
सत्ता, लालच र नीजि स्वार्थको लागि इमान त्याग्नेहरुलाई केही भन्नु छैन ।
समाजमा इमान त्याग्ने र बेच्नेहरु मात्रै छैनन्, इमानदारहरु पनि प्रशस्त छन् ।
जहाँनिया राणाकालमा महान् शहीदहरु लखन थापा मगर, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीको साथसाथै टंकप्रसाद आचार्य, कृष्णप्रसाद कोइराला, दिव्या कोइराला, बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मंगलादेवी सिंहहरुले जहाँनिया राणा शासनविरुद्ध संघर्ष नगर्नुभएको भए के नेपालमा जहाँनिया राणाशासनको अन्त्य हुन सक्थ्यो र ?
महान् शहीदहरु लखन थापा मगर, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको साथ साथै कृष्णप्रसाद कोइराला, दिव्या कोइराला, बीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाहरुले सत्ता र व्यक्तिगत स्वार्थको लागि तत्कालीन सत्तासंग आत्मसमर्पण र अनुचित सम्झौता गर्नुभएको भए के आज वहाँहरु स्मरणयोग्य हुनुहुन्थ्यो होला र ?
के महान् शहीदहरुले आफ्नो प्राण आहुति दिएर शहादत प्राप्त नगर्नुभएको भए नेपालमा जहाँनिया राणा शासनको अन्त्य र लोकतन्त्रको पुनर्वहाली संभव थियो र ?
बीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, महेन्द्रनारायण निधि, दिवानसिं राई, रामनारायण मिश्र, मीनबहादुर गुरुङ, शेष इद्रिस, बलबहादुर राई, भीमबहादुर तामाङ, मंगलादेवी सिंह, सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्य, वसन्त कुमार गुरुङ, रामहरि जोशी, केबी गुरुङ, भूविक्रम नेम्वाङ र नोना कोइराला लगायतका नेताहरुले तत्कालीन पंचायत व्यवस्थाविरुद्धको संघर्षको दौरान लोकतन्त्रको पुनर्बहालीको लागि सिद्धान्तनिष्ठ भएर अनवरत संघर्ष गर्दै जेल र प्रवासमा नबसेर तत्कालिन सत्ता र नीजि स्वार्थसंग आत्मसमर्पण र सम्झौता गरेको भए नेपालमा के लोकतन्त्रको पुनर्बहाली सम्भव थियो र ?
यसमा धेरैको नाम छुटेको छ, त्यसको लागि पंक्तिकार क्षमाप्रार्थी छ ।
नेपालमा माओवादीको हिंसात्मक द्वन्द्वको समयमा उनीहरुसंग कहिल्यै पनि सम्झौता र आत्मसमर्पण नगरेको तथा संघर्ष गरिरहेको कारणले उनीहरुले मारेका र अंगभंग गरेर गम्भीर घाइते बनाएकाहरु हजारौं हुनुहुन्छ । वहाँहरुले मृत्युवरण गर्न स्विकार्नु भयो तर उनीहरुसँग आत्मसमर्पण र सम्झौता गर्नुभएन ।
सिद्धान्तनिष्ठ राजनीति र सत्ताको राजनीति बीचमा संघर्ष सदैव रहन्छ, हिजो पनि थियो, आज पनि छ र भोली पनि रहनेछ । सिद्धान्तनिष्ठ बाटो भएर सत्तामा जाने विधिको प्रक्रिया रोज्ने कि सत्ताको लागि आफ्नो सिद्धान्त बेच्ने सजिलो उपाय रोज्ने ? यो रोजाइले मानिसको असली चरित्र र भविष्यको मार्ग प्रदर्शन गर्छ ।
भाषण सिद्धान्तको गर्ने तर सत्तामा जान जोसंग र जेसुकै पनि सम्झौता गर्न तयार हुनेहरु प्रशस्त छन् । उनीहरुको दोधारे व्यवहार हेरेर थाहा भइहाल्छ । हिजो पनि धेरै मानिसहरुले तत्कालीन निर्दलीय पंचायत व्यवस्थासंग सत्ता र स्वार्थको लागि आत्मसमर्पण र सम्झौता गरेकै हुन् । सत्ता र नीजि स्वार्थको लागि राज्य र संगठनको सत्तासंग आत्मसमर्पण गर्ने मानिसहरुको कमी कहिल्यै पनि हुँदैन । तर तिनीहरु कहिल्यै पनि कसैको पनि हितैषी हुँदैनन् र समयसंगै परिवर्तन हुँदै र बिलाउदै जान्छन् ।
वि.संं २०४६ अगाडिको मात्रै होइन, वि.सं. २०५९ र २०६१ पछि पनि कठिन र असहज परिस्थितिमा धेरै मानिसहरु दुलोभित्र लुकेका दृष्टान्तहरु जीवित नै छन् र स्थिति सहज भएपछि तिनै मानिसहरु नै ठुलठुलो स्वरले लाजै नमानी कराउँदै आएको देख्ने मानिसहरु पनि प्रशस्त नै छन् ।
सत्ता र स्वभिमानबीच सदैव संघर्ष हुन्छ । नीजि स्वार्थ र आत्मसम्मानबीच पनि सदैव संघर्ष हुन्छ । यसप्रकारको मनोवैज्ञानिक, मानसिक र व्यवहारिक संघर्षमा जसले आत्मसम्मान र स्वाभिमानलाई जोगाउन सक्छ, उही नै भविष्यसम्म स्मरणयोग्य हुन्छ ।
सत्ता राज्यको होस् वा संगठनको; त्यो सत्तालाई तिनै लोभी, स्वार्थी र आत्मसमर्पण गर्नेहरुको जत्थाले नै वरिपरिबाट घेरेर चाँडै सिध्याएको प्रत्यक्ष उदाहरण नेपालमा प्रशस्त देख्न र पढ्न सकिन्छ । तिनीहरुले पहिले प्रशंसा र चाकडीको पहाड बनाउंँछन् र त्यही पहाडमुनि षडयन्त्रको गहिरो र साँघुरो प्रशस्त खाल्टोहरु खनिरहन्छन् । कुन बेला कसलाई चलाखीपुर्वक कुन खाल्टोमा खसाल्छन्, थाहै हुँदैन ।
लोभी, स्वार्थी र आत्मसमर्पणवादीहरु कसैका पनि हितैषी हुँदैनन् । तिनीहरुले जसलाई पनि, जुनसुकै बेला पनि, त्याग्न र धोखा दिन सक्छन् र जसलाई पनि पतन गराउनको लागि सहयोगी र उत्प्रेरकको रुपमा जुनसुकै बेला पनि दुरुपयोग हुन सक्छन् । तिनीहरुको क्रियाकलापको भविष्यवाणी तिनीहरु स्वयंले पनि गर्न सक्दैनन् ।
झट्ट बाहिरबाट हेर्दा तिनीहरु सबैको प्रिय भएको जस्तो चिप्लो, सहज र सस्तो देखिन्छन्, तर यथार्थमा तिनीहरु कसैको पनि हितैषी हुँदैनन्, आफ्नो नीजि स्वार्थको बाहेक ।
बीपी कोइरालालाई धोखा दिएर धेरै मान्छेहरु तत्कालीन पंचायतको जयजयकार गर्दै पंचायतमा गए तर बीपीले संघर्षको बाटो रोज्नुभयो । जीवनभर दुःख पाउनुभयो तर तत्कालीन पंचायतसँग सम्झौता र आत्मसमर्पण गर्नुभएन । यसैले बीपी आज हरेक लोकतन्त्रवादीले स्मरण गर्ने नाम हुनुभयो । तत्कालीन पंचायतमा गएकाहरु कता हराए पत्तै छैन ।
सत्ता र स्वभिमानबीच सदैव संघर्ष हुन्छ । नीजि स्वार्थ र आत्मसम्मानबीच पनि सदैव संघर्ष हुन्छ । यसप्रकारको मनोवैज्ञानिक, मानसिक र व्यवहारिक संघर्षमा जसले आत्मसम्मान र स्वाभिमानलाई जोगाउन सक्छ, उही नै भविष्यसम्म स्मरणयोग्य हुन्छ । जसले जोगाउन सक्दैन, उसलाई या त सत्ताको रापले खरानी बनाइदिन्छ, या त सत्ताको मातले अन्धो वा दुर्व्यसनी बनाइदिन्छ ।
सोच्छु- बीपी कोइरालाले तत्कालीन सत्तासंग सम्झौता र आत्मसमर्पण गरेको भए प्रधानमन्त्री रहिरहनुहुन्थ्यो होला । तर, सम्झौता गर्नुभएन । गणेशमान सिंहले प्रधानमन्त्रीको पद त्याग गर्नुभयो । धेरै नेताहरुलाई तत्कालीन पंचायतले प्रधानमन्त्री र मन्त्री पदको लागि बोलाएको थियो तर वहाँहरुले तत्कालीन पंचायतसंग सम्झौता र आत्मसमर्पण गरेर जानुभएन । यसैले वहाँहरु नेता बन्नुभयो । वहाँहरु मध्ये धेरैले जीवनमा सत्ताको नाममा केही पाउनुभएन,आत्मसम्मान र स्वाभिमान बाहेक । यी यस्ता अदृश्य ताकत हुन्, जसले संसारलाई सकारात्मकरुपले बदल्न प्रेरणा दिन्छ ।
तर आज केही मानिस आ-आफ्नो परिवार र नातागोताको तुच्छ स्वार्थको लागि जोसंग, जे पनि, जति बेला पनि र जति पटक पनि सम्झौता र आत्मसमर्पण गर्न सक्ने रहेछन् र जसलाई पनि जुनसुकै बेला पनि धोखा दिन सक्ने रहेछन् । तिनीहरुलाई स्वयंसँग लाज लाग्छ कि लाग्दैन ? छेपारो भन्दा पनि धेरै चाँडो र अनेक पटक रंग बदल्न सक्ने कस्ता जीवहरु आएछन् भनेर छेपारो पनि छक्क परेको होला ।
समाजले यो सबै चर्तिकलाहरु हेरिरहेको छ र यसको उचित जवाफ समाजले नै उचित समयमा दिनेछ ।
शर्म गुमाउनेहरुसँग छेपारो पनि छक्क ! « Nepali Digital Newspaper
प्रतिक्रिया