
अमेरिकामा ‘गोल्डेन टेम्पो’ नामक घोडाले शनिबार १५८ औँ ‘बेलमोन्ट स्टेक्स’ को उपाधि जितेर इतिहास रचेको छ। प्रसिद्ध ‘ट्रिपल क्राउन’ घोडचढी प्रतियोगिता अन्तर्गतको यो तेस्रो ठूलो जित हो। यसअघि पाँच हप्ता पहिले मात्र यो घोडाले ‘केन्टकी डर्बी’ जितेको थियो। यो जितसँगै यसको तालिमकर्ता (ट्रेनर) चेरी डिभो को नाममा अर्को एउटा ठूलो कीर्तिमान थपिएको छ।
यो प्रतिस्पर्धामा अनुभवी खेलाडी (जकी) होजे ओर्टिजले गोल्डेन टेम्पोलाई कुदाएका थिए। एबिसीन्यूजका अनुसार खेलको अन्तिम चरणमा तीव्र गति लिँदै गोल्डेन टेम्पोले ६-१ को सम्भावनालाई उल्टाएर ‘कमान्डमेन्ट’ नामक घोडालाई पछि पार्दै उपाधि आफ्नो नाममा गर्यो। प्रतियोगितामा कमान्डमेन्ट दोस्रो र सबैको रोजाइमा परेको ‘रेनेगेड’ तेस्रो स्थानमा रहे।
यही ठाउँमा जन्मिएर आफ्नो खेल जीवन सुरु गरेकी प्रशिक्षक चेरीले खुसी हुँदै भनिन्, “गोल्डेन टेम्पो र होजे दुवै अद्भुत छन्। यो जितले गोल्डेन टेम्पो उत्कृष्ट ३ वर्षे घोडाहरूको सूचीमा अग्रपंक्तिमा पर्छ भन्ने प्रमाणित गरेको छ।”
चेरी डिभो केन्टकी डर्बी जित्ने इतिहासकै पहिलो महिला प्रशिक्षक हुन्। अहिले उनी बेलमोन्ट स्टेक्स जित्ने दोस्रो महिला बनेकी छिन् (यसअघि सन् २०२३ मा जेना एन्टोनुचीले यो उपाधि जितेकी थिइन्)। तर, घोडचढीको इतिहासमा एकभन्दा बढी ‘ट्रिपल क्राउन’ रेस अर्थात् ‘त्रिवेणी उपाधि’ जित्ने चेरी पहिलो महिला प्रशिक्षक बनेकी छिन्।
यो खेल अघिल्लो दौड जस्तो धेरै तीव्र गतिको नभए पनि गोल्डेन टेम्पोले १.२५ माइलको दूरी २ मिनेट ३.४९ सेकेन्डमा पूरा गर्यो। जकी ओर्टिजले सुरुमा केही चिन्ता लागे पनि घोडाले मैदानमा आफ्नो वास्तविक क्षमता देखाएर जितेको बताए।
न्युयोर्कको बेलमोन्ट पार्क रंगशाला भत्काएर नयाँ बनाइँदै गरेकाले यो खेल साराटोगामा खेलाइएको थियो। अर्को वर्षदेखि यो खेल पुनः आफ्नै पुरानाे मैदानमा फर्किनेछ। खेलको नतिजा अनुसार गोल्डेन टेम्पोको जितमा सट्टा लगाउनेहरूले राम्रो रकम (१४ डलर) पुरस्कार समेत पाएका छन्।
घोडचढी खेलको संसारमा ख्यातिप्राप्त तीनवटा सबैभन्दा ठूला र प्रतिष्ठित ऐतिहासिक प्रतियोगिताहरूको समूह (उपाधि) लाई ‘ट्रिपल क्राउन’ अर्थात् ‘त्रिवेणी उपाधि’ भनिन्छ।” अमेरिकामा घोडचढीको संसारमा ३ वर्ष उमेरका घोडाहरूका लागि एउटा विशेष चुनौती हुन्छ। पाँच हप्ताको छोटो अवधिभित्र लगातार तीनवटा ठूला दौडहरू आयोजना गरिन्छन्। ती तीनवटा दौडहरुमा क्रमस केन्टकी डर्बी, प्रिकनेस स्टेक्स तथा बेलमोन्ट स्टेक्स हुन्छन् ।
प्रतिक्रिया