण’ सम्पन्न, इरानको आक्रमण असफल

अमेरिकी सेनाद्वारा इरानका सैन्य ठेगानाहरू ध्वस्त, इरानी क्षेप्यास्त्र र मानव रहित यानहरू आकाशमै रोकिए

इनेप्लिज २०८३ जेठ २७ गते १०:५८ मा प्रकाशित

अमेरिकी सेनाले इरानभित्र आफ्ना ‘आत्मरक्षा आक्रमणहरू’ सफलतापूर्वक पूरा गरेको अमेरिकी सेन्ट्रल कमाण्डले मंगलबार राती घोषणा गरेको छ। अमेरिकी सेनाको एउटा ‘अपाचे’ उदग्रबिमान( हेलिकप्टरलाई इरानले खसालेपछि त्यसको कडा जवाफ दिँदै अमेरिकाले ठूलो सैन्य कारबाही गरेको हो।

अमेरिकी सेनाका अनुसार समुद्री व्यापारका लागि निकै महत्त्वपूर्ण मानिने ‘हर्मुज जलडमरू’ नजिक रहेका इरानका हवाई रक्षा प्रणाली, जमिन नियन्त्रण केन्द्र र राडारहरूलाई निसाना बनाएर सो हमला गरिएको थियो। सेन्ट्रल कमाण्डले यो कारबाही अमेरिकी सेना र अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूमाथि भएका शृङ्खलाबद्ध आक्रमणहरूको उचित र समानुपातिक जवाफ भएको बताएको छ।

अमेरिकी आक्रमणको लगत्तै इरानले पनि अमेरिकातर्फ दर्जनौँ क्षेप्यास्त्र र मानव रहित यान (मिसाइल र ड्रोन) हरू प्रहार गरेको थियो। तर, अमेरिकी अधिकारीहरूका अनुसार इरानले हानेका लगभग सबै क्षेप्यास्त्र र मानव रहित यानहरूलाई आकाशमै रोकिएको (इन्टरसेप्ट गरिएको) छ।

यस क्षेत्रमा रहेका अमेरिकी सैनिक वा सैन्य ठेगानाहरूमा कुनै क्षति पुगेको समाचार अहिलेसम्म आएको छैन। यसैबिच, छिमेकी देश कुवेतले पनि आफ्नो आकाशमा देखिएका शत्रुतापूर्ण आकाशीय निसानाहरूलाई आफ्नो रक्षा पद्धतिले नष्ट गरेको जनाएको छ।

अमेरिकी सेनाले इरानको जुनसुकै अनुचित कदमको सामना गर्न आफूहरू पूर्ण रूपमा सतर्क र तयार रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया