दिल्लीमा राजनीतिक सरगर्मी: परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली अवतरण, रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्किँदै

इनेप्लिज २०८३ जेठ २२ गते ११:३१ मा प्रकाशित

नेपाल र भारतबीचको कूटनीतिक र राजनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ परराष्ट्रमन्त्री शिशिर खनाल भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको औपचारिक निमन्त्रणामा मन्त्री खनाल शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका परराष्ट्रमन्त्री खनाललाई भारतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका छन् ।

भ्रमणका क्रममा मन्त्री खनालले भारतीय समकक्षी जयशङ्करसँग द्विपक्षीय वार्ता गर्नुका साथै अन्य उच्चस्तरीय राजनीतिक भेटघाटहरूमा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ। उहाँ जेठ २४ गते स्वदेश फर्कने छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो पाँच दिने महत्त्वपूर्ण भारत भ्रमण सम्पन्न गरी शुक्रबार नै स्वदेश फर्किँदै छन् ।

आफ्नो भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस. जयशङ्कर, र गृहमन्त्री अमित शाहसँग उच्चस्तरीय भेटवार्ता गरे ।

साथै, उनले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूसँग पनि दुई पक्षीय हितका विषयमा छलफल गरे । उनले दिल्लीमा रहेका नेपालीलाई भेटघाट गर्नुको साथै अयोध्या पुगि राम मन्दिर समेत दर्शन गरेका छन् ।

प्रतिक्रिया