
भारतमा अहिले अचानक एउटा यस्तो “पार्टी” को चर्चा भइरहेको छ, जसको नाम सुन्नासाथ धेरै मानिस हाँस्छन्—“कक्रोच जनता पार्टी (सिजेपी)”। सुरुमा यसलाई सामान्य इन्टरनेट मजाक, ट्रोल वा क्षणिक मिम ठानियो। सामाजिक सञ्जालभर व्यंग्यात्मक पोस्ट, हास्यास्पद घोषणापत्र र “कक्रोच” जस्तो घृणित प्रतीकलाई पार्टीको नाम बनाइएकाले धेरैले यसलाई गम्भीर रूपमा लिएनन्। तर स्थापना भएको केही दिनमै लाखौँ युवाहरू यससँग भावनात्मक रूपमा जोडिन थालेपछि भारतको राजनीतिक वृत्त मात्र होइन, दक्षिण एसियाकै राजनीतिक विश्लेषकहरू पनि चकित भए।
आखिर किन बेरोजगार, निराश र आक्रोशित युवाहरू आफूलाई “कक्रोच” भन्न तयार भए? किन एउटा व्यंग्यात्मक डिजिटल अभियान यति तीव्र रूपमा विस्फोट भयो? र किन सामाजिक सञ्जालमा सुरु भएको यो आन्दोलनले दक्षिण एसियाली राजनीतिका लागि गम्भीर संकेत दिन थालेको छ? यतिबेला यी र यस्तै प्रश्नहरूले राजनीतिक विश्लेषकहरूलाई समेत गहिरो सोचमा डुबाइरहेका छन्।
इण्डियाका प्रधानन्यायाधीशले युवाहरूलाई “कक्रोच” भनेर गरेको भनिएको टिप्पणीको प्रतिकारस्वरूप “कक्रोच जनता पार्टी” नामक प्रतीकात्मक दल स्थापना गरिएको चार दिन पनि पूरा भएको छैन, तर यसमा झन्डै १० मिलियन मानिसहरू जोडिइसकेका छन्। यसैबीच, अदालतमा विचाराधीन मुद्दाहरूसँग पनि यस विषयलाई जोडेर उहाँप्रति आलोचना भइरहेको छ।
नेपालमा पनि पुराना दलहरूप्रतिको वितृष्णा दिनप्रतिदिन बढ्दै जाँदा जेन–जी पुस्ताको दबाबले पुरानो राजनीतिक संरचना नै असान्दर्भिक बनाइदिएको छ।
विश्व राजनीतिमा यस्ता विस्फोटक आन्दोलनहरू नयाँ भने होइनन्। कुनै बेला अमेरिकाको “अकुपाइ वाल स्ट्रिट” लाई केही युवाहरूको असन्तुष्ट भीड मात्र भनिएको थियो। “अरब स्प्रिङ” सुरु हुँदा धेरैले यसलाई फेसबुकमा रिस पोख्ने पुस्ताको क्षणिक उत्तेजना ठाने। हङकङका डिजिटल आन्दोलनहरूलाई पनि इन्टरनेट अराजकता भनियो। तर समयसँगै यिनै आन्दोलनहरूले सरकार हल्लाए, सत्ता परिवर्तन गरे र राजनीतिक संरचना नै बदलिदिए।
दक्षिण एसियामा पनि श्रीलङ्काको “अरगलाया” आन्दोलनले राष्ट्रपति भवनसम्म कब्जा गर्यो। बंगलादेशमा विद्यार्थी आन्दोलनले सत्ता संकट पैदा गर्यो। नेपालमा पनि पुराना दलहरूप्रतिको वितृष्णा दिनप्रतिदिन बढ्दै जाँदा जेन–जी पुस्ताको दबाबले पुरानो राजनीतिक संरचना नै असान्दर्भिक बनाइदिएको छ। यी सबै घटनाहरूले एउटै सन्देश दिन्छन्—आजको युवा पुस्ता पुरानो राजनीतिक भाषामा होइन, नयाँ शैलीमा प्रणालीलाई चुनौती दिन तयार छ। “कक्रोच जनता पार्टी” त्यसैको एउटा नयाँ र सायद सबैभन्दा व्यंग्यात्मक रूप हो।
सिजेपीको जन्म कुनै राजनीतिक सिद्धान्तको पुस्तकबाट भएको होइन। यसको जन्म युवाहरूको अपमान, निराशा र लामो समयदेखि थुप्रिएको मानसिक आक्रोशबाट भएको हो। कथित रूपमा बेरोजगार युवाहरूलाई “कक्रोच” र “परजीवी” सँग तुलना गरिएको भनाइ सामाजिक सञ्जालमा भाइरल भएपछि धेरै युवाहरूले त्यसलाई व्यक्तिगत अपमानको रूपमा लिए। तर रोचक कुरा के भयो भने, उनीहरूले त्यो शब्द अस्वीकार गरेनन्—बरु त्यही शब्दलाई प्रतिरोधको प्रतीक बनाए। “यदि यही प्रणालीले हामीलाई कक्रोच ठान्छ भने, हामी त्यही कक्रोच भएर पनि बाँच्नेछौँ, लड्नेछौँ र आवाज उठाउनेछौँ।” यही मनोविज्ञानले कक्रोच आन्दोलनलाई जन्म दियो र डिजिटल पार्टीको अवधारणासम्म पुर्यायो।
वास्तवमा “कक्रोच” यहाँ केवल एउटा कीरा होइन, एउटा प्रतीक हो—जसले कठिन परिस्थितिमा पनि आफ्नो अस्तित्व जोगाइराख्छ। आजको दक्षिण एसियाली युवा पनि त्यस्तै परिस्थितिबाट गुज्रिरहेको छ। डिग्री छ तर जागिर छैन। जागिर छ भने भविष्यको सुनिश्चितता छैन। प्रतिस्पर्धा छ, परीक्षा छ, तनाव छ, आर्थिक दबाब छ, तर स्थायित्व छैन।
” यही मनोविज्ञानले कक्रोच आन्दोलनलाई जन्म दियो र डिजिटल पार्टीको अवधारणासम्म पुर्यायो।
परिवारको अपेक्षा, समाजको दबाब र सामाजिक सञ्जालले सिर्जना गरेको कृत्रिम सफलताको संसारबीच आजको युवा भित्रभित्रै थाकिरहेको छ। यही थकान जब व्यंग्यमा बदलिन्छ, तब सिजेपी जस्ता आन्दोलन जन्मिन्छन्। यो आन्दोलनको सबैभन्दा शक्तिशाली पक्ष यसको डिजिटल स्वरूप हो। पुराना आन्दोलनहरू सडकमा सुरु हुन्थे, तर आजका आन्दोलनहरू एल्गोरिदममा सुरु हुन्छन्। पहिले नारा लेखिन्थ्यो, अहिले मिम बन्छ। पहिले पोस्टर टाँसिन्थ्यो, अहिले रिल्स भाइरल हुन्छ।
जेन–जी पुस्ताले राजनीतिक अभिव्यक्तिको भाषा नै बदलिदिएको छ। उनीहरू लामो भाषणभन्दा २० सेकेन्डको व्यंग्यात्मक भिडियोबाट बढी प्रभावित हुन्छन्। उनीहरू घोषणापत्रभन्दा कटाक्ष र व्यंग्यलाई छिटो ग्रहण गर्छन्। यही कारण सिजेपी छोटो समयमै लाखौँ मानिससम्म पुग्न सफल भयो।
धेरैले प्रश्न गरिरहेका छन्—के यो साँच्चै राजनीतिक पार्टी हो? सायद होइन—कम्तीमा अहिलेको अवस्थामा यो कुनै औपचारिक चुनावी शक्ति होइन। तर त्यसैले यसको प्रभाव कम हुँदैन। इतिहासले देखाएको छ कि कहिलेकाहीँ मजाकका रूपमा सुरु भएका आन्दोलनहरूले नै समाजको वास्तविक मनोविज्ञान उजागर गर्छन्। इटालीको “फाइभ स्टार मुभमेन्ट” लाई सुरुमा जोकर राजनीति भनिएको थियो, तर पछि त्यही आन्दोलन सरकारको हिस्सा बन्यो।
अमेरिकाको “अकुपाइ वाल स्ट्रिट” ले प्रत्यक्ष सत्ता लिएन, तर पूँजीवाद र आर्थिक असमानतामाथिको विश्वव्यापी बहस नै बदलिदियो। त्यसैले सिजेपीलाई केवल ट्रोल राजनीति भनेर बेवास्ता गर्नु ठूलो भूल हुन सक्छ। एउटा सानो आगोको झिल्कोले पनि सिंगो जंगल जलाउन सक्छ। त्यसैले यसलाई खिसिट्युरी होइन, गम्भीर आत्मचिन्तनको विषय बनाउन आवश्यक छ।
दशकअघि केजरीवालको आम आदमी पार्टी वा फिल्म स्टारबाट हालसालै तमिलनाडुका नयाँ मुख्यमन्त्री बन्न सफल सी. जोसेफ विजय जस्ता उदाहरणहरू पनि यस सन्दर्भमा उल्लेखनीय छन्। नेपालका सन्दर्भमा बालेन शाह जस्ता व्यक्तित्वहरू पनि जनआक्रोश र नयाँ राजनीतिक चेतनाका प्रतीक बनेका छन्।
त्यसैले कक्रोच मुभमेन्टले भारतीय राजनीतिलाई एउटा असहज प्रश्न सोधेको छ—किन आजको युवा यति निराश छ? किन उनीहरू राजनीतिक दलहरूसँग भावनात्मक रूपमा टाढिँदै गइरहेका छन्? किन उनीहरूलाई लाग्छ कि सत्ता र प्रणाली उनीहरूको वास्तविक जीवनभन्दा टाढा छ? जब लाखौँ शिक्षित युवा आफ्नो भविष्यप्रति आशावादी हुँदैनन्, तब समाजमा व्यंग्यात्मक क्रान्ति जन्मिन्छ। सिजेपी त्यसैको संकेत हो।
नेपालका लागि पनि यो घटना केवल भारतको “भाइरल प्रवृत्ति” मात्र होइन। नेपालमा पनि युवाहरूको ठूलो हिस्सा बेरोजगारी, विदेश पलायन, भ्रष्टाचार र राजनीतिक निराशाबाट गुज्रिरहेको छ। टिकटक, फेसबुक र युट्युबमा व्यवस्था विरोधी व्यंग्यात्मक सामग्री अत्यधिक लोकप्रिय हुनु संयोग होइन—यो सामाजिक थकानको संकेत हो।
इटालीको “फाइभ स्टार मुभमेन्ट” लाई सुरुमा जोकर राजनीति भनिएको थियो, तर पछि त्यही आन्दोलन सरकारको हिस्सा बन्यो।
आज नेपालमा पनि युवाहरू विचारधाराभन्दा निराशासँग बढी जोडिन थालेका छन्। यही कारण भविष्यमा नेपालमा पनि मिम-आधारित राजनीति, व्यंग्यप्रधान डिजिटल अभियान वा व्यवस्था विरोधी युवा आन्दोलन अझ तीव्र हुन सक्ने सम्भावना देखिन्छ।
सायद “कक्रोच जनता पार्टी” केही महिनापछि हराउन सक्छ। सायद यो केवल एउटा डिजिटल ट्रेन्डमा सीमित रहन सक्छ। तर यसले उठाएका प्रश्न भने हराउने छैनन्। दक्षिण एसियाका लाखौँ युवाहरू किन यति निराश छन्? किन उनीहरू आफ्नो भविष्यलाई व्यंग्यमा बदल्न बाध्य छन्? किन सामाजिक सञ्जाल अहिलेको पुस्ताको सबैभन्दा ठूलो राजनीतिक युद्धभूमि बनेको छ? र किन पुरानो राजनीतिक संरचनाले नयाँ पुस्ताको मनोविज्ञान बुझ्न सकिरहेको छैन?
सायद सिजेपीको सबैभन्दा ठूलो अर्थ यही हो—यो पार्टी होइन, चेतावनी हो। एउटा यस्तो चेतावनी, जसले भन्छ—नयाँ पुस्ता अब केवल भाषण सुन्न तयार छैन। उनीहरूलाई अवसर चाहिएको छ, सम्मान चाहिएको छ, भविष्य चाहिएको छ। यदि राज्य र राजनीति त्यो दिन असफल भयो भने, भोलिका आन्दोलनहरू डिजिटल मात्र होइन, अझ कटु र विस्फोटक हुनेछन्।
मदन बस्नेत, टोरन्टो।
प्रतिक्रिया