
ज्ञान वृद्धिका लागि पढ्नै पर्ने पुस्तक हो मनुस्मृति
अभ्यासले अवश्य नै बढ्दै जान्छ सबैको पूर्वस्मृति
नेपाली साहित्यको बिकासमा थप एक पुस्तक हो
हामि माझ छ भर्खर उदाएको कथा संग्रह विस्मृति !!!
बसन्त श्रेष्ठ । विस्मृति कथा संग्रह भर्खर हात लागेको छ । यो कथा संग्रहमा चालिस कथाका १७० पेज र थप अन्य ३४ पेज गरी जम्मा २०८ पेजको पुस्तक रहेको छ । यस कथा संग्रहको प्रकाशक रविन्द्र भक्त श्रेष्ठ, धनकुटा रहनु भएको छ भने यस पुस्तकको सम्पादक रोहिणी राज तिमिल्सिनाले गर्नु भएको छ । साथै बिशेष सहयोगी मुरारी सुबेदीको रहेको छ ।
यस कथा संग्रहको बिशेष भूमिकामा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीको “बोकेर सिंगो अस्तित्व पदेशिएको छ” भन्ने शिर्षकमा विस्मृति कथा संग्रहको गहन र मिहिन बिश्लेश्णात्मक टिप्पणी प्रस्तुत गर्नु भएको छ ।
सह – प्राध्यापक हरि घिमिरेको ‘शुभाशंसा’ शिर्षकमा शुभकामना प्रस्तुत छ । आचार्य रोहिणी राज तिमिल्सिना जो यस पुस्तकका सम्पादक पनि हुन् उनले आफ्नो सम्पादकीय टिप्पणी प्रस्तुत गरेका छन । कथाकार रजनी श्रेष्ठ लामो समय सम्म अन्तराष्ट्रिय नेपाली साहित्य समाज, डिसी मेट्रो च्याप्टरको बिभिन्न पदमा रहेर प्रवासमा नेपाली भाषा र साहित्यको संरक्षण, सम्वर्धन र बिकासको कार्यमा आफ्नो योगदान दीई सक्नु भएको चिर परिचित व्यक्तित्व हुन् ।
यस भर्जिनिया क्षेत्रमा आयोजना भएका बिभिन्न साहित्यिक कार्यक्रम र कोठे कवि गोष्ठीको आयोजक अनि नियमित सदश्य पनि हुन् । यसका साथै नेपालमा रहदा राष्ट्र बैंक बाट प्रकाशित हुने पत्रिकामा आफ्नो आर्थिक लेख तथा रचनाहरु प्रकाशित गरि सक्नु भएका एक अनुभवी लेखिका हुन् भन्दा फरक पर्दैन ।
कथा के हो ?
कल्पना र यथार्थको विशिष्ट अभिलेख नै कथा हो । जसमा सामाजिक विसंगति, मानवीय अन्धवेगको परिणति र आधुनिकताको सफेद पृष्ठ पनि हुन्छन । कथा, हामि बाँचिरहेको समाजको सानो आँखी झ्याल पनि हो ।
विस्मृति लाई मानव मस्तिष्कको ‘ डिफल्ट मोड’ हो पनि भन्छन । तर यसको शाब्दिक अर्थ – विस्मरण, बिर्साई र भुल्नु पनि हो ।
“विस्मृति’ कथा संग्रहको शिर्ष कथा हो ‘विस्मृति’ । एल्जाइमर रोगको कारण स्मृतिमा आएको ह्रास र क्षीण हुदै गएको जीवनको बेहद दुखदायी कथा हो । मुख्य रोगको मात्र पेचिलो प्रश्न छैन यस भित्र । समाजमा क्षय हुदै गएको नैतिकता, परिवारले बिर्सेको माया कर्तव्य अनि आफ्नै प्रेमीले लत्याएको निष्ठा पनि समेटिएको छ । यस कथाले हाम्रो सामाजिक धरातल र परिवेशको चित्र प्रष्ट पारेको छ ।
यो कथा संग्रह मानविय समवेदनाको आँखी झ्याल हो । यो कथा संग्रहले नेपालको दुर्गम गाउँ देखि प्रवास सम्मको आयतन र परिवेस लाई समेट्न समर्थ भएको छ । कथा संग्रहमा नेपालको गाउँ देखि अमेरिकाको परिवेस समेत लाई जोडेर कथाको बनौट तयारपारिएको छ । अझ थप प्रवासमा संघर्षशील जीवन यापन गरिरहेकाहरुको संघर्षशील दैनिकी, संस्कृतिक द्वन्द, भावी सन्ततिका जिज्ञाशा र भविष्य नै कतिपय कथाका सार संक्षेप पनि हुन् ।
यस कथाले हाम्रो सामाजिक धरातल र परिवेशको चित्र प्रष्ट पारेको छ ।
कथाकारले यस कथा संग्रहमा आफ्नो कथा पात्र मार्फत अवहेलना र पिडित हरु लाई सहनु मात्र समस्याको समाधान होईन यसको बिरुद्धमा आवाज उठाउनु र यसको बिरुद्धमा संघर्ष गर्नु पर्छ भन्ने आफ्नो दायित्व पनि बोध गराउन बिर्सेकी छैनन ।
प्राय जसो आम कथाकारले हाम्रो समाजमा पुरुष र महिलाको अन्तरमा आफ्नो पुरुषबादी हैकम र पुरुष प्रधान समाजको पुरातन बादी सोच जताउदै नारी माथी सहानुभूति र पुरुषको दोष देखाइदै आएको पाईन्छ ।
तर यस कथा संग्रहमा समाहित केहि कथाहरुले पुरुषका भावनाको सहानुभूति जनाउदै, उनीहरुको पिडित आवाजलाई केहि हद सम्म उठाईएको पाईन्छ । यो राम्रो पक्ष हो । यसले पुरुष हैकमवादी मात्र हुदैनन् पिडित पनि हुन् सक्छन भनेर प्रश्न उठाएको छ । यो कथाकारको कथा लेखनको एक सवाल पक्ष हो भन्दा फरक पर्दैन ।
समष्टिमा भन्नु पर्दा कथा संग्रहमा समावेस कथाहरु सरल, सुबेद्ध र मिठो भाषा शैलीमा लेखिएको कथा हुन् । यस संग्रह भित्रका कतिपय आफ्नो देश र प्रवासका कथाहरुले कहिले कहीं पाठकलाई भावुक बनाउन सक्छ । यतै भन्नाले प्रवासका कथाहरुले बर्तमानमा बाँचेको समाज र धरातलका कथाहरुले हामीलाई सोच्न बाध्य पनि पार्न सक्छन ।
विस्मृति पुस्तक कथा संग्रह भएता पनि कल्पना र भावना भित्र मात्र नडूबि यथार्थता संग धेरै नजिकिएको अर्थात आम मान्छेका परिश्थिति जन्य बस्ताबिकताको संग्रह हो भन्दा फरक नपर्ला !
यस संग्रह भित्रका कतिपय आफ्नो देश र प्रवासका कथाहरुले कहिले कहीं पाठकलाई भावुक बनाउन सक्छ ।
यो पुस्तकमा आम मान्छेका सोच, सम्बन्ध र अवस्थाहरुको र बिबिध आयामहरु समेटिएको कथा संग्रह हो ।
यो पुस्तक घरवास वा प्रवासमा जन जीविका चलाइरहेका आम मान्छेहरुले भोगिरहेको वास्तविकताको कथा हो !
संक्षेपमा भन्ने हो भने कथाकारले यस कथा मार्फत – प्रवासी जीवनका आन्तरिक संघर्ष, साँस्कृतिक संघर्ष र पुस्तान्तरणका गाँठीहरुलाई मिहिन तरिकाले केलाउने प्रयास गरेकी छिन । यो एक राम्रो पक्ष हो ।
प्रवासका कथाहरुले बर्तमानमा बाँचेको समाज र धरातलका कथाहरुले हामीलाई सोच्न बाध्य पनि पार्न सक्छन ।
कतिपय कथाहरुमा आजको बढ्दो प्रवाशीकरणले गर्दा एक्लो र बेसहारा बनेका हाम्रा अग्रज बयोबृद्ध आमा बुबाको स्याहार सम्भार को कमिले निम्त्याएको वृद्धाश्रम, अवहेलना र उपेक्षाभावको दारुण चित्रणका कथा पनि यस संग्रहमा समावेस छन ।
कथाकार स्वयम् नारी भएको कारण आफ्नो मन र भावनाको कोमलताले प्राय कथाहरुमा कोमल अनुभूति, निस्छल रुपमा प्रकट गरिएको पाईन्छ ।
प्राय सबै कथाहरुमा कुनै रंग रोगन, लिपि घसी नगरिकन सापट ईमान्दारी पुर्वक प्रष्टताका साथ आफुले भोगेको या देखेका मात्र न भै अनुभूत गरिएका कतिपय सन्दर्भ लाई अतिरंजना नगरिकन प्रष्ट रुपमा पाठकका माझ राखिदिएका छन ।
उप संहार –
लेखिका नवोदित कथा लेखिका भएको कारणले कथा शिल्पमा एकरुपता नआएको, कथाको बन्धन कसिलो नभएको र कथाको बनौटमा फितलोपना देखिन्छन । शैली र प्रस्तुतीकरणमा परिपक्वताको निकै कमि महशुश हुन्छ । तर यी सबै लेखन अभ्यासले परिपुरक गर्ने नै छ । नव लेखकहरुका लागि यो स्वाभाविक पनि मानिन्छ । जति जति लेख्दै गरिन्छ तव तव आफ्नो सिर्जनामा निखार आऊन थाल्दछ । अभ्यासले नै परिपक्वता निर्धारण गर्दछ ।
लेखन परिष्कृत, कसिलो र रसिलो शैलीमा प्रस्तुत हुनको लागि अध्ययन र निरन्तर लेखनमा अभ्यास नै मूल कडी हो भन्ने मेरो निर्क्यौल हो ।
पहिलो प्रयासमै आफ्नो लेखनको छाप र साहित्यिक संदेश दिन सक्नुमा नै लेखिकाको पूर्ण सफलता हो भन्ने मलाई लाग्दछ । तसर्थ लेखनमा निरन्तरत दिएमा लेखिकाको उज्ज्वल भविष्यको कामना गर्न सकिन्छ ।
बधाई तथा कृति सफलताको शुभकामना !!!
बसन्त श्रेष्ठ

प्रतिक्रिया