पाँचथरदेखि क्यानडासम्म फैलिएको साहित्यकार सुरेन उप्रेतीको अक्षर यात्रा : अनेसासको केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा

अनेसासलाई नयाँ उचाइमा पुर्‍याउने सुरेन उप्रेतीको ११ बुँदे संकल्प

इनेप्लिज २०८३ वैशाख २६ गते ११:०५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आगामी २०२६-२०२८ कार्यकालका लागि नेतृत्व चयनको सरगर्मी विश्वभर बढ्दै गएको छ। यसै सिलसिलामा, क्यानडालाई कर्मभूमि बनाएर नेपाली साहित्यको सेवामा अहोरात्र खटिएका वरिष्ठ साहित्यकार तथा कुशल संगठक सुरेन उप्रेतीले केन्द्रीय अध्यक्ष पदका लागि आफ्नो बलियो उम्मेदवारी घोषणा गरेका छन् ।

डिसी महानगर क्षेत्रबाट सञ्चालित र नेपाली समुदायको आवाज मानिने लोकप्रिय अनलाइन न्यूज पोर्टल अर्थात् अङ्किय संचार माध्यम ईनेप्लिजलाई दिएको एक विशेष र प्रभावकारी अन्तर्वार्तामा उप्रेतीले आफ्नो उम्मेदवारीको औपचारिक खुलासा गरेका हुन् । अन्तर्वार्ताको क्रममा उनले संस्थालाई नयाँ गति र दूरदृष्टि दिने प्रतिबद्धता व्यक्त गरे ।

संघर्ष र साधनाको ४० वर्ष :

सुरेन उप्रेतीको परिचय केवल एउटा उम्मेदवारमा मात्र सीमित छैन। उनको साहित्यिक जरा पूर्वी नेपालको पाँचथरको सुभाङ्ग गाउँसम्म पुग्छ। धरानको उर्वर साहित्यिक वातावरणमा हुर्किएका उप्रेती ४० वर्षअघि काठमाडौँ छिर्दा एउटा सपना बोकेर आएका थिए । काठमाडौँमा रहँदा उनले पारिजात, कृष्णप्रसाद पराजुली, लैनसिंह बाङ्देल र राष्ट्रकवि माधव घिमिरेजस्ता नेपाली साहित्यका ‘हिमाल’ हरूसँग संगत गर्ने अवसर पाए ।

ती दिग्गजहरूको सामीप्यताले उनिभित्र लेखनको यस्तो भोक जगायो, जुन आज पनि उत्तिकै ताजा छ। उनका बालसाहित्य, कविता र निबन्धका १० भन्दा बढी कृतिहरू प्रकाशित छन्। उनले लेखेका गीतहरूमा प्रमोद खरेल, मेलिना राई, विश्व नेपाली र बानिका प्रधान जस्ता चर्चित कलाकारहरूले स्वर दिएका छन्, जसलाई युट्युबमा लाखौँले सुनेका छन्।

उप्रेती अनेसासका लागि परीक्षण भइसकेका र सफल प्रमाणित भइसकेका व्यक्तित्व हुन् । सन् २००४ मा उनकै सक्रियतामा अनेसास क्यानडा शाखाको स्थापना भएको थियो। उनले केन्द्रीय महासचिवको रूपमा काम गर्दा संस्थाले रुसदेखि अमेरिकाका विभिन्न राज्यहरूमा आफ्नो सञ्जाल विस्तार गरेको थियो। उनि महासचिव हुँदा नै काठमाडौँमा अनेसासको पहिलो विश्व सम्मेलन भव्य रूपमा सम्पन्न भएको थियो, जहाँ राष्ट्रकवि माधव घिमिरे र उपेन्द्र महतो जस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

हाल उनि अनेसास केन्द्रीय बाल समितिको संयोजक हुन् । उनकै नेतृत्वमा विश्वका ९ वटा देशका बालबालिकाका कविता समेटिएको ‘कविता भिते पात्रो र’ प्रकाशित भयो, जसले गर्दा विदेशमा हुर्किएका नेपाली नानीबाबुहरूको घरघरमा अनेसास पुग्न सफल भयो। उनको यही अतुलनीय योगदानलाई कदर गर्दै संस्थाले उनलाई ‘अनेसास हिरो २०२५’ बाट समेत सम्मानित गरिसकेको छ।

आगामी योजना: के छ उप्रेतीको झोलामा?

अध्यक्ष पदका लागि उम्मेदवारी दिँदै गर्दा उप्रेतीले एउटा स्पष्ट ‘रोडम्याप’ अर्थात् मार्गचित्र सार्वजनिक गरेका छन् । उनकामुख्य योजनाहरू यस प्रकार छन्:

आफ्नै भवन र जग्गा: अमेरिकामा अनेसासको भवन निर्माणलाई निरन्तरता दिने र नेपालको काठमाडौँमा पनि संस्थाको आफ्नै भवन बनाउन जग्गा खोजेर काम सुरु गर्ने।

प्रविधिमैत्री साहित्य :अबको पुस्ताका लागि हात-हातमै साहित्य पुर्‍याउन ‘श्रव्य पुस्तक’ (अडियो बुक) को चलन बसाउने। जसले गर्दा गाडी चलाउँदा वा काम गर्दा पनि नेपाली साहित्य सुन्न सकियोस्।

बालबालिकाका लागि बिधुतिय कक्षा:विदेशमा रहेका नेपाली बालबालिकालाई आफ्नो मातृभाषा सिकाउन सबै महादेशहरूमा बिधुतिय (अनलाइन )भाषा कक्षाहरू सञ्चालन गर्ने र एउटै पाठ्यक्रम लागू गर्ने।

नेपाललाई विश्वमा चिनाउने अभियान: नेपाल सरकारसँग समन्वय गरेर ‘हजुरबा-हजुरआमा दिवस’ र ‘राष्ट्रिय पोसाक दिवस’ विश्वभर मनाउन पहल गर्ने। एकै दिन संसारका मुख्य सहरहरूमा नेपाली पोसाक लगाएर जुलुस (र्‍याली )निकाल्ने।

नोबेल पुरस्कार विजेतासँग सहकार्य: विश्वका ठूला साहित्यकारहरूलाई नेपालमा ल्याएर नेपाली लेखकहरूसँग छलफल गराउने, जसले गर्दा नेपाली साहित्यलाई विश्व बजारमा सजिलै चिनाउन सकियोस्।

“संस्था चलाउन परिकल्पना मात्र होइन, व्यवहार र सम्पर्कको कौशल पनि चाहिन्छ,” उप्रेतीले अन्तर्वार्तामा भने । उनले आफूलाई सामूहिक नेतृत्वमा विश्वास गर्ने व्यक्तिको रूपमा प्रस्तुत गरेका छन् । उनकाका अनुसार भाषा जोगाउनु भनेको हाम्रो पहिचान जोगाउनु हो।

आगामी जुलाईमा हुने अनेसासको निर्वाचनमा सुरेन उप्रेतीको उम्मेदवारीले एउटा नयाँ आशा जगाएको छ। लामो समयदेखि संस्थाको जगमा बसेर काम गरेका व्यक्तिको नेतृत्वले अनेसासलाई अझ उचाइमा पुर्‍याउने विश्वास धेरैले गरेका छन्।

ईनेप्लिजसँगको विशेष कुराकानीमा उप्रेतीले सबै आजीवन सदस्य, ट्रस्टी र साहित्य अनुरागीहरूसँग साथ र सहयोगको अपिल गरेका छन् ।

प्रतिक्रिया